फुङ्ग उड्यो, ह्वास्स आयो। अगाडि विस्तारित सडक छोपियो। धुलै धुलो। कणै कणको कुहिरोमा हिँड्दा कोही किन नअल्मलियोस्? मास्क र गगल्सले पनि केही लछारपाटो लाउन सक्दैन अहिलेको काठमाडौँ अर्थात् कणमाडौँ अर्थात् धुलोमाडौँमा पैदल यात्रुलाई।
डाङ्डाङ् डुङ्डुङ् भत्काइरहेको हुन्छ कतै, कतै तिखा निर्मम छडहरु तन्किरहेका हुन्छन्। सडकपेटी त सबभन्दा अतिक्रमित छ यहाँ। सडकमा निस्केपछि कोलाहलबाट जीऊ जोगाउन सानोतिनो ज्यान आन्दोलनै गर्नुपर्ने हुन्छ। ध्वनि र धुलोको मिश्रित शासन प्रणाली काठमाडौँको नवआधुनिक पहिचान भइसकेको छ।
पानी पर्लापर्ला जस्तो भएको बेला झन् गर्मी चढ्छ। त्यही मौकामा पश्चिमी आकाशतिर बादल हेर्दै मेरा पाइला सरेका सर्यै भए। बच्चाका पाइला कसैलाई नसोधी मामाघरतिर लम्किन्छन् नि। उपत्यका पसेको अढाइ दशकभन्दा बढी वर्षहरुमा मेरा पाइला सबभन्दा बढी यतै सर्ने गरेका छन् जसका बारेमा म आज लेख्दैछु।
‘एक्सक्युज मी सर,’ बालाजु मोड कट्दा नकट्दै कसैले पछाडिबाट सडकछेऊको तीव्र गतिधारी म एक्लो डुकुलण्ठकलाई अंग्रेजी आवाज र अदवमा अह्रायो, ‘मे आई हेल्प यु?’
मेरो सेतो कपाल, ढाडे झोला र लामा पाइलारुपी पर्यटक भाँती देखेर साँच्चै सोधेको होला भन्ठानेँ। फर्केर हेर्दा त मेरो पुरानो साथी सपरिवार कारमा सवार भइरहेको रहेछ। ऊ स्टेयरिङमा हात समात्दै आफ्नी जीवनसाथी आशा र दुई साना छोरीसहित हाँसिरहेको थियो।
ज्योति जो ठमेलमा पर्यटन व्यवसाय गर्छ, भनेको पर्यटकहरुलाई यताउता डुलाइवुलाइ गर्छ। यतिखेर भने ऊ बालाजुदेखि केही किलोमिटर टाढा जंगलछेऊको कुनामा बनाइरहेको ‘फार्म हाउस’ तिर आफैँँ डुल्न गइरहेको रहेछ।
‘म त टुप्पातिर हिँडेको,’ मैले बाईबाई गर्ने निहुँले भनेँ।
‘म पनि जान्छु,’ ऊ तम्सियो र मलाई गाडीभित्र बस्न गाइड गर्यो। भन्यो, ‘मलाई पनि के निहुँ पाऊँ भन्ने भइराथ्यो परिवार छाडेर हिँड्न।’
नागार्जुन वनको घना तथा रसिलो उत्तरी पाखाबाट रसाउँदै झर्ने पानीको एउटा मुहानैछेऊ उसले धमाधम सजाइरहेको छ फार्म हाउस जहाँ परम्पराको झल्को आउने घर त बन्दै छ नै, त्यो जग्गामा गाईपालनदेखि मकै, बोडी र स्ट्रबेरीसम्म हुर्किरहेका छन्। पछाडिको भित्ताको जंगलबाट झ्याउँकिरी झ्याम्म यसरी कराउन थालिसकेको छ जसले डकर्मीहरुका छिनाको आवाज छोपिदिएको छ।
‘(डकर्मी) दाइहरुको दालभात तयार भइसकेको रहेछ, तपैँहरु पनि खाएरै जानोस्,’ आशाले भनिन्।
‘त्यसो भएपछि भरे फर्किन हतारिनु पर्दैन,’ मैले सही थापेँ।
निर्माणाधीन घरको भान्छाको भुईंमा लहरै पलेँटी कसेर थालमा रत्तिरहेका, पहाडबाट झरेका श्रमिकहरुको छेउ पुगेर ज्योतिले उकास्यो, ‘ल है नारनदाइ त बाहुन हो, तपाईंहरुले पकाएको शुद्ध भैंसीको मासुमात्र खान्छ।’
भरपेट खानापछि हामी मास्तिर जंगल लम्किनु थियो। हामी लम्किने डाँडाको बाटो पानी भेटिँदैन। तिर्खा लाग्ला। हिमालतिर फर्केको त्यही जंगलको उत्तरी पाखा भने रसिलो छ जहाँबाट झरेको ताजा पानी बोतलमा भर्दा फ्रिजबाट झिकेजस्तो भयो।
