हावा गफमा अडिएको नेपाली राजनीति


भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा बाँडेका सपनाहरूले सय दिन काट्दा पनि विकास र समृद्धिले डोरो–मेलो पाउन सकेन। राजनीतिक पाइलाहरू छामछाम छुमछुम गर्दै हिँड्छन्। कष्टकर जीवनलाई माथि उठाउन हावादारी र अपरीपक्व भाषाहरू पोखि,रहन्छन्। २०७० का निर्वाचनमा गरिएका वाचा हावामा नै उडिरहेका छन्। ६ महिनामा एअरपोर्ट बनाएर हवाईजहाजमा सवार गर्ने नेताका आवाज, डाँडा थुम्कामा केवलकार बनाएर सरर ओर्लने–उक्लने थोत्रा गफ, विद्युत् उत्पादन गरेर देशै झलमल्ल बनाउँछु भन्ने गर्जन अहिले कतै भेटिँदैन। बेरोजगारीले छट्पटाइरहेको अवस्थामा खाडी मुलुकमा जानेको लर्को छोटिएको छैन। मैले यी वाणी २०७० को निर्वाचनमा प्युठानमा वामदेव गौतमले घोषणा गरेका वाचालाई प्रस्तुत गरेको छु। उहाँको भाषामा उहाँलाई अन्तिम संस्कारको लागि प्युठानमा श्रीखण्ड खोज्नु पर्दैन। अब प्युठानको सम्बन्धमा उहाँलाई सोध्न पर्दैन किनकि उहाँ बर्दियातिर लागी सक्नुभएको छ। उहाँका ३४ बुँदा कता छन् कसैलाई पत्तो छैन, फेरी कसैले उठान पनि गरेको छैन।

जनयुद्धको उद्गम भूमि रोल्पा अहिले फेरी संसदीय अभ्यासमा अभ्यस्त हुँदैछ। जीवन मरण गरी राजनीतिलाई प्रयोग गर्ने उद्घोषका साथ सलबलाएका युवा युवतीको जोश खाडी मुलुकतिर पलायन भइरहेको अवस्था छ। २०६४ मा रोल्पाबाट प्रतिनिधित्व गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७० को निर्वाचनमा काठमाडांैबाट पराजित भए पनि सिराहबाट संविधान–सभामा प्रतिनिधित्व गर्नुभयो। राज्य सत्ता विरूद्धको लडाइँको निम्ति होमिनु भयो। २०५२ बाट गरेको जनयुद्धका नाइके जसले प्रचण्ड–पथको रूपमा अगाडि बढ्यो। राजनीतिक रूपमा उहाँका विचारहरू नागरिकमाथि प्रताडित भएका शोषित पीडित मान्छेलाई सत्तामा लान सकिन्छ भन्ने थियो। उनले पटकपटक भन्ने गरेका थिए, यो राज्य सत्ताको लडाँइमा हाम्रो विजय भएको छ। सामन्तवाद र साम्राज्यवादलाई टाउको उठाउन दिने छैनाँै। भारतीय विस्तारवादका विरूद्ध सुरुङ युद्ध गर्न पछि पर्ने छैनौँ। हाम्रो उद्देश्य भनेकै जनवादी राज्य स्थापना गर्ने हो। साम्यवाद लक्ष्य हो र नौलो जनवाद पहिलो आधार हो भनेका थिए। कसैले बिवदेशीको भूमिमा पसिना बगाउनु पर्ने छैन। नातावाद कृपावाद सबै हट्ने छन। जनताको सरकारमाथि कसैले औँला ठड्याउने छैन। गरिबका छाप्रामा मुस्कान आउने छ भन्ने गर्दथे। रुकुमको चुनवाङ बैठकमा देवी थापाले बच्चा बोकेर जनयुद्धका सेनाका साथमा नृत्य प्रस्तुत गरिरहँदा प्रचण्ड, बाबुराम र सबै शीर्ष नेताहरू भक्कानो छोडेर रोएका थिए। जुन बेला कार्यकर्तामा उत्साह थियो, जनताहरूमा नेताप्रति भरोशा थियो। उनको सोच, भाषा र अवस्था सबैमा सर्मपण थियो तर आज उनले गरेका प्रतिबद्धताहरू हावादारी बनिरहेका छन्। उनको प्लाटुनको कमाण्डर बनेकाहरू अर्बौँो महाजन बनेका छन्। उनले स्थानीय स्तरमा गरेका बाचा पनि पुरा भएनन्। समृद्धि र विकास, आर्थिक, सामाजिक रुपान्तरणका कुरा न पुरा भए न क्रमभङ्ग भए। आज क्षेत्र परिवर्तन गर्दै राजनैतिक भागबण्डाको रूपमा प्रतिनिधि–सभामा पुग्ने भ¥याङ खोजी रहेका छन्। जीवन मरणको लडाँइ लड्नेहरू ‘वल्लो घाट न पल्लो तिर’को रूपमा उभिइरहेका छन्। युद्धमा जीवनको बाजी थाप्नेहरूको अवस्था त यस्तो छ अरू सर्वसाधारणको अवस्था कस्तो होला?

