लुम्बिनीका बारेमा विदेशी राष्ट्रप्रमुखहरूलाई पत्र किन?


अमेरिकी राष्ट्रपति बाराक ओबामा, चीनिँया राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्रीलंकन राष्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राविधिक कारणले गर्दा ती देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल विषयमा भएको गलत तथ्यबारे जानकारी गराइएको थियो।

ती देशको प्रजातन्त्रको सबलीकरण र मानअधिकार हननको संरक्षणका खातिर सच्याइनु पर्ने आग्रह गरिएको थियो। ६ पेज लामो अनुसन्धनात्मक प्रतिवेदन विश्व संयोजकको हैसियतमा तत्कालीन प्रधानमन्त्री एवं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३० डिसेम्बर, २०१५ मा अभियानका तर्फबाट हस्तान्तरण गरिएको पनि थियो। यसपश्चात् प्रधानमन्त्रीले नेपाल सरकारका प्रतिनिधि हाल बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीलाई आवश्यक कार्यार्थ हस्तान्तरण गर्नुभएको थियो।

अभियानको प्रतिवेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाई पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरिसकेको छ। सात देशको पाठ्यपुस्तकमा भएको बुद्ध जन्मस्थलको विषयमा भएको गलत जानकारी सच्याउने कामलाई प्रभावकारी बनाउन अभियान सरकार मार्फत जाने कुराको जानकारी अभियानको तर्फबाट उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल, पूर्व उप–प्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओवादी नेता मोहन वैद्य (किरण)सँग गरिएको छुट्टाछुट्टै भेटघाटको क्रममा सबैलाई जानकारी गराउने काम भइसकेको छ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानका विश्व संयोजकद्वारा हस्ताक्षरित ज्ञापनपत्र पूर्व मन्त्रीद्धय दीपकुमार उपाध्याय र राजेन्द्र श्रेष्ठ, डा. आरजु देउवा राणा, डा. कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले अगस्ट २०१० मा बुझाएपछि अभियानले आधिकारिक रुपमा वुद्ध जन्मस्थल विषयमा भएको विश्वव्यापी दिग्भ्रमको जरोको रुपमा विभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारीलाई लिएको र यो समस्या निस्तेज पार्न मूल रुपमा नेपाल सरकारलाई आफ्ना कुटनीतिक नियोगहरूलाई यस उद्देश्य प्राप्ती कार्यमा परिचालन गर्न सुझाएको थियो। अभियानको सुझाव कार्यान्वयन नहुँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल विषयमा भएको गलत जानकारी सच्याउने काम कोरियाका लागि नेपालका तत्कालीन राजदूत कमल प्रसाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई अनुरोध गर्नुभएपछि सच्याउने काम भएकोले अभियानको मूलभूत उद्देश्य प्राप्ती कार्यमा भएको उहाँको योगदानलाई कदर गरी अभियानले उहाँलाई सम्मान गरिसकेको छ।स्वीडेनमा भएको यस्तै समस्या समाधानको लागि अभियानले बेल्जियमस्थित नेपाली दूतावास मार्फत् प्रकृया अगाडि बढाएपछि त्यहाँ पनि समस्या समाधान भएको छ।

६२३ इसा पूर्वमा वर्तमान नेपालको लुम्बिनीमा जन्मनु भएको बुद्धको जन्मस्थलमा राजा पियादसी (सम्राट अशोक) आफ्नो राज्यभिषेकको बीस वर्ष पुगेको अबसरमा आएर २४९ इसा पूर्वमा बुद्ध जन्मनु भएको ऐतिहासिक स्थलमा अशोक स्तम्भ मार्फत् बुद्ध सो ठाउँमा जन्मनु भएको जानकारी पाली भाषामा लेखेर छाड्नु भएको छ। अफसोस! यो स्तम्भ सयौं वर्ष हराउन पुग्यो। अशोक स्तम्भ हराएकै समयमा बेलायतले भारतलाई आफ्नो उपनिवेश बनायो। अनि केही बेलायती विद्वानहरूले बुद्ध भारतको उत्तरी भागमा जन्मनु भएको कुरा उल्लेख गरी लेख्न थाले। कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा आफ्नो परिचय स्थापित गराउने किसिमले बेलायतले विश्वको अधिकांश देशमा आफ्नो साम्राज्य कायम गरेकाले बेलायती विद्वानको लेखाइलाई सन्दर्भ सामग्रीको रुपमा लिएर धेरै देशले पाठ्य–पुस्तकमा बुद्धको जन्मस्थल भारतको उत्तरी भागमा भएको भनी लेख्न थाले। बुद्धको जन्मस्थल विषयमा सिर्जित विश्वव्यापी समस्याको मूल जरो आखिर यही हो।