झोला कसेपछि ज्योतिले टाउकामा अंग्रेज टोप हाल्यो। मलाई पनि त्यस्तै शुद्ध पर्यटक देखाउने उपाय खोज्यो। आशाले छत्री ल्याइदिइन्। त्यसले मलाई पर्यटक हुनबाट त जोगायो तर खेततिर पो हिँडेको भान दिलाउने भयो।
ज्योतिको पछि लाग्नु भनेको कुनै पनि जोखिम कुनै पनि समय सामना गर्न मानसिक रुपमा तयार रहनु हो भन्ने मेरा यात्राहरुको अनुभव छ। यसपालि पनि उसले किन छाड्थ्यो मलाई पर्यटक बनाउन र आफू जान्नेसुन्ने गाइड टोपलिन? आफ्नो जग्गाको पछाडिको बाटो मलाई पछाडि लगाएर ऊ सिस्नोघारीमा पस्यो। उसले हिँडेभन्दा अर्को ठाउँ पाइला राख्न सकिन्थेन जहाँ सिस्नोका तिख्खर काँडाहरु स्वागत गर्न अहोरात्र उभिरहेका थिए।
बोलौँ भने झ्याउँकिरीले केही सुनिँदैन। फर्कौँ भने त्यही सिस्नोघारी छल्न सकिँदैन। म एक्लै डुल्न निस्केको गौप्राणीलार्ई आफ्नै साथीले यस्तो बाटो हिँडाएको छ जसमा उसलाई पछ्याउनुको अर्को विकल्प छैन। मलाई आफ्नो एम्बुसमा पारेर ऊ भने बाँदर मच्चिने हाँगा समात्दै ठाडो उकालो झाडीभित्र बाटो खोस्रिरहेको छ। यस्तोमा उसलाई अनेकथरि विचार फुर्छन्। विचारहरु सल्बलाउँछन् र डस्छन् अनि ऊ मलाई सुनाउन एउटा हाँगा समातेर उभिन्छ।
नागार्जुन वन शिवपुरी राष्ट्रिय निकुञ्जभित्र गाँसिएपछि प्रवेश टिकट काट्नुपर्ने भएको छ। सैनिकहरुको पहरा छ। नाम लेखाउनुपर्छ। परिचयपत्र पनि छाड्नुपर्छ, फर्केर आउने धरौटीस्वरुप। एकजना सैनिकले मेरो छत्रीतिर आँखा लाउँदै भोर्लाको पातको हो कि भन्ने सोधे। अब त्यो कसले केको पात टिपेर कहिले बुनेको हो भन्ने सोध्दै नसोधी मैले टाउकामा उनेको थिएँ भन्ने जवाफ दिँदै बस्ने कि उकालो लागिहाल्ने?
उकालोमा त फेरि ज्योति अघि लागिसकेको थियो। उसले चप्पल फुकालेर झोलाको पुछारको पेटीमा बाँध्यो र मैले हेर्दाहेर्दै नांगै खुट्टा हिँड्न थाल्यो। उसलाई त्यसरी हिँड्न गाउँको घर छँदा सानामा कसैले सिकाउनुपरेको थिएन। पर्यटन अनुभवको सार समेत सँगालेको भएर मलाई पनि आफ्नो शैलीमा हिँड्न सर्काउने सुर कस्दै भन्यो, ‘मैले कतिपय यस्ता विदेशी भेटेको छु जो हप्तौं लामो पदयात्रा गर्दा पनि ‘फुल एक्सरसाइज’ भएन भनेर पहाडमा खालि खुट्टा हिँड्छन्।’
मैले जुत्ता मोजा झोलामा नबाँधी धर पाउने गुञ्जायसै भएन।
रुखैरुखले छोपिएर, छेलिएर तिनका पात पतिंगरसहित शीतका थोपा सञ्चित गर्दै शीतल भइरहेका ढुंगा टेक्नु थियो। त्यसो गर्दा धर्तीको सोझो स्पर्श हुन थाल्यो। केही बेर त सन्तुलन मिलाउन लाग्ने नै भयो। पछिपछि हिँडाइको चालसँगै गति पनि बढ्दै, हुत्तिँदै जाँदा पहिलो ठाडो घाँटीको उकालो काटियो जतिखेर ज्योतिले काठमाडौं उपत्यकाका चारैतिर रहेका जंगललाई प्राकृतिक चिडियाखाना बनाउन सकिने विचार धाराप्रवाह रुपमा सुनाउन भ्याइसकेको थियो।
