करिब दुई हजार वर्ष पुरानो ईतिहास भएको काठमाडौं उपत्यका नेपाल र सम्पूर्ण दक्षिण एसियाकै सबैभन्दा पुरानो सहर मध्येको एक हो। काठमाडौं उपत्यका भित्र एक महानगरपालिकासहित २१ वटा नगरपालिका घोषणा भइसकेको छ।
करिब ३५ लाखको हाराहारी जनसंख्या भएको यो क्षेत्र एसियामै उच्च जनसंख्या बृद्धिदर (करिब ५%) र द्रुत सहरीकरण भएको क्षेत्र मध्येको एक हो। सांस्कृतिक तथा पुरातात्विक हिसाबले धनी क्षेत्रमा ९ स्थानहरू युनेस्को विश्व सम्पदा सूचीमा पर्छन्।
ऐतिहासिक सहर भएपनि काठमाडौं उपत्यकाको परिवर्तन तथा आधुनिकरणको सुरूवात राणा शासनको अन्त्यसँगै १९५० को दशकबाट सुरू भएको पाइन्छ। खासगरी ७० को दशकमा सरकारी संस्थाहरुको स्थापना र विकास, पर्यटन क्षेत्रको विस्तार र प्रचार, गलैंचा उद्योगको स्थापना तथा द्रुत विकास र अन्य ब्यापारिक कारणले काठमाडौं उपत्यका नेपालीको आकर्षणको केन्द्र हुनपुग्यो।
७० कै दशकमा बनेको चक्रपथले पनि काठमाडौंको शहरीकरणमा सहयोग गर्यो। अझै ९० को दशकमा सुरू भएको द्वन्द्वले काठमाडौंतर्फ जनसंख्या चाप बढ्यो भने सहज बैदेशिक रोजगारको कारण भित्रिएको विप्रेषणको ठूलो हिस्सा उपत्यकाका घर जग्गामा लगानी भयो। काठमाडौंको सहरीकरणको बिस्तार अझ उच्च गतिमा भयो।
सन् १९५० मा काठमाडौं उपत्यकाको करिब १% क्षेत्रफल मात्र भवन तथा अन्य पूर्वाधर २०१५ मा करिब १५ % पुगेको छ। काठमाडौं महानगरपालिका भित्रको मात्र क्षेत्र हेर्ने हो भने करिब ७५% जमिन भवन तथा अन्य पुर्वाधरले ढाकेको छ।
यो अवधिमा काठमाडौं उपत्यकाको जनसंख्या ५००% भन्दा धेरै रह्यो। नेपालको सन्दर्भमा उपत्यकाको जनसंख्या धेरै भएपनि अन्य मुलुकका ठूला सहरको तुलानामा काठमाडौंको जनघनत्व न्यून हो।
काठमाडौंलाई ठूलो मेट्रो सहरको रूपमा विकास गर्ने, मेट्रो रेल चलाउने, बिआरटीको विकास गर्ने, केवलकार चलाउने, बहिरी चक्रपथ बनाउने, विभिन्न ठाउँमा ओभरपास बनाउने, मेलम्चीको पानी घर-घरमा जोड्ने, फोहोरमैलाबाट विद्युत निकाल्ने, नि:शुल्क वाइफाइको सहर बनाउने जस्ता परिकल्पना राज्य र जनस्तर दुबैबाट भएका छन्। यस्ता विषयमा सम्बन्धित विज्ञले बहस पनि निरन्तर चलाईरहेका छन्।
माथि उल्लेखित सेवा-सुविधा तथा पूर्वाधारको उपयोगिताको प्रमुख आधार भनेकै सुरक्षित सहर हो। काठमाडौं उपत्यका प्राकृतिक तथा मानवीय विपद्का आधारमा उच्च जोखिमयुक्त स्थान हो।
यस सहरलाई हरेककोणबाट सकेसम्म सुरक्षित बनाउन समयमै काम सुरू गरेनौं भने ठूला पूर्वाधार तथा आधुनिक सेवा-सुविधाले झन् ठूलो बिपद् र नोक्सानी निम्ताउने निश्चित छ। त्यसकारण यस लेखमा काठमाडौं उपत्यकाका सम्भावित जोखिमहरू र यस्ता जोखिमलाई न्यूनीकरण गर्न अवलम्वन गर्न सकिने उपायका बारेमा ब्याख्या र विश्लेषण गरिएको छ।
