निर्वाचन र सामाजिक सञ्जाल

निर्वाचन र सामाजिक सञ्जाल


सूचना प्रविधिको विकास र इन्टरनेटको विस्तारसFगै विश्वमै सामाजिक सञ्जालप्रति मानिसको आकर्षण बढिरहेको छ। हरेक दिनजसो सामाजिक सञ्जालका नयाँ प्रयोकर्ता बढिरहेका छन्। सामाजिक सञ्जाल आम मानिसको मनभित्र रहेका कुण्ठा पोख्ने उपयुक्त माध्यम पनि भएको छ।

‘सेन्टर फर मिडिया रिसर्च नेपाल’का अनुसार आफ्नो ठेगाना नेपाल राखेर फेसबुक प्रयोग गर्ने  करिव ७० लाख नेपाली रहेका छन्। आफू रहेकै देशको ठेगाना राखेर वा नेपालमै रहेर पनि ठेगाना नखुलाई फेसबुक चलाउनेको संख्या लाखौँ हुन सक्ने उसको ठम्याई रहेको छ। पछिल्लो समय सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेभन्दा व्यक्तिगत स्वार्थमा बढि प्रयोग हुँदै आएको देखिन्छ। देशमा हुने सरकारी निर्णय होस् या राजनीतिक दलको क्रियाकलाप वा प्राकृतिक विपत्तीको समयमा होस्, हरेकले सामाजिक सञ्जाल मार्फत् आफू अनुकुलको राजनीतिक दल वा सरकारको पक्ष वा विपक्षमा आफ्ना मत आक्रामक शैलीमा राखिरहेका हुन्छन्।

हामीले प्रयोग गरिरहेका सामाजिक सञ्जाल कति स्वच्छ छन् भन्ने कुरा हाल हुन गैरहेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार–प्रसारमा एक अर्को राजनीतिक दलप्रति लक्षित कटाक्ष एंव एकपक्षीय समाचारका लिंकबाट सामाजिक सञ्जाल रङ्गिनुले पुष्टि गर्दछ। हाम्रो देशमा साधारण लेखपढ गर्नसक्ने सबैको पहुँचमा सामाजिक सञ्जाल पुगिसकेकाले राजनीतिक दलका गतिविधि हिजोआज सार्वजनिक स्थानमा भन्दा सामाजिक सञ्जालमा बढि देखिन थालेका छन्।

सार्वजनिक स्थानमा हुने कार्यक्रम उपस्थित व्यक्तिमै सिमित हुने हुँदा सामाजिक सञ्जालको उपयोगिता बुझेर हाल त्यसको प्रयोग व्यापक भैरहेको छ। निर्वाचनका क्रममा सामाजिक सञ्जालमा राजनीतिक गतिविधि राखेर भाइरल बनाउनेतर्फ राजनीतिक दलका उम्मेद्वार तथा तिनका आज्ञाकारी कार्यकर्ता बढि सक्रिय भएको देखिन्छ। त्यस्ता खाले गतिविधिमा नजानिँदो तरिकाले पत्रकारको संलग्नता देखिन थालेको छ। समाचार सम्प्रेषणको बहानामा एकतर्फी ढंगबाट उम्मेद्वारको पक्षमा लागेको पत्रकारले पोस्ट गरेको भिडियो तथा विचारबाट जोकसैले सजिलै अनुमान गर्न सक्दछ।

अघिपछि सामाजिक सञ्जालमा खासै सक्रिय नदेखिएका उम्मेद्वारसमेतले हालको निर्वाचनको समयमा फेसबुक लाइक पेज एंव ट्विटर लगायतका माध्यमबाट चुनावी गतिविधिलाई  सक्रियताका साथ चुनावी मैदानमा उत्रेका छन्। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेद्वार तथा सञ्चार माध्यमलाई स्पष्टिकरण सोधेको भएता पनि सामाजिक सञ्जालमा हुने आचारसंहिता विपरिताका गतिबिधी नियन्त्रण गर्न सजिलो छैन । किन भने निर्वाचन आचार संहिताले आम नागरिकको सामाजिक सञ्जाललाई समट्दैन । र निर्वाचनका नाममा आम नागरिकको सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नु विश्वव्यापी अभिव्यक्ति स्वतन्त्रता (आर्टिकल १९) विपरित हुन्छ।

