‘यो ताल घुम्न किन आउँदा हुन्, कति राम्रो लाग्दो हो जोङ्गलको बाटो हिड्न’

राराबाट फर्किएपछि...


‘दिदी, चिसो केही छ, साह्रै गर्मी भयो।’

‘फुरूटी छ, चिसै हुन्, चालीस रुपैँयाका खादा हुन् नी।’

रारा तालबाट साढे दुई घण्टा ठाडो उकालो उक्लेपछि बल्ल मुर्मा गाउँ पुगेका थियौं हामी।

अलिकति घाम चर्कियो ज्यानलाई थकाइ लाग्ने, अलिकति हावा चल्यो मुटु काप्न थाल्ने, उकालो चढ्दा स्यास्या भएर पाइला चाल्नै गाह्रो हुने, ओरालो झर्दा खुट्टा कापेर भुइँ टेक्नै गाह्रो हुने। ‘दाइ, यो मुर्मा गाउँ कहाँ हो भनेर सोध्दा तलै फेदीबाट ऊ त्यही त हो भनेर देखाएका थिए एक बटुवाले। ‘अनि कति समय लाग्छ त्यहाँ पुग्न हामीहरुलाई भनेर सोध्दा एकछिन गमेर ‘हामीलाई आधा घण्टा तपाईँहरूलाई चाँहि एक घण्टा लाग्ला भनेकोले साँघुरो रेखामा पाइला उकालेका थियौ हामीले। तर यो जीन्दगीमा पहिलो पटक आफू बोइरल भइएछ भन्ने महसुस भयो त्यो दिन। देख्दा फूर्तिलो ज्यान फटाफट छिटो हिड्न नसकेकोमा हिनताबोध पनि भयो। जे होस् हिड्न नसक्दा नसक्दै पनि मुर्मा जाने आँटलाई भने बीचमा छोडिएर फर्किएन। घाम क्षितिजमा पुगिसक्दा पनि मुर्मा पुगेरनै छोडियो।

घामले पोलेर बेक्सरी तिर्खा लागेको थियो। बाटामा खाएको पानीले प्यास नमेटेपछि महँगो भए पनि चिसो फ्रुटी नै खाने निधो गर्‍यौं।

‘ठीकै छ तीन वटा फ्रुटी अनि तीन वटा बिस्कुट दिनुस् त।’

भाइ दिपेश र म एकअर्कालाई हेरेर दंग पर्‍यौ र मुसुमुसु हाँसिनै रहयौ। कारण थियो, हाम्रो टूरको म्यानेजरले आफ्नै गोजीबाट पैसा हाल्न खोजेको देखेर।

रारा आइपुगुन्जेलसम्म बाटोमा प्यास लाग्दा पनि पानी किनेर दिन अनकनाउने र दुई पटक बजेटको हिसाब गर्ने म्यानेजरले बीस रुपैयाँ पर्ने फ्रुटीलाई चालीस रूपैया तिर्दा, त्यसमाथि पचास रुपैयाँको तीन वटा बिस्कुट पनि मगाउँदा र अनि अन्तिममा ललिपप चक्लेट पनि किनेर दिदाँ दिपेश र म त त्यही म्यानेजर नै हो र भनेर पत्याउन गाह्रो भयो। हामी त कस्तो भाव दिने भनेर नै अकमकियौ।

फ्रुटी दिदैँ दिदीले सोधिन् – ‘तपाइँहरू यो ताल हेर्न आका।’

चिसो फ्रुटी समात्दै हामीले हजुर भनेर मुन्टो हल्लायौ।

उनी मेरो फ्रुटी लिएको हात राम्ररी निहालेकी थिइन्। त्यसरी एकटकले मेरो हात हेरेको देखेर अलि अप्ठ्यारो पनि लाग्यो। मैले केही सोध्न नपाउँदै उनले फ्याट्ट भनिहालिन्।

‘हेर कस्ता सुकिला हात फहर भएछन्, कति पसिना आका, कठै! कस्तो दुःख बिसौन मन हुन् यो ताल हेर्न।’

मैले यसो आफ्नो हात हेरेको साँच्चैनै हत्केलामा, नाडीमा माटोको धुलो लागेको रहेछ। उकालो चढ्दा लड्ने डरले हातहरुले बारीको कान्ला समातेका थिए। फ्रुटी भुँइमा राख्दै म हात टकटकाउन थाल्छु।

‘यो पुरै जोङ्गल छ , हिड्नु सोमस्या छ, किन आउँदा हुन् यही पानी हेर्न,केही त राम्रो छैन, न बजार छ, दुःख मात्रै पा हुन्। अनि कहाँबाट आ हुन् नि?’