अनियन्त्रित तथा अवैज्ञानिक सहरीकरणका कारण उपत्यकामा बस्ने करिब ९०% जनता कुनै न कुनै किसिमको एक भन्दा बढी जोखिममा परेको हालैको एक अध्ययनले देखाएको छ। आजभन्दा करिब ४० वर्ष अगाडिसम्म भुकम्पीय हिसाबले जोखिमपूर्ण भएता पनि काठमाडौं वातावरणीय हिसावले बस्न योग्य र प्राकृतिक हिसावले सुन्दर सहर थियो। प्राकृतिक तथा मानवीय विपद्का हिसाबले असुक्षित थिएनन्। तर विगतका दुई-तीन दशकमै काठमाडौंको अनुहारमा व्यापक परिवर्तन आयो। उपत्यकाका नदिनालामा बग्ने पानीलाई मानिसले दैनिक उपभोगका निम्ति प्रयोग गर्थे भन्ने कुरा अहिले नयाँ पुस्ताका लागि दन्ते कथा भएको छ।
उच्च जनसंख्या वृद्धि र अनियन्त्रित तथा अवैज्ञानिक शहरीकरणले काठमाडौं उपत्यकामा विभिन्न भौतिक, सामाजिक तथा वातावरणीय समस्या तिब्र गतिमा बढेको छ। यसले जन्माएका प्रमुख समस्या हुन:
१) जल तथा बायू प्रदुषण,
२) नदिनाला तथा सार्वजनिक स्थानहरु अतिक्रमण,
३) फोहोरमैला ब्यवस्थापन,
४) अब्यवस्थित तथा उच्च सवारी साधन,
५) सांस्कृतिक तथा पुरात्वात्तिक सम्पदाको बिनाश,
६) जमिनको अनुचित उपयोग,
७) अब्यवस्थित तथा गुणस्तरहित निर्माण,
८) नदीनाला, पोखरी तथा अन्य सार्वजनिक स्थानहरुको अतिक्रमण,
९) बढ्दो सुकुम्बासी वस्ती,
१०) आधारभुत सेवा तथा सुविधाको अभाव र
११) शहरी विकासका समस्याहरू लगायतका अन्य धेरै समस्याहरू।
उल्लेखित कतीपय समस्याहरु एकअर्कोमा अन्योन्याश्रित पनि छन्। यस्ता समस्याले काठमाडौं उपत्यकालाई संसारकै असुरक्षित शहर तथा राजधानीको रूपमा लिने गरिन्छ। सुरक्षित शहर बनाउने योजना केवल अहिले देखा परेका जोखिमको न्युनिकरण तथा बिपद् पछिको पूर्वतयारीमा मात्र सिमित हुने होइन। यसका निम्ति समग्र उपत्यकाको दिगो विकासका लागि योजना बनाउनु र कार्यान्वायन गर्नुपनि हो। जलवायु परिवर्तनले भविष्यमा हुन सक्ने कठिनाईलाई पनि यसले समेट्न सक्नुपर्छ।
अव्यवस्थित बस्ती, असुरक्षित भौतिक संरचना र योजनाबिहीन निर्माण काठमाडौं शहरको एकमुष्ट परिचय हो। बिगतका अनुभव तथा बिभिन्न अध्ययनले देखाए अनुसार जोखिमको आधारमा उल्लेख गर्नुपर्दा काठमाडौं उपत्यकामा हुने प्रमुख सम्भावित बिपद्हरुमा
१) भुकम्प,
२) वाढी तथा डुवान,
३) आगलागी, र
४) भु-क्षय तथा पहिरो हुन्।
पहिले, भुकम्पको जोखिमलाइ हेरौं। विगत केहि वर्षदेखि नै धेरै बिज्ञले १९३४ को जस्तै भूकम्पले काठमाडौं हल्लाएमा यहाँका करिव ६०% भवन र ५० % पुलहरू भत्कने तथा विद्युत र संचार सेवा पूर्ण रूपमा बन्द हुने भविष्यवाणी नै गरेका थिए। तर यस बर्षको भुकम्पमा बिभिन्न कारणले परिस्थिति तथा प्रक्षेपण अनुसारको क्षति भएन। यति भन्दा, भुकम्पीय दृष्टिकोणले हामी उच्च जोखिममा छौं भन्ने कुरा हामीले आत्मसात गर्न सकेनौ भने हामीले भविष्यमा ठूलो क्षती भोग्नुपर्छ भन्ने कुरामा द्विविधा भने छैन।
काठमाडौं उपत्यका भुकम्पीय दृष्टिले उच्च जोखिममा हुनुको प्रमुख कारण निम्न रहेका छन :
१) भवन आचार संहिता पालना नगर्नू,
