त्रिभुवन विश्वविद्यालयमा नव–नियुक्त उपकुलपति तिर्थराज खनियाँलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाएका टर्कीका रिसर्चर डा. फेरित किलिकायाले खनियाको नियुक्ति कुनै पनि शैक्षिक संस्थाका लागि दूर्भाग्यपूर्ण हुने बताएका छन्।
सेतोपाटीसँग इमेल संवादमा मिडिलइस्ट टेक्निकल युनिभर्सिटी टर्कीमा अध्यापन गर्ने किलिकायाले भने,‘उनी जस्ता विश्वविद्यालय प्रमुखले कसरी मेहनत र इमान्दारिताको बारेमा बोल्न सक्लान्। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उनी कसरी उदाहरण बन्न सक्लान्।’
नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियेसन (नेल्टा) द्वारा प्रकाशन हुने जर्नलमा सन् २००६ छापिएको खनियाको लेखको आधा भाग र निष्कर्ष किलिकायाको लेखबाट जस्ताको तस्तै सारिएको थियो।
उक्त लेख देखेपछि आफू स्तब्ध भएको उनले बताए।
खनियाले यस्ता गल्ती नदोहर्याउने प्रतिबद्धता गरून् भन्ने चाहेको तर उनले त गल्तीसमेत स्वीकार नगरेकाले आफू दुःखी भएको उनले बताए। ‘गल्ती गर्नु मानवीय गुण हो। तर गल्ती समेत स्वीकार नगर्ने व्यक्ति विश्वविद्यालयको प्रमुख हुँदा मेहनत र इमान्दारिताको क्षय हुन्छ,’ उनले भने।
त्यसपछि उनले केही कानुनविदसँग खनियाविरुद्ध मुद्दा हाल्न छलफल गरेको, तर लामो र महंगो कानुनी प्रक्रियाका कारण कुनै कारबाही गर्न नसकेको बताए।
किलिकायाले जर्नल प्रकाशित गर्ने नेल्टासँग भएको आफ्नो इमेल संवाद सेतोपाटीलाई पठाए र भने, ‘नेल्टाले चाहिँ गल्ति स्वीकार गर्यो।’
उक्त इमेल संवादमा नेल्टाले प्रकाशित गर्ने जर्नलको सम्पादक मण्डलीले प्लेजियरिजम भएको स्वीकार गर्दै किलिकायासँग माफी मागेको छ। सम्पादक मण्डलीले किलिकायाको कुरा खनिया समक्ष राखिदिने पनि आश्वासन दिएको थियो।
तर खनियाले उनीसँग सम्पर्क गर्न नमानेको किलिकायाको भनाइ छ।
चोरी गरेर लेखेको लेख अझै इन्टरनेटमा उपलब्ध रहेकाले आँफु अझै पीडित रहेको किलिकायाको भनाइ छ।
दोष जर्नल छाप्ने नेल्टाको : खनिया
तर, खनियाले दोष भने नेल्टाको सम्पादक मण्डलीलाई लगाए। ‘त्यसमा रेफरेन्स छुटेछ। प्रश्न उठ्यो। तर, यसका लागि सम्पादकीय टोली नै जिम्मेवार छ,’ उनले भने। उनका अनुसार ‘पियर रिभ्यू’ नगरी लेख छाप्नु नेल्टा कै गल्ति हो।
अझ, आफूमाथि प्लेजियरिजम सम्बन्धी प्रश्न उठ्नु स्वाभाविक भएपनि अहिले आएर उक्त मुद्दा उठ्नुको उदेश्य आफूलाई उपकुलपति हुनबाट रोक्ने षडयन्त्र भएको खनियाको तर्क छ।
‘यस्ता प्रश्न उठ्नु स्वाभाविक हो र उठ्नु पर्छ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘तर, मेरो कुरा अहिले कै खास समयमा नै यो मुद्दा किन उठ्यो भन्ने मात्र हो।’
उक्त लेख ‘एग्जामिनेसन्स फर लर्निंङ’ भन्ने पाठ्य सामग्रीमा पनि समाविष्ट भएको र त्यसमा चाहिँ रिफरेन्स दिएको उनले दावी गरे।
एशोसियेसनका जर्नल नेप्जोल भन्ने अनलाइन जर्नल पोर्टलमा राखिएपछि मात्र टर्कीका लेखक फेरित किल्कायाले प्लेजीयराइज्ड भएको थाहा पाएका थिए। सामान्यतयाः आफ्नो लेखलाई अन्य सोधकर्ताले जति धेरै उद्धृत गर्छन् आफ्नो रिसर्चको महत्व उति बढ्छ। तर, फेरितले इन्टरनेटमा सर्च गरेपछि थाहा पाए उनको रिसर्चबाट अंक त खनियाले पो बटुल्दै रहेछन्।
पश्चिमी देशहरुमा यस्ता आरोपलाई गम्भीर मानिन्छ र पदबाट राजीनामा दिनुपर्ने चलन छ। तर यहाँ सरकारद्वारा खानिया उपकुलपति जस्तो पदमा नियुक्त भएका छन्।
प्राज्ञले नभई दलले नियुक्ति गरेकाले नियुक्तिमा प्लेजियारिजमको मुद्दा गौण: प्रा. विद्यानाथ कोइराला
प्राध्यापक विद्यानाथ कोइरालाले उक्त मुद्दालाई दुई तरिकाले हेर्नुपर्ने बताए। पहिलो, उनको नियुक्ति प्राज्ञले नभई राजनीतिक दलले गरेका बौद्धिक सम्पति चोरीको मुद्धा गौण भयो। दोस्रो, खनियाले आरोपलाई एक प्रकारले स्वीकारी गरिसकेपछि उपकुलपतिमा नियुक्ति भैसकेकाले अब पाखुरा सुर्किनुको पनि अर्थ रहेन ।
‘उहाँको व्यक्तित्व कस्तो थियो र अहिले कति बदनामी भयो। यसबाट अब सायद विद्यार्थीहरुले सिक्लान बौद्धिक चोरी भनेको के हो। उहाँले पनि विद्यार्थीले सिकाउनुहोला,’ कोइरालाले भने।
खनियालाई प्रसाशनिक रुपले निपूर्ण पनि मानिन्छ l ‘उहाँका राम्रा पक्षहरु पनि छन् र राम्रा काम पनि गर्नु भएको छ l अब उहाँले नराम्रालाई छाडेर राम्रा काम गर्नु हुन्छ भन्ने विश्वास गरौँ,’ कोइरालाले थपे l
२०४९ सालमा उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्ष भएपछि खनियाले आफ्नी श्रीमती सावित्री देवी खनियालाई उप-नियन्त्रकमा जागिर लगाएको आरोप पनि लागेको छ। उक्त नियुक्ति ठूलै विवादमा परेको थियो। नेपाली कांग्रेसमा राजनीति गर्ने खनियाको उपकुलपतिमा नियुक्तिको मुख्य योग्यता भनेको उनको राजनीतिक पृष्ठभूमि नै थियो।