वर्षौ देखि देश र जनताको सेवक भन्नेहरुलाई आफ्नो अस्तित्व जोगाउनु मुस्किल छ । नयाँ भनिएका राजनीतिक दलहरूलाई आफ्ना राजनीतिक दलको ऐजेण्डा जनतासम्म पुर्याउन पनि कठिन भइरहेको छ। यो अवस्थामा सामाजिक सञ्जाल सबैलाई आफ्ना गतिविधि धेरै भन्दा धेरै व्यक्तिसम्म पुर्याउने उपयुक्त माध्यम सावित भएको छ।

राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारका क्रममा फेसबुक मार्फत विज्ञापन गर्दा लाखौं रुपैयाँ विदेशीएको भन्ने समाचार पनि आएका छन् । स्वदेशि भुमिमा लगानी गर्ने नारा बोकेका राजनीतिक दलका उम्मेद्वारले आगामी दिनमा पक्कै पनि त्यसको मूल्याङ्कन गर्लान् नै। रोजगारका निम्ति विदेश नपुगेका युवा युवतीहरूको अब कुनै गाउँ बाँकी नहोला । पारिवारीक सम्र्पकका निम्ती सञ्चारको प्रयोग अनिवार्य छ। स्माट फोनको प्रभाव बढ्दो छ। विदेशमा रहेका आफन्तले सामाजिक सञ्जालमा पोस्ट गर्ने उम्मेद्वारका गतिविधि तथा राजनीतिक विचारले स्वदेशमा रहेका परिवारका सदस्यले गर्ने मतदानमा प्रभाव पार्ने नै छ।

पत्रकार जस्तो निस्पक्ष तथा स्वच्छ व्यवसायीक अभ्यासको अभियन्ता समेत आफ्नो पक्षको उम्मेद्वार तथा राजनीतिक पाटिको समर्थनमा सामाजिक सञ्जाहरुमा सक्रिय रहेको देखिन्छ। सञ्चार माध्यममा भन्दा पहिला पत्रकारका समाजिक सञ्जालमा समाचार ब्रेक हुन थालेका छन्।

विदेशी सञ्चारमाध्यमले आफ्नो सञ्चारगृहमा काम गर्ने पत्रकारका निम्ति सामाजिक सञ्जाल प्रयोगमा आचासंहिता तोक्न थालेका पाइन्छ। विडम्बना! हाम्रो पत्रकारिताको अभ्यास , सञ्चार गृहले आचारसंहिता त कहिल्यै तोक्न सकेन नै, प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता पालना गरौँ भन्ने नारामै सीमित रहेको देखिन्छ।

आधुनिक पत्रकारिताको सिद्धान्तले ‘जनता आफै रिपोर्टर हुन्’ जसले दिएकोे सूचनाका आधारमा घटनाको गहिराइसम्म पुग्न सकिन्छ  र उनीहरूको चासोको विषय छान्न सकिन्छ भन्दछ। त्यसैले सामाजिक सञ्जालमा पोस्ट हुने सबै विचार तथा सूचना तथ्यमा आधारित नहुन पनि सक्दछन्। त्यसलाई सत्यताको मापन गर्ने यन्त्र भनेको उसले प्रयोग गर्ने सामाजिक सञ्जालको स्वार्थसँग जोडिन्छ।

सामाजिक सञ्जाल प्रयोगका सुरुवातका दिनमा कमी कमजोरिहरू सबैबाट हुन सक्दछन्। तर आग्रह पूर्वाग्रह राखेर त्यसको प्रयोग गर्दा आफ्नो व्यक्तिगत मर्यादा तथा स्वविवेक प्रयोग गर्न भुल्नु हुँदैन। किनभने कानुन भन्दा माथि न्याय र न्याय भन्दा माथि नैतिकता हुन्छ। नैतिकता नै मानिसको सबैभन्दा ठूलो सम्पति हो।

समाज राजनीतिक, जातिय, भाषीक, धार्मिक, आर्थिक, भौगोलिक, लगायत भिविन्न विधामा विभाजन छ। देशमा बेरोजगार, गरिवी, भ्रष्टाचार, राजनीतिक स्वच्छाचार व्याप्त छ। देशका यी तमाम समस्याहरुलाई स्वच्छ विचारका माध्यमबाट समाजिक सञ्जालमा अभियान चलाई सरकारलाई दबाब सृजना गर्न सकिन्छ। गलत नियतबाट सामाजिक सञ्जालको प्रयोग हुन्छ भने त्यसले कुनै दिन जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि नै पक्कै प्रश्न उठ्न सक्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.