२) भु-उपयोग नीति नहुनू,
३) पुराना भवनको विस्थापन वा प्रवालिकरण नगर्नू,
४) योजनाबद्ध शहरीकरण नहुनू,
५) माटोको परीक्षण गरी स्थान बिशेष डिजाईन गर्ने चलन नहुनू,
६) बिपद्को बेला महत्वपूर्ण मानिने स्कुल, अस्पताल जस्ता सरंचनानै जोखिमयुक्त हुनू र
७) बिपद् पछिको पूर्वतयारी नहुनू।
२०४५ सालको भूकम्पपछि राष्ट्रिय भवन निर्माण संहिता र त्यसलाई लागू गर्न भवन ऐन र नियमावली बनाइयो। तर राज्यको इच्छाशक्तिको अभाव (नियमीत अनुगमन नगर्दा) र जनचेतनाको अभाव तथा सम्भावित जोखिमको अवमुल्यन गर्ने परिपाटीले गर्दा भवन निर्माण संहिता कार्यान्वयनमा आउन सकेको छैन। हालै आएको भूकम्पबाट उपत्यकामा ठूलो जनधनको क्षति बेहोर्नुको एउटा प्रमुख कारण पनि यही नै हो।
विपद् आइलागे सबैभन्दा पहिला उद्धारको जरूरी पर्छ। उपत्यका हकमा भूकम्पपछिको उद्धार कार्य भूकम्पभन्दा पनि खतरनाक हुने देखिन्छ। ठूलो कम्पनपछि सहरको जीवित जनसंख्याको सुरक्षाका लागि मात्र होइन, शव संकलन गर्न र घाइतेको उपचार गर्न खुला स्थानको आवश्यकता पर्छ। तर, अनियन्त्रित तथा अवैज्ञानिक सहरीकरणले उपत्यकाको ३५ लाखभन्दा बढी जनसंख्यालाई धान्न सक्ने खाली ठाउँ नै छैन। परापूर्वकालदेखि रहँदै आएका खाली स्थानहरू पनि नासिदै गएका छन्।
चक्रपथ भित्रका सबै चौर तथा अन्य खाली ठाउँलाई जोड्ने हो भने त्यसको क्षेत्रफल ५ वर्ग किलोमिटर पनि नभएको जानकारको अनुमान छ। चक्रपथ भित्रको अनुमानित २० लाख जनसंख्याका लागि त्यो ठाउँ अपर्याप्त हो। त्यसमा ठेलमठेल गरी मान्छे भर्ने हो भने पाँच लाखभन्दा धेरै अट्न सक्दैनन्। भारत, पाकिस्तान, टर्की, हाइटी, चिली, जापान, अमेरिका आदि विभिन्न देशमा गएका भूकम्पले देखाएको निर्विकल्प सत्य भनेको हामीले बनाएको कमजोर संरचना नै भौतिक तथा मानवीय क्षतिको प्रमुख कारण हो।
दोस्रो, बाढी तथा डुवानको जोखिमलाई हेरौं। काठमाडौं उपत्यकाको जलग्रहण क्षेत्र (क्याचमेन्ट एरिया) करिब ६२५ बर्ग किलोमिटरको हाराहारीमा छ। वार्षिक १३५० मिमी पानी पर्ने यो उपत्यकामा करिब ७५% जती वर्षा मनसुनको ३-४ महिनामा हुन्छ। बढ्दो शहरीकरणको कारण वर्षा भएको धेरै जसो पानी जमिनमुनी रिचार्ज हुन नसकी, भेल बन्दै खोलानालामा गएर मिसिन्छ।
काठमाडौं उपत्यका धेरै जस्तो खोलाहरू उपत्यकाको केन्द्र भाग तिर बगेका छन् र अन्त्यमा मध्य भाग हुँदै बगेको बागमतिमा समाहित हुन्छन्।
विगतमा सन् १९८१ मा लेले, १९९३ मा बागमती, २००२ मा बल्खु खोला र २००६ मा गौशाला क्षेत्रमा ठूलै क्षति हुने गरी बाढी आएको थियो। सन् २००२ मा बल्खुखोलामा आएको बाढीले गर्दा त्यस आसपासका करिब २८ जनाको ज्यान गएको र करिब ५५ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको थियो। बढ्दो शहरीकरण र नदिनाला अतिक्रमणको कारणले काठमाडौं उपत्यकामा बाढीको जोखिम बढ्दो छ।