‘चिडियाखानाभित्र जनावर, चराचुरुंगी एक ठाउँ सीमित पारेर किन राख्ने?’ उसको भनाइ थियो, ‘तिनलाई प्राकृतिक वासस्थानमा फर्काएर सुरक्षित हुर्काउने हो भने हाम्रा बालबच्चाले यस्ता जंगलसँगको सम्बन्ध अर्कै बनाउन पाउँछन्।’
उसको उदाहरण थियो जस्तो रेड पाण्डा भनेर अंग्रेजीमा प्रचलित हाब्रेलाई यहीँ जंगलको पुछारतिर एउटा निश्चित क्षेत्रमा राखिदिन सकिन्छ। तिनलाई जोगाउन त्यस क्षेत्रमा जाली फैलाएर एउटा सीमाभित्र हाब्रे क्षेत्र बनाउन सकिन्छ। त्यसो गरियो भने उपत्यका वरिपरिका सबै जंगल ठूला प्राकृतिक चिडियाखाना हुन्छन् र पर्यटकीय स्थल हुन्छन्। हरेक जंगलको प्रवर्धन गर्न पाइन्छ। सहरबासीलाई चारैतिर डुल्न प्रेरित गर्न सकिन्छ।
दोहोरीलत्त रुखहरुले आकाश पनि सीमित पारिदिएका हुन्छन्। त्यै पनि कुनै कुनै मोडमा कताकति तल उपत्यका देखिन्छ। डेढ घन्टा उकालिएपछि भने एक चरण सहरको दर्शन गर्न पाइने चौर भेटिन्छ। घरहरु कमिलाका दुलाजस्ता देखिन थाल्छन्।
‘काठमाडौं धेरै रोगहरुको घर हो,’ उसले भन्यो, ‘मान्छे त्यसै थला परेर, ठूलो भुँडी पल्टाएर बसिरहेका हुन्छन्, तिनलाई कतै जाऊँ जाऊँ जस्तै लाग्दैन।’
ज्योति आफैं पनि सुस्तरी बोल्दैन। झ्याउँकिरीले उसलाई पनि चर्को स्वरमा बोल्न सम्झाइरहेको थियो। झ्याउँकिरीको एकोहोरो आवाजभित्र घना जंगलका सबै प्रकार र आकारका चरा, कीरा, जनावरको गतिविधि निस्तेज थियो। मानौं जंगलमा फेददेखि टुप्पासम्म झ्याउँकिरीबाहेक केही छैन। त्यो विशेष कीराको एकल सत्ता स्थापित भएको छ।
हामी फेरि झन् घना जंगलको उकालो प्रवेश गर्यौं। झ्याउँकिरी किन यस्तरी कराउँछ यो याममा भन्नेबारे हामी दुईबीच मनगढन्ते तर्कवितर्क भइरहे। पछि सहर फर्केर पर्यावरणविद् तीर्थबहादुर श्रेष्ठछेऊ आफ्नो जिज्ञासाको पोको खोलेँ। उनले बेलिविस्तार लगाएपछि थाहा भयो, भाले झ्याउँकिरीमात्र कराउँदो रहेछ। पोथीलाई सहवासका लागि निम्त्याउन। वर्षाद्अघि र पछिको याममा।
झ्याउँकिरीका चारवटामध्ये दुईटा प्वाँखमा अत्यन्त सुक्ष्म करौँतीका जस्ता धार हुन्छन्। ती धार यस्तो तेज गतिमा रगड्छन् जसले भ्वाइलिन रेटेझैं ठूलो आवाज दिन्छ। यो कीरामा ‘साउण्ड बक्स’ हुँदैन, ‘भोकल कर्ड’ पनि हुँदैन। पोथी कीराका अघिल्ला दुइटा खुट्टामा ‘सेन्सर’ हुन्छ जसले आवाज समात्छ। यस्ता कीराले आफ्नो जातिको आवाजमात्र छुट्याउँछन्, सुन्छन्।
कीरा अण्डाबाट लार्भा हुँदै प्युपाबाट निस्कँदा वयस्क भइसकेको हुन्छ। बच्चा भन्ने हुँदैन। ‘सानो पुतली ठुलो पुतलीको बच्चा होइन,’ श्रेष्ठले सम्झाए, ‘वयस्क निस्कने भएकाले यसले विपरीत लिंगी खोजिहाल्छ।’
हामीलाई भने धुईंपत्ताल जुकाले खोजिरहेको भेउ पाउन केही बेर लागेन। ज्योतिका दुबै खुट्टामा काला जुका सिउँसिउँती कतै लम्किरहेको, कतै रगत चुस्दै डल्ला परिरहेको त कतै चुस्ने नशा फेला पार्न खोजिरहेको देखेर म आत्तिएँ। उसले निहुरेर औंलाले टिप्दै, कुनैलाई प्याट्ट दुइटा औंलाले पड्काउँदै निकाल्यो।
