दुर्घटनाको कारक चालक मात्रै कि सडक डिजाइनमै खोट?


कात्तिक ९ गते कोरियाबाट फर्केको मात्र थिएँ, सप्तरीबाट काठमाडौँ हिँडेको बस त्रिशुलीमा खसेर दुर्घटना भएको खबरले झसंग बनायो।

‘नेपालका दुई छुट्टाछुट्टै ठाउमा एकै दिन जीप दुर्घटनामा परी १८ जनाको मृत्यु’ भन्ने फेरि अर्को समाचार आयो।

भर्खरै मात्र कोरियाले थोरै समयमा प्रविधि र पूर्वाधारमा गरेको प्रगतिबाट प्रभावित भएको थिएँ। कोरियाले सिभिल इञ्जिनियरिङ क्षेत्रमा गरेको अध्ययन, अनुसन्धान र प्रगतिको अवलोकन गर्ने र सिक्ने मौका पाएको थिएँ।

नेपालमा दुर्घटना समाचार नयाँ होइन। हरेक महिना वा कहिलेकाँही सातामै घट्नु यहाँ नौला मानिदैँन।

कोरियाले साना–ठूला दुर्घटनामा आफ्ना जनताको जिउधन सुरक्षामा अपनाएको संवेदनशीलताले भर्खरै भएको दुर्घटनासँग तुलना गर्न बाध्य बनायो। दुर्घटना हुनुमा चालक वा गाडी मात्रै समस्या हो कि यी कुद्ने सडकको पनि? यी सडक बनाउन जिम्मेवारको पनि? यसमा प्रयोग गरिएको प्रविधि पनि?

इञ्जिनियरका हैसियतले मैले बुझेको छु, दुर्घटनाका प्रमुख तीन कारण हुन्छन्, १) चालक वा सडक प्रयोगकर्ता २) सवारी र, ३) सडक पूर्वाधार।

सिभिल इञ्जिनियरिङको प्रमुख अंग हाईवे इञ्जिनियरिङमा सडक र त्यससँग जोडिएका संरचनाको डिजाइन, निर्माण­सम्भार र अनुसन्धान पर्छ। जसको मूख्य उद्देश्य यात्रुलाई गन्तव्यमा पुर्याउँदै गर्दा उनीहरूको जिउधन सुरक्षाको जिम्मा लिनु हो। नेपालमा यो जिम्मा सडक विभाग अन्तर्गत पर्छ।

सडक डिजाइनमा दुर्घटनाका तीनै कारण नियाल्नु विशेष महत्वपूर्ण छ। विभिन्न देशका इञ्जिनियर, बैज्ञानिक तथा संघसंस्थाले गरेका अनुसन्धानका आधारमा यसका मापदण्ड तोकिएका हुन्छन्।

तीन कारकमध्ये पहिलो दुईमाथि नियन्त्रण गर्नु ठूलो चुनौती छ। तेस्रो कारणमा हामी काम गर्न सक्छौं। सडक दुर्घटना कम गर्न सडक पूर्वाधार डिजाइन, निर्माण, तथा मर्मत प्रक्रियामा सुधार ल्याउन सकिन्छ।

अर्को सुधार हाम्रो सोचमै ल्याउन जरूरी छ। हामी कहाँ भएका सडक अस्तव्यस्त छन्। कुनैको निर्माण बैज्ञानिक ढंगमा छैन, भएको पनि अव्यवस्थित र वेवास्ता गरेर छाडिएका छन्।

सडकमा ढल छोपिएको छैन। न सूचना टाँस छ, न कुनै जानकारी। हुर्रर आएको मोटरसाइकल खस्छ। कहिलै कारनै खाडलमा खस्छ। कहिले जनावर त कहिले मान्छे नै। सडकबीचमा भएका त्यस्ता खाल्डाबाट जति नै जोगिन खोजे पनि कोही न कोही त्यस ठक्कर खाइनैहाल्छन्। खस्नेलाई धेरैले भनेको सुनिन्छ, ‘कस्तो नहेरी हिँडेको!’