पानी निकासको लागि ढल तथा नाला राम्रो प्रबन्ध नभएको कारणले वर्षातको समयमा मध्यमखालको वर्षा हुँदा पनि काठमाडौं उपत्यकाको शहरी भागका जमल, पुतलीसडक जस्ता धेरै ठाँउमा पानी जम्न गई केही घण्टासम्म जनजीवन नै अस्तब्यस्त बन्ने गर्छ।
यस्ता घटनाहरु बर्षे पिच्छे बढ्दो क्रममा छ। केही वर्ष अघिसम्म काठमाडौंमा डुवानको खासै समस्या थिएन। तर निरन्तर रुपमा बागमती, धोबिखोला, विष्णुमती, टुकुचा, मनोहराजस्ता नदी-खोलाहरुको अतिक्रमण गरेर दाँया र बाँया किनारमा निर्माण गरिएका सडक र पानीको उच्च बहाबलाई बेवस्ता गरी निर्माण गरिएका होचा तथा छोटा पुलहरुको कारण डुवानको समस्या देखिएको छ।
यस वर्षको मनसुनमा सामान्य वर्षा हुँदा पनि बबरमहल, बिजुलीबजार, शान्तिनगर, तिनकुने तथा ललितपुर र भक्तपुरका धेरै क्षेत्रहरु डुवानमा परेका थिए।
जल उत्पन्न प्रकोप विभागले २००९ मा काठमाडौंमा डुवानको जोखिम सम्वन्धी अध्ययन गरेको थियो। उक्त अध्ययनले काठमाडौं उपत्यकाको १०% भु-भाग डुवानमा पर्ने उच्च सम्भावना र ३३% भु-भाग डुवानमा पर्ने मध्यम सम्भावना रहेको देखाउँछ। त्यही अध्ययनले ५० वर्षमा एक पटक आउन सक्ने बाढी सहज रूपमा बग्नको लागि मनोहरा, बागमती, धोबी खोला, बिष्णुमती, गोदावरी, हनुमन्ते र बल्खु खोलाको क्रमश: करीब ४२-१३० मिटर, ५१-२०५ मिटर, ३१ मिटर, २८-८३ मिटर, १३-५१ मिटर, ७८ मिटर र ५० मिटर खुल्ला बहाब (चौडाई) हुनुपर्ने भनेको छ।
तर बिडम्वना, सरकारको अर्को निकायले उक्त अध्ययनको धज्जी उडाउँदै ती नदिनालामा चौडाईलाई १० मिटर भन्दा पनि कममा खुम्चाइएको छ। ती नदीनालामा कुनै संरचना जस्तै पुल, दाँया-बाँया सडक आदि निर्माण गर्दा त्यस नदीमा १०० वर्षमा एकचोटी आउनसक्ने सबैभन्दा ठूलो बाढीलाई अनुमान गरेर त्यही अनुसार डिजाईन गर्नुपर्ने हो। तर त्यस्तो नगरि जथाभावी ठेकेदारको भरमा वा जलबिज्ञान (हाइड्रोलोजी ) लाई बेवास्ता गरी निर्माण गरेको देखिन्छ।
तेस्रोमा आगलागीको सम्भावनालाइ हेरौं। काठमाडौं उपत्यकामा हुन सक्ने अर्को ठूलो बिपद् भनेको आगलागी हो। सन् १९७३ मा सिंहदरबारमा भएको आगलागीले यसको धेरै भाग नष्ट गरेको थियो। त्यसपछिको पुननिर्माण अझै सकिएको छैन। तत्कालिन प्रधानमन्त्रीले सिंहदरबारमा आगलागिपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए।
अरु बिपद् तुलनामा आगलागीले गर्ने भौतिक क्षति धेरै हुन्छ भनिन्छ।
काठमाडौं उपत्यका आगालागीको उच्च जोखिम हुनुका कारण निम्न हुन्:
१) साँघुरा सडक तथा गल्ली,
२) घना बस्ती,
३) पानीको अभाव,
४) निम्न गुणस्तरका विद्युतीय सामाग्री (ट्रान्सफर्मर, तार, हिटर, फ्यूज आदी), ५) अब्यवस्थित तथा असुरक्षित पेट्रोल तथा डिजेल पम्पहरू,
६) आगो नियन्त्रण गर्ने साधन र जनशक्तिको अभाव र
७) भवन स्वरुप र निर्माण सामाग्री।