२०१० सालको किसान आन्दोलनको नेतृत्वकर्ता २०१५ सालको प्युठानको एउटा क्षेत्रबाट पराजित कम्युनिष्ट आन्दोलनका अग्रज मोहन विक्रम सिंह जसले कम्युनिष्ट राजनीतिलाई पेसा बनाएर हिँडे। १०औँ वर्ष जेल जीवन बिताएका र पार्टीभित्र सँधै एउटा धार खडा गरिरहनेका रूपमा चित्रण गरिएका व्यक्ति जसको लेखन कलामा तर्क पेश गर्न निपुणः छन्। उनी जे लेख्छन् त्यो गर्दैनन्। यदि कसैले उनको विपक्षमा आवाज उठाइहाले पार्टीमा बाहिर निस्किहाल्छन्। उनले लेख्ने र गर्ने बानी फरकफरक छ। राजनैतिक रुपमा राष्ट्रिय जनमोर्चाले २०४८ सालको संसदीय निर्वाचन बहिस्कार गरेको पार्टीले २०५१ पछि तालमेलमा निर्वाचित र समानुपातिकमा निर्वाचित हुर्दैै यहाँसम्म आइपुगेको छ। सरकारमा समेत सामेल भइसकेकोले संसद आन्दोलन गर्ने क्षेत्र हो आन्दोलनकै लागि त्यहाँ जान खोजेका हुन् भन्ने अवस्था रहेन जबकि ऊ अब राष्ट्रिय पार्टीमा पनि दरिने छैन। आन्दोलनकै लागि राजनीतिमा होमिएकी उनकी कान्छी श्रीमती राजमो उपाध्यक्ष कहिले कपिलवस्तु, कहिले काठमाडांै र वर्तमान अवस्थामा प्युठानबाट प्रतिनिधि सभाको सदस्यको लागि भ¥याङ् खोज्दै छिन्। राजनीतिमा सँधै आन्दोलन मात्र देखिरहने तर जनमत बटुल्न नसकेको अवस्थामा सरकारमा गएर हुन्छ कि संसदमा गएर हुन्छ त्यसका लागि सौदाबाजीमा अड्किएको उनका राजनीतिले जनताको बीचमा फेर समाउन सकेको छैन। विकास र समृद्धि अन्यत्र मात्र देख्ने आफ्नो मुलुकमा स्थानीय तहमा पाएको अवसरलाई पनि व्यवस्थित गर्न नजान्ने एउटा सानो राजनीतिक झुण्ड बाहेक अरु देखिएको छैन।

निरङ्कुश पञ्चायती शासन व्यवस्थाका विरुद्ध आन्दोलन गरे पश्चात् तीस वर्ष एकछत्र शासन गरेको पञ्चायती व्यवस्थामा सामेल राजनीति गर्नेहरु २०४६ पश्चात संवैधानिक वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बुढा नेता संवैधानिक राजतन्त्र र संघीयताको विपक्षमा जनमत बटुल्न र त्यसकै लागि राजनीतिमा होमिएको वर्तमान अवस्थामा रहेको पार्टीले राजतन्त्र फर्काउँछु भनेर लागी परे कसरी पत्याउन सकिएला। रगत खाएको बाघझैँ सिंहासनमा बसेका राजा र उनका परिवार लुरुक्क उठेर नागार्जुनको कुटीबाट सानो व्यापार गरिरहेका छन्। अब हिन्दु धर्मको नाममा राजतन्त्र फर्काइ हाल्छन् भनेर कसले साथ दिने? कसले पत्याउने हो थाहा लाग्न सकेको छैन।