त्रिशुलीमा बस खस्छ– ‘डाइभरले रक्सी खाथ्यो होला, साहुले टन्न मान्छे कोचेको थियो होला, थोत्रो बस थियो होला,’ यस्तै टिप्पणी आउँछन्।

यही सोचका कारण हामी दुर्घटनाका चक्रमा घुमिरहेका छौं। चुपचाप सब हेरिरहेका छौं। दुःख, बेथिति, भद्रगोलसँग अभ्यस्त छौं, सहने बानीपरेका छौं।

दुर्घटनाका कारक वा क्षतिमा सतही असर मात्र देख्छौं। बस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या मात्र गन्छौं। त्यसले एउटा परिवार, समाज र राष्ट्रलाई पार्ने असर हेर्दैनौं। छोटो यात्रामा खर्च भइरहेको धेरै रकमबारे सोच्दैनौं। तिनै सडकले निम्त्याएका रोग हामी देख्दैनौं। अव्यस्थित सडकले पारेको सामाजिक–आर्थिक समस्या हामी नियाल्दैनौं।

यस्तो अव्यवस्थित सडकमा प्रायः दुई प्रकारले दुर्घटना हुन्छन्। पहिलो हो बिपरित दिशाबाट आएका सवारी ठोक्किएर। विकासशील मुलुकहरुमा प्राय राजमार्गहरूमा बिपरित दिशाका लेन सँगै जोडिएका हुन्छन्। बीचमा कुनै डिभाइडर हुँदैन, जसलाई प्राविधिक भाषामा ‘अनडिभाइडेड हाईवे’ वा ‘सिंगल क्यरिएज वे’ भनिन्छ। यस्ता सडकमा बिपरित दिशाबाट आएका सवारी सिधा ठोक्किने सम्भावना एकदम बढी हुन्छ।

विकसित मुलुकका राजमार्ग यस्ता हुँदैनन्। बिपरित दिशाको लेनलाई डिभाइडरले छुट्टयाइएका हुन्छन्। नेपालमा पनि कोटेश्वर–सूर्यविनायक सडकखण्ड डिभाइडेड हाईवेको अवधारणामा छ। यसले दुर्घटना जोखिम कम गराउँछ। त्यसकारण राजमाग संरचनामा नै दुर्घटना कम गराउने हिसाबले हुनुपर्छ। आर्थिक अभाव हुँदा, कम्तिमा फराकिलोसम्म त बनाउन सकिन्छ।

हामी कहाँ हुने अर्को दुर्घटना सडक छेउ नदी वा खोल्सामा सवारी खसेर हो। सडक साघुँरो भएर होस् वा अन्य कारणले, यदि गाडी सडकभन्दा दाँया–बाँया भीर वा खोलामा खस्छ भने त्यसलाई ‘रोल–ओभर क्रयास’ भनिन्छ। पहाड र अप्ठ्यारा ठाउँमा बनेका सडक साघुँरा, उकाला–ओराला,र घुम्तीले भरिएका हुन्छन्। यस्तोमा दुर्घटना जोखिम उच्च हुन्छ।

यो समस्या केही हदसम्म कम गर्न हामी प्रविधि प्रयोग गर्न सक्छौं। जसरी कुनै भर्याङ वा घरको छतबाट नखसियोस् भनेर हामी रेलिङ (बार) लगाउँछौं, त्यसरी नै यस्ता सडकमा लाउन सक्छौं।

बाटोको छेउमा गाडी खस्न नदिन राखिने संरचनालाई ‘रोडसाइड ब्यारियर’ भनिन्छ। यही ‘रोडसाइड ब्यारियर’ पर्याप्त नभएका कारण त्यस्ता पहाडी र घुम्ती बाटामा धेरै गाडी सिधै खोँच वा नदीमा खस्छन्। सडक निर्माण गरेर मात्र हुँदैन, त्यसमा कसरी सुरक्षित यात्रा गराउन सकिन्छ भन्नेमा गम्भीर हुन जरूरी छ।

दुर्घटना कम गराउन हामीले गति सिमितको मापदण्ड त राखेका छौं। त्यसको मापन भने छैन। यसका निम्ति गति तोकेर ठाउँ–ठाउँमा जाँच व्यवस्था गर्न जरूरी छ।

दुर्घटनामा एक पक्ष मात्र दोषी हुँदैन।

चालक वा गाडीको अवस्थालाई मात्र दोष थुपार्नुभन्दा सडकको अवस्था, त्यसको निर्माण प्रविधि–डिजाइन र, नीति नियम पालना र अनुगमनमा ध्यान दिनुपर्छ। यति हुने हो भने, हामीले कोरियाकै जस्तो सुरक्षा व्यवस्था त नपाउँला, तै महिनैपिच्छे दुर्घटनाका समाचार सुन्न भने अवश्य कम हुनेछ।

(गैरे नेपाल इन्जिनियर एसोसिएसन पूर्वाधार विकास समितिका सह-अध्यक्ष हुन्)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.