बुद्ध जन्मस्थल विषयमा सिर्जित यो विश्वव्यापी समस्या दुई किसिमले अझ विकराल बन्दै गयो। पहिलो, धेरै देशको पाठ्य पुस्तकमा नै त्यस किसिमको समस्या भएका कारण त्यस्ता देशका प्रतिभावान् व्यक्तिद्वारा लेखिने लेख एवं पुस्तक, फिल्महरूमा गलत जानकारी दोहोरिँदै र बढ्दै जान थाल्यो। र दोश्रो, बुद्धको विश्वव्यापी महत्त्व र नेपालको भू–राजनीतिक अवस्थाका कारण एउटा पक्षको विभिन्न स्तरबाट नियतवश गरिने श्रृंखलाबद्ध गलत जानकारी प्रवाह र पीडित पक्षको महत्त्वपूर्ण जिम्मेवार निकायको एक किसिमले सर्वपक्षीय मौनताले गर्दा जनस्तरमा गलत कुरा सही र सही गलत जस्तोको रुपमा स्थापित भएको देखिन पुग्यो।

प्रजातन्त्रको अत्यन्तै आधारभूत र अत्यन्तै महत्त्वपूर्ण पक्ष हो। जनताले जानकारी पाउने अधिकार साथै जानकारी सही हुनुपर्ने यसको विशेषता हो। गलत जानकारी दिनु प्रजातन्त्रको मान्यता विपरित कुरा हो। विश्व शान्तिका प्रतिक बुद्धको जन्मस्थल विषयमा माथि उल्लेख गरिएको कारणले गर्दा  विभिन्न देशले आफ्नो पाठ्य–पुस्तकमा गलत जानकारी राखिएकोले विश्वका धेरै देशमा बुद्ध जन्मस्थल विषयमा गलत जानकारी पाठ्य–पुस्तक मार्फत नै दिने गरिएको छ। ती देशका जनतालाई बुद्धको जन्मस्थल विषयमा भएको गलत जानकारी सच्याएर सही जानकारी दिन लगाउनुको स्पष्ट अर्थ विश्वको प्रजातन्त्र सबलीकरणमा योगदान दिनु पनि हो।

वास्तवमा बुद्धिज्मको आधारभूत सिद्धान्त सम्पूर्ण चराचर जगतप्रतिको प्रेमभाव र अहिंसा हो। अहिंसाको अर्थ मानव–मानव बीचको काटमारको प्रसंगमा मात्रै सीमित नभएर यो त सम्पूर्ण जीवित प्राणीको लागि पनि हो। सबैले अहिंसाको पथलाई अंगीकार गर्ने हो भने वास्तविक शान्ति स्वतः स्थापित हुन्छ। भौतिक दुनियाँमा वैज्ञानिक कालभर्टको दाबी छ कि मान्छेद्वारा मासुको लागि प्रयोग गरिने जनावरहरूबाट ब्रम्हाण्डमा २१ प्रतिशत कार्बन डाइअक्साइड छाडिरहेका छन्। यसको स्पष्ट अर्थ हो पुरै विश्व शाकाहारी हुने हो भने ‘ग्लोबल वार्मिङ’लगायतका धेरै समस्यामा धेरै कमी आउने छ। समानान्तर रुपमा यसले दिने अर्को महत्त्वपूर्ण परिणाम हो– शान्त स्वभावका मानिसहरूको बाहुल्यता। विश्व शान्तिको लागि आवश्यक आधारभूत कुरा यिनै हुन्।

प्राविधिक कारणले गर्दा सत्यका पर्याय बुद्धको जन्मथलोको विषयमा गलत जानकारी प्रवाह विश्वव्यापी रूपमा भइरहेको छ। तर बुद्धप्रति सही अर्थमा आदरभाव जनाएको त्यसबेला मान्न सकिन्छ जुनबेला उनको नाममा सिर्जित दिग्भ्रम निस्तेज गरी सही कुरालाई स्थापित गर्न सकिन्छ।

