कठै, मेयर साहेब!

बिद्यासुन्दरका सय दिन: खुला पत्र


प्यारा मेयर साहेब,

अभिवादन।

स्मार्ट सिटीको मेयर नियुक्त भई सय दिन अर्थात् हनिमुन अवधि सफलतापूर्वक बिताउनु भएकोमा बधाई दिन उठाएको मेरो कलमको टुप्पो एकाएक भाँच्चिएको छ, सायद तपाईंका लागि प्रशंसाका शब्द लेख्न कलमले मानिरहेको थिएन।

मैले प्राप्त गरेको सूचना गलत हैन भने तपाईंले प्रतिबद्धता गर्नुभएको थियो–‘सयदिनमै काठमाडौंलाई परिवर्तन गरेर देखाइदिनेछु।’ अरुले के गरे थाहा छैन, तर म तपाईंले सुरु गरेका सकारात्मक कामको चर्चा गर्न भनेर चनाखो बसेको थिएँ। तपाईंका विरोधीलाई यी मेयर साहेब अरुले सोचेजस्तै नालायक छैनन् भनेर लेख्छु भनेको थिएँ।

मेयर साहेब,

हुन त यो भद्रगोल काठमाडौंको व्यवस्थापन चानचुने थिएन। देशदेखि विदेशका एकसे एक मान्छे बस्ने सहर हो यो। त्यसमाथि यो कहालिलाग्दो प्रदूषण, अस्तव्यस्त सहरमा तपाईंले सय दिनमै एकसे एक काम गर्छु भनेर गणितको सामान्य सिद्धान्तलाई चुनौती दिनुभो। पदभार भई कुर्सी तात्न नपाउँदै जनप्रतिनिधिलाई स्मार्टफोन किन्ने निर्णय गरेर विवादास्पद बन्नुभो। पाँच वर्षमा मेट्रो र मोनो रेलको सपना देखाउनुभो, जसको विस्तृत योजनासम्म सम्भव थिएन।

स्मार्ट सिटीको गफ दिँदै स्मार्टफोन लिएर स्मेल सिटीलाई निरन्तरता दिनुभयो। महानगरको धुलो, धुवाँ र फोहोर व्यवस्थापनमा सुको काम गर्नुभएन। तपाईंको सहरमा सास त राम्ररी फेर्न पाइन्न, अरुको के आश गर्नु र? नायक बन्ने घोषणा गरेर नालायक बनिरहँदा मलाई त तपाईंप्रति दया लागेर आयो भने मतदाताले के सोच्दै होलान्?

तपाईंको स्मार्ट सहरमा जाबो ढलको बिर्कोसम्म लगाउन नसक्ने कर्मचारी छन्। दिनदहाडै बालबालिका ढलमा डुबेर मर्छन्। तपाईंले हिलाम्य सहर काठमाडौंमा वर्षातमा बाटो बनाएर जनताको कर दुरुपयोग गर्दिनँ भन्नुभो, तर आफैंले सवा करोडभन्दा बढीको विलासी गाडी मगाउनुभो। जनताको करको दुरुपयोग गर्दिन भन्नेले त्यो विलासी गाडी सडकमा कि हावामा चलाउन मगाउनुभएको?

ठूल्ठूला गफ गरेर चुनाव त जित्नुभयो तर यो सय दिनमा महानगरवासीको मन जित्न सक्नुभएन। तपाईंको पदार्पणको बिहानी त्यत्तिकै खेर गयो। यसबीच न तपाईंले आफ्नै प्रतिद्वन्द्वी विज्ञ किशोर थापालाई सुझाव निम्ति बोलाउनुभयो, न त युवा जोशकी प्रतीक रन्जु दर्शनाबाटै महानगरका युवाका सपना सुन्नुभयो। तपाईंले पदाधिकारीहरुकै खटपटमा सय दिन खेर फालेको तमासा हेरे जनताले।

हनिमुनको उत्तरार्द्धमा दुईपटक कुचो लिएर तपाईं बाटोमा हिँड्दा लागेको थियो– मेयरसाहेबले अब चाहिँ चेतेकै हुन् भनेर, तर सहरका मुटु-मुटुमा फोहोरका डंगुरमा खिचेका सेल्फीले गिज्याउँदा पो थाहा भो तपाईंको देखाउने र चपाउने दाँत फरक-फरक रहेछन्।

मेयर साहेब,

अझै समय सकिएको छैन। आफ्ना नगरबासीसँग यो गफ पुराणका लागि माफी माग्नुस र जनताका साधारण आँखाले देख्ने परिवर्तनका लागि आफ्नो दिव्यदृष्टि लगाउनुहोस्। नत्र महानगरपालिकामा फोटो झुन्ड्याउने र जनता झुक्याउनेभन्दा बढी केही हुने छैन।

तपाईं त देशकै राजधानीको मेयर हो नि! अरुलाई राम्रो नमूना देखाउने कि नालायकीको नमूना देखाउने छनोट तपाईंकै। तपाईंका बाँकी दिन सुखद रहून् र अब प्रशंसाका हरफ लेख्न कथाले मागोस्!

तपाईंको शुभचिन्तक

सरगम

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.