विश्वेश्वर प्रसाद कोइरालाले नेपालको सन्र्दभमा समाजवादको व्याख्या गर्दै भने, ‘सबै नेपालीको सानो घर होस्। खान पुग्ने खेतबारी होस्। सबैका केटाकेटीले पढ्न पाऊन्। स्वास्थ्य उपचार सबैले पाऊन्। सबैका घरमा दुहुनु गाई होस्।’ आज नेपाली काँग्रेसभित्र वि.पिको समाजवादको बारेमा धेरै नै कुरा गर्ने गरिन्छ। वि.पि. प्रजातन्त्रको बारेमा धेरै जेल, निर्वासनमा बसे तर उनले आफनो विचार यर्थाथपरक ढङ्गले लागू गर्न सकेनन्। उनका उत्तराधिकारीहरू उनका विचारलाई स्वप्नील ढङ्गले प्रचारित गर्ने गर्दछन्। विचारलाई मुलुकको कर्मचारी तन्त्रको माध्यमबाट विज्ञताको रूपमा अगाडि बढाउँछन्। आवधिक निर्वाचनमा स्वप्नील सपना बाँड्ने गर्दछन् तर त्यसको समाधान मुलुकको ठूलो दल भएका कारणले पनि पार्टी भित्रै विज्ञ व्यक्तिलाई नेतृत्व तहमा पुर्याउन कञ्जुस्याँइ गर्दछन्। परिणामतः कर्मचारी जिम्मेवार बन्दैनन्, राजनीतिक नेतृत्वले आफू दोषी हुनुको बदला अन्य तर्फ बिसाउँछन्। आफ्नो पार्टीभित्र संक्रमण गराइरहनाको कारणले पनि मुलुकलाई संक्रमण भएको छ भनेर परिभाषित गर्दैनन्। भोक, प्यास, गरिबी र अशिक्षाले छट्पटाएर निरन्तर रूपमा राजनीतिक कारणले आर्थिक र विकासको गति अलमलिएको अवस्थामा आसन्न निर्वाचन अगाडि आएको छ। हामीले परम्परागत रूपमा गर्दै आएको राजनीति भन्दा माथि उठेर विकास र समृद्धिलाई अंगिकार गर्दैनौ र आन्दोलनको प्रमुख उपलब्धिलाई संस्थागत गर्न सकिरहेको अवस्था छैन। राजनैतिक उत्तराधिकारीले नै स्वप्नील सपनाहरू बाँड्ने बाहेक अरू देखिएको छैन।

राजनीतिक रूपमा जनता बलिया हुन्छन्। आन्दोलनको उपलब्धिको रूपमा आएको संविधान अबको दिनमा विकासको मेरुदण्ड पनि हो। त्यसलाई कुल्चने र कुण्ठित गर्ने अधिकार कसैलाई पनि छैन। हामीले यसो भनिरहँदा नेतालाई हावादारी गफ गरेर सत्तामा लुछाचुँडी गर्ने अधिकार पनि छैन। राजनीतिक पात्रले जनताको बीचमा सपना बाँड्दै हिँड्ने तर विगतको कार्य हामीले कति पुरा गर्यौँ कति बाँकी छन् भनेर फेरी हुने आवधिक निर्वाचनमा नभन्ने? राजनीतिक दर्शन विचारहरूका बारेमा भन्दा व्यक्तिगत लाभ–हानिमा नै केन्द्रिकृत भएका कारणले पनि राजनीतिमा हावा गफ भएको हो। राजनीतिक पात्रहरू घरमा आगो लगाएर खरबारीमा खरानी खोज्ने गर्दछन्। योग्य सक्षम र इमानदार बौद्धिक व्यक्तिहरू मैदानमा उत्रिएको बेला त्यसलाई पनि हावादारी गफको रूपमा अलाप्ने गर्दछन्। अन्त्यमा झापामा के.पी. शर्मा ओलीसँग प्रतिद्वन्दीको रूपमा आएका प्राध्यापकलाई व्यङ्ग्य गर्दै ओलीले भने, ‘मसँग चुनाव लडन एउटा मास्टर आएका छन्, मैले त चिनेको पनि छैन।’ शीर्ष नेतृत्वको यो बोलीले बौद्धिक जमातमाथि कसरी हस्तक्षेप हुने गर्छ भन्ने तथ्य प्रष्ट पार्दछ। राजनैतिक नेतृत्वका हावादारी गफले मुलुकको राजनीतिले कसरी डोरो लगाउला!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.