राज्यले बिगतमा आगालागीलाई बिपद्को रुपमा लिएको थिएन। सन् २०१० मा नेपाल सरकारले आगोबाट हुने जोखिमलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको छ।
आगलागीलाई मुख्य (प्राइमरी) जोखिम र सहायक (सेकन्डरी) जोखिमरूपमा लिने गरिन्छ। जस्तै, भुकम्प जान साथ पनि बिभिन्न कारणले आगालागी हुने सम्भावना हुन्छ यसलाई सहायक (सेकन्डरी) जोखिममा लिइन्छ।
काठमाडौं जस्तो भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रमा आगालागीको जोखिम पनि उच्च नै छ।
संसारमा कतै पनि पेट्रोल पम्पहरु घनाबस्ती तथा बजारको बिचमा राखिदैन। काठमाडौंमा खोलिएका बिना मापदण्डका पेट्रोल पम्पमा कथमकदाचित आगो पुग्यो भने त्यसले हाम्रो कल्पनाभन्दा बहिरको स्थिति ल्याउन सक्छ।
यस कुरालाई राज्यका सम्बन्धित निकायहरु बेवास्ता गरेका छन्। असन र मंगलबजार जस्ता घना आवादी भएका स्थान, काठे घरहरु, मानिस ओहोरोदोरो गर्न गाह्रो हुने गल्लीहरु, र पानीको ठूलो र भरपर्दो श्रोत नभएका स्थानहरु काठमाडौंमा धेरै छन्। यस्ता स्थानहरू जहिले पनि आगोलागीको जोखिममा रहन्छन्।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रत्येक २० हजार जनसंख्यालाई १ अग्नी-नियन्त्रक र २८ हजार जनसंख्यालाई १ वारुणयन्त्र चाहिन्छ। तर करिब ३५ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा १० वटा वारुणयन्त्र (दमकल) पनि तयारी अवस्था छैनन्।
सन् १९३७ मा राणा प्रधानमन्त्री जुद्धशमशेरले आगलागी नियन्त्रणका निम्ति स्थापना गरेको बरुण यन्त्र कार्यालयको स्थिति आज ७८ वर्षपछि पनि साधन श्रोत हिसाबले खासै बढोत्तरी भएको छैन। त्यसको बिपरित काठमाडौंको जनसंख्या तथा अवासको कैयौ गुना बृद्धि भएको छ।
आगो निभाउन प्रयोग गर्नुपर्ने फोम नामको रासायनिक पदार्थ (वा अन्य रासायनिक पदार्थ) प्रयोग कम हुँदा भएका वारुणयन्त्रहरुले पनि प्रभावकारी काम गर्न सक्दैनन्। करिब ४-५ हजार लिटर मात्रै पानी राख्न मिल्ने दमकल भएकाले यति थोरै पानीको सहारामा मात्रै आगो निभाउन सकिँदैन।
विशेष प्रकारको ग्यास प्रयोग गर्दा ठूलो क्षेत्रमा लागेको आगो निभाउन सकिने भए पनि प्राविधिकको अभावमा ग्यास प्रयोगमा ल्याउन नसकिएको सरकारी निकायको दाबी रहदै आएको छ।
समयमै बारुणयन्त्र नपुग्दा ठूलो क्षति भएको घटनाबाट हामी अनभिज्ञ छैनौं। सके सबै ठाउँमा बारुणयन्त्र र नभए ट्यांकर वा जे–जे उपलब्ध हुनसक्छन् सबै साधन तयारी अवस्थामा राख्नू आवश्यक छ। यसका लागि सरकारी निकायले तदारुकता देखाउनुपर्छ। साधन भएर मात्र हुदैन, जनशक्तिको उत्तिकै खाँचो पर्छ।
आवश्यक साधन स्रोत र जनशक्ति तयारी अवस्थामा रहने हो भने आगलागी शुरु भएको केही समयमै नियन्त्रणमा लिने र क्षति न्यून गर्ने सम्भावना रहन्छ।
काठमाडौं उपत्यका २०-२५ तलाका भवन बनिसकेका छन् र बन्ने क्रम बढ्दो छ। तर बिडम्वना भन्नु पर्छ हामी सँग भएको साधनले केबल १० तलासम्मको आगो नियन्त्रण गर्न सकिन्छ। सार्वजनिक तथा बहुतले भवन सानो किसिमको अग्नी नियन्त्रण गर्ने साधनहरु अनिवार्य गरिनुपर्छ।