उसले निहुरी परेपछि देख्ने त मेरै खुट्टाका जुका थिए जसको मलाई कुनै हेक्का थिएन। ओ लौ लौ... माई गड... हत्तेरी...मैले आफ्नो खुट्टाका जुका यसरी देखेँ, झट्ट हेर्दा एकैचोटि त्यति धेरै जुका पन्छाउने औंला र आँट पुग्ने नै थिएन।
एउटा टिप्न उभियो अर्को आइहाल्ने। चिसो उकालोमा स्याउँस्याउँती जुका लाग्ने त यामै हो। ममात्रै बढी उत्तेजित भइरहेको थिएँ। धन्न जुत्ता मोजा उनिएन। नत्र त भित्रभित्रै कहाँकहाँसम्म पुगेर कतिले डसिसकेका हुन्थे। तर के हुन्थ्यो र? कत्ति देशमा जुकालाई टोकाएर प्राकृतिक उपचार गर्ने पद्धति नै छ। भनाइ नै छ, यसले खराब रगत चुसेर हाम्रो शरीरको रक्त प्रणाली शुद्ध पारिदिन्छ।
‘हेर्नोस् है,’ श्रेष्ठले पछि मलाई अर्थ्याए, ‘जुका हाम्रो पर्यावरणको एउटा उत्कृष्ट सूचक हो। यो अत्यन्त संवेदनशील हुन्छ। हाम्रो हावा र पानी शुद्ध छैन भने जुका हुँदैन। जुका छ भने मान्नोस् त्यो ठाउँमा हावा र पानी दुवै शुद्ध छ। प्रदूषित छैन।’
नागार्जुनको पाँच किलोमिटर लामो उकालो पदयात्रा काठमाडौंको सबभन्दा पायकको प्राकृतिक स्थल त्यसै भनिएको होइन। र, यो त्यसै फेरि प्राकृतिक स्थलमा फर्किएको पनि होइन। श्रेष्ठ आफैं पनि तीन दशकअघि एउटा सर्वेक्षणमा सरिक हुँदा काठमाडौं उपत्यकातिर फर्केको वन सल्लाको मात्र थियो। अरु सबै मासिएको थियो।
संरक्षण प्रक्रिया थालेपछि माटो सुध्रिँदै आयो। अहिले त खस्रो, चिलाउने, कटुस, उत्तिस जस्ता यहाँका पुराना वृक्ष वनस्पति सबै फर्किरहेको आफैँ पनि वनस्पतिविज्ञ श्रेष्ठको अनुमान छ। राजा वीरेन्द्रले तीसको दशकको अन्त्यतिर यहाँ बस्ने गरी दरबार बनाउन लगाएपछि बालाजुदेखि स्थानीयबासी घुम्दै सजिलो उकालो उक्लिने बाटो छेकियो र निषेधित क्षेत्र बनाइयो। एउटा ठाडो उकालोमात्र विकल्पका रुपमा तय हुन पुग्यो।
पहिला संरक्षित क्षेत्र कहलियो, पछि निकुञ्ज बन्न पुग्यो। त्यसरी रुपान्तरित वनको बाटो हाम्रो आँखाअगाडि चिसो बाटोमा जुका भने ठिङ्ग उभिँदै शिकार खोजिरहेका थिए। मान्छेको गन्ध टाढैबाट पाउने हुनाले त्यसरी कतिखेर को आइपुग्ला र डसौंला भन्दै तन्केर बस्ने रहेछन्। सुरुसुरुमा सिकसिक लाग्ने भए पनि केही बेरपछि बानी बस्दै जान्छ।
जुका हटाउँदै जाने हो, नदेखिएको जुकाले जति चुसोस् त्यसले सञ्चो नै पार्छ भन्ने मनको सन्तोष लिएर हामी जामाचो टुप्पामा पुग्यौँ।
कमिलाको आकारका घरहरु देखिने काठमाडौँको भद्रगोल विस्तार हाम्रो आँखासामु थियो।
फर्किँदा झ्याउँकिरीको आवाज कतै रोकिएको थिएन। तिनले पोथी पाएकै रहेनछन्। जुकाले पनि चुस्न छाडेनन्, तिनीहरु ढाडिएकै रहेनछन्। ज्योतिका विचारहरु उसैगरी सल्बलाइरहेका छन्। झ्याउँकिरीले मात्रै उसलाई थोरै बोल्न गाइड गरिरहेका छन्।
‘मलाई सबैजना हिँड्ने बाटो फर्किन मन लाग्दैन,’ उसले भन्यो, ‘मलाई जस्तोसुकै भीर जसरी पनि झर्न सक्छु जस्तो लाग्छ। बाँदरले जे सक्छ मान्छेले नसक्ने हुँदैन। मान्छेले जति बाँदरले पो गर्न सक्दैन।’