म्यानेजरले हत्तनपत्त, काठमाडौंबाट आ’का हामी, तपाई जानुभा’छ भनेर सोधिहाल्यो।

‘हामी काठमाडौँ त होइन तर, तराई देख्या हुन्, औषधी गर्न जाँदा देख्या हुन्, साह्रै रमाइलो लाग्छ, औषधि गर्न पनि जान्छ, घुम्न पनि पाउने र घुम्दाँ सुर्खेत र नेपालगन्जमा राम्रा राम्रा मान्छे पनि देख्ने मन हुन्।”

उनी मान्छे जति उज्याली थिइन् कुरा पनि गज्जबको गर्दिरहिछिन्। गाउँमा नयाँ मान्छे आयो भने गफ गर्न एकदमै रमाइलो लाग्छ रे उनलाई। कति मिठो लवजमा, कति सरल,कति मिठो र गहकिलो बात गरेकी हुन् हामीसँग। उनलाई मुगु जिल्ला विकास नभएकोमा पनि पीर छ, बाटोघाटो नबन्दा सिमी, आलु, स्याउ भनेजति तराईमा ओर्सान नपाएकोमा पनि चुकचुक छ उनलाई, राजनीतिमा महिलाहरु कमी भएको कुरामा पनि आपत्ति छ, गाउँमा महिला नेतृहरु नभएकोमा पनि गुनासो छ उनलाई, रारा घुम्न आएको मान्छेलाई दुःख भयो भन्ने कुरामा पनि नरमाइलो छ ,गाउँमा महिलाहरुलाई पुरुषको तुलनामा अझ पढ्न नपठाएको र चाँडो विवाह गरिदिएकोमा पनि रीस छ , उनको मनमा धेरै प्रश्नहरु धेरै विचार र कुराहरुको विश्लेषण गर्ने क्षमता रहेछ।

‘अनि म्याडेम, केही वर्ष भयो, टन्न विदेशीहरू पनि यो गाउँ उक्लन्छन् नि, गोरो अनुहार देख्दा कति आनन्द पनि आया हुन्, अस्ति यी केटाकेटीका फोटोहरु तन्न खिच्या हुन् अनि यीनीहरुलाई पनि यो तालनै कति राम्रो लाग्दो हो।’

विदेश त साह्रै रमाइलो स्वर्ग हो भनेर सुनेकी उनलाई अचम्म लागिरहेको थियो , त्यस्तो स्वर्ग छोडेर किन यो पानी हेर्न आएका होलान्।

‘अनि काठमाडौं नजाने?’ अलि गम्भीर भएर म्यानेजरले प्रश्न गर्‍यो।

उनी आफ्नो पहेँलो पोतेमा झुण्डाएको ताल्चा चाँबी खेलाउँदै भन्छिन् ‘हामीलाई मन भए पनि त कई हिड्न मन लाग्दोइन, बाटोको समोस्याले। निकुन्जको मान्छेले भ्रमण लान्छन् त्यो बेला चाँहि म अस्तिनै गया अब काठमाडौं जाने रहर पलाइरा’छ।’

उनी एकोहोरो बोलिरहेकी थिइन्, हामी सुनिरहेका थियौ। ‘पढ्न गएका यहाँका केटाहरुले भन्छन् काठमाडौं राम्रो छ रे, हुन त हो काठमाडौं राम्रो छ रे क्यारे तर हामीलाई मात्रै हुन् होइन र? तपाइँहरुलाई राम्रो नलाग्ला हुन् नि कुन्नि, हामीलाई पनि यही ताल खासै नलाग्या जस्तै हुन्।

उनलाई खासै नलागेको ताल हामीलाई भने अलौकिक लागिरहेको थियो। त्यस्तो कठिन यात्रा पार गरेर रारा आएकोमा स्वर्गमा आएको भान भएको थियो। सानो, अप्ठ्यारो बाटो, भिरको यात्रा, खाल्डाखुल्डी , दहीखोलाको खतरनाक पहिरो,  मोडमा घण्टौँ जाम, अनि त्यसमाथि रातमा गाडी हिलोमा फस्दा भोकभोकै दुई घण्टा ताल्चा विमानस्थलसम्म पैदल गएको अनि भोलिपल्ट फेरि दुई तीन घण्टा लगाएर राराताल पुग्दाको क्षण अति यादगार थियो।

यती लामो यात्रापछि जब राराताल देखियो तब सबै तनाब, बाटाका सबै दुःख बिर्सिएका थियौ। भनिन्छ सुन्दर चिजहरु टाढा अलग्गै बसेकै राम्रो। मानिसहरुलाई सजिलै पाउने चीजहरुको महत्व पनि त्यति हुँदैन रे। उनी रारालाई हरेक दिन दर्शन गर्छिन्, उनले रारालाई सजिलै पाइरहेकी थिइन् त्यसैले उनलाई ताल खासै खास लागेन तर हामीलाई रारालाई एकछिन भए पनि पाउन अनेकैँ अप्ठ्याराको सामना गर्नु पर्‍यो त्यसैले एउटा स्वर्गको टुक्रा धर्तीमा खसेजस्तो लाग्यो।

मुर्मा गाउँकी यती मिठो बात गर्ने बेलमति रोकया दिदीसँग केही क्षण बिताएर हामी फर्कियौ। उनी बाटेमा उभिएिर हामीलाई तल पुगुन्जेलसम्म पनि बाई बाई गर्दैथिइन्। उनी रारा ताल हेर्न यती दुःख गरेर देश विदेशबाट आएको देखेर दंग छिन्। उनले हामीलाई बाई बाई त गर्दैथिइन् तर उनी आफैं भित्र खोजिरहेकी थिइन् रारा तालबारे थुप्रै प्रश्नहरु  कि ‘आखिर यो जाबो तालमा के चाँहि रहेछ, यो ताल घुम्न किन आउँदा हुन्, कति राम्रो लाग्दो हो जोङ्गलको बाटो हिड्न ?’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.