व्यवस्थित तवरबाट बुद्धका सन्देशहरू प्रचार–प्रसार गर्ने र लुम्बिनीलाई राष्ट्रसंघसँगको सहकार्य मार्फत योगा र ध्यान केन्द्रको रुपमा विकसित गराउने हो भने यसले राष्ट्र संघको विश्व शान्ति उद्देश्य प्राप्तीमा उल्लेख्य योगदान दिन सक्छ। अन्तराष्ट्रिय संस्थाहरू र व्यक्तिहरू समेत लुम्बिनीलाई मक्का–मदिना र भ्याटिकन सिटि जस्तै बनाउन लालायित देखिएकाले लुम्बिनीलाई विश्वका धेरैले भ्रमण गर्ने क्षेत्रका रूपमा विकास गराउने अवधारणा अनुरुप तयार पारिएका गुरुयोजनालाई सार्थक रूप दिन सकिएको खण्डमा यसले नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिने मात्रै नभएर विश्व शान्ति अभियानलाई समेत उत्प्रेरित गर्नेछ।

विश्व शान्तिका प्रतिक बुद्धको जन्मस्थल विषयमा सिर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज पारी सही कुरालाई सही रुपमा स्थापित गरिनुका उपर्युक्त उपलब्धीका अलावा अन्य थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय महत्त्वका फाइदाहरू छन् र पनि नेपालीहरू यो अभियानलाई ‘बुद्ध वर्न इन नेपाल’ अभियानको पर्यायको रुपमा लिने गर्छन्। यी यथार्थको अभिज्ञानका अभावमा हाम्रो भू–राजनीतिक अवस्थाका कारण आवाज उठाउनुपर्ने सबैमा अनपेक्षित रुपमा मौन बस्ने वा पन्छिन खोज्ने प्रवृत्ति हावी भएको पाइन्छ। सात देशका राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखिएको प्रतिवेदनमा समस्याको प्राविधिक कारण र ती देशको प्रजातन्त्रको सबलिकरण र मानव अधिकार हननको संरक्षणका खातिर विश्व शान्तिका प्रतिक बुद्धको जन्मस्थल विषयमा ती देशका पाठ्य पुस्तकमा भएको गल्ती सच्याइनुपर्ने आग्रह जसरी गरिएको छ।  त्यो किसिमबाट काम गर्न कुनै पनि तहको जिम्मेवारी लिनेले हिच्किचाउनु पर्ने अवस्था किमार्थ देखिन्न।

विश्वभरी छरिएर रहेका नेपालीले जनस्तरबाट नेपाल सरकारका तर्फबाट गरिनु पर्ने धेरै महत्वपूर्ण कामहरू गरिसक्दा पनि नेपाल सरकारका तर्फबाट भने येनकेन प्रकारेण वाध्यताबस मात्रै गरिने हो भने सरकारको औचित्य के त भन्ने प्रश्न उठ्न थालिसकेको छ। अभियानले छोटो समयमा प्राप्त गरेका अनपेक्षित उपलब्धीहरू र वातावरणका आधारमा अभियानले गर्दै आएको कामको निरन्तरताको जिम्मा सरकार आफँैले लिनु न्यायोचित देखिन्छ। यदि त्यसो नगर्ने हो भने सरकारले अभियानसँग संयुक्त रुपमा काम गर्नु उपयुक्त देखिन्छ जसको लागि सरकारलाई शून्य आर्थिक भारमा राखेर काम गर्न सकिने कार्य योजना सहितको अवधारणा अभियानका तर्फबाट सरकारलाई पठाइसकिएको छ। सरकार आफँैले मात्रै नगर्ने हो भने भए गरेका कामहरू र महत्त्वपूर्ण गरिनुपर्ने कामलाई प्रभावकारी ढंगबाट गर्न र निरन्तरता दिन नेपाल सरकारकै मातहतमा सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयुक्त रुपमा गरिनुपर्छ भनी जनस्तरबाट उठन थालेको आवाजको कदर गरी सरकार यथाशीघ्र यसतर्फ लाग्नु समय सान्दर्भिक कदम हुनेछ।

यसर्थ विश्वमा प्रजातन्त्रको सबलिकरण, मानव अधिकारको हननको संरक्षण, विश्व शान्ति प्रकृयालाई उत्प्रेरित, सत्यलाई सत्यकै रुपमा विश्व जनताका बीच स्थापित गरी सत्यका पर्याय बुद्धप्रति सही रुपमा आदर, लुम्बिनी क्षेत्रको प्रवद्र्धन एवं देशको स्वाभिमानलाई प्रबल बनाउने जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका उद्देश्य प्राप्ती गर्न यस अभियानले मद्दत पुर्याउने कुरामा सन्देह छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.