गाउँ घरमा तथा शहरीबस्तीमा लाग्ने आगलागी रोक्न नेपालमा करिब १० वर्ष अगाडिदेखि नै त्रिभुवन विश्वविद्यालय तथा नास्टका प्रकोप जोखिम न्यूनीकरण विधिद्वारा सरल तथा सस्तो प्रबिधि सरकार सामु समय समयमा पेश गर्दा पनि सरकारले अहिलेसम्म त्यसको लागि उपयुक्त कदम नचाल्नु भनेको एउटा दु:ख लाग्दो अवस्था हो।
आगोलागीको जोखिम गर्न धुँवा आउना साथ वा आगो लाग्नासाथ सूचना-चेतावनी दिने सामान्ययन्त्र विश्वभरी प्रचलित छ जुन आर्थिक हिसाबले पनि त्यती महँगो पर्दैन र प्राबिधिक हिसाबले पनि सरल छ। प्रत्येक घर-घरमा त्यस्ता यन्त्रको अनिवर्यता गर्न सकेका यसको जोखिम कम गर्न सकिन्छ। तर सरकारले कुनै वास्ता गरेको छैन।
अब भू-क्षय तथा पहिरोको जोखिम हेरौं। नेपालका पहाडी भेगको तुलानामा काठमाडौं उपत्यकामा भु:क्षय तथा पहिरोहरु जोखिम कम नै हो। तर पनि बिशेष गरी काँठ (उपत्यकाको परिधि आसपास) क्षेत्रमा पहिरोको ठूलो जोखिम छ। त्यस्तै उपत्यकाको भित्री भुभागमा पनि धेरै ढिस्को र खोंच (गहिरो) भुभाग भेटिन्छ। त्यस्ता ढिस्को भएको धेरै ठाउँमा घरहरु भनेका छन् जहाँ जुनसुकै बेला पनि पहिरो जान सक्छ।
नैकाप, कीर्तिपुर, बल्खु र भैंसीपाटी लगायतका स्थानहरुमा ढिस्को बगेर वा पहिरो गएर घरहरु भत्केका समाचार केही वर्षदेखि हामी सुन्दै आएका छौ।
काँठ क्षेत्रका धेरै बस्तीहरु पुरानो भीमकाय पहिरोहरुमा बसेका छन्। उदाहरणको रुपमा काठमाडौँको दक्षिणपट्टि रहेको छैमले गाउँलाई लिन सकिन्छ । पुरानो भीमकाय पहिरो भएको ठाउँमा प्रसस्त मात्रामा माटोको तह हुने भएकोले जमिन मलिलो हुने भएको सजिलै बस्ती स्थापना र विकास हुन्छ।
युएन ह्याबिटाटको रिपोर्ट अनुसार सन् १९७१ देखि २०११ सम्म काठमाडौं उपत्यकामा गएका करिब ८३ वटा पहिरोहरु १०४ जनाको ज्यान गयो, करिव ९०० जना प्रत्यक्ष प्रभाबित भए र करिब ४० करोड बराबरको भौतिक क्षती भयो।
काँठ (उपत्यकाको बाहिरी भुभाग) का करिब २२ गाउँ विकास समितीहरु (हाल नगरपालिका घोषणा भइसकेको) पहिरोको जोखिम रहेको एक अध्ययनले देखाएको छ। लेले, चाल्नाखेल (२००१), मातातिर्थ (२००२), तारेभिर (२०१५) र दहचोक आदि काठमाडौं उपत्यकाका केही चर्चित पहिरोका उदाहरण हुन्।
विकासमा नाममा अन्धाधुन्ध बनाइएका बाटो तथा अन्य संरचना र प्राकृतिक श्रोतको अधिक दोहनले गर्दा भुक्षय तथा पहिरो जाने दर बढ्दो देखिन्छ।
काठमाडौं उपत्यकालाइ सुरक्षित बनाउन हामीसँग सहि नीति र इच्छा शक्ति दुवैको अभाव छ भन्ने कुरा प्रष्ट देखिन्छ। समयमै काम नगर्दा उपत्यकामा विपदको जोखिम बढ्दो छ। तर जोखिम घटाउन र सहरलाइ सुरक्षित राख्न अझै पनि काम गर्न सक्छौं। यस सम्वन्धमा म अर्को लेखमा चर्चा गर्नेछु।
(लेखक क्यानाडाको युनिभर्सिटी अफ अल्बर्टामा विद्यावारिधि गर्दैछन्)