डा. गोविन्द केसीलाई चिठी


मेरो प्यारो गोविन्द ! मुटुभरीको माया तिमीलाई ! कति सक्छौ है पीडा खप्न ? सानो तिनो दुख पर्दा ऐया आत्थु गर्नेहरु, तिम्रो अटल धैर्य देख्दा कस्त महसुस  गर्दा हुन सोचेका छौ कहिले ? मेरो बाबु , मेरो राजा ! पेट कति पोलेको होला है तिमीलाई , टाउको कति दुखेको होला है । अनि रिङ्टा त झन कति लागेको होला । ओठभरी कलेटी परेको छ, अनुहार फुस्रो छ , आँखा गढेको छ ! फुच्चे मान्छे, झन झन सुक्दै गा’ को छौ थाहा छ कि छैन तिमीलाई भन त ? मलाई हेर त ! हो ! यता तल छु म , म तिमीलाई नै हेरिरहेको छु मेरो बाबा ! के खान्छौ ल भन । छिटो भनीहाल न, म ल्याइदिन्छु , म पकाइदिन्छु , म जुटाइदिन्छु ! गोविन्द ! किन छ्टपटिएको देखाउदैनौ भन त ! कसरी लुकाइदिन सकेको त्यो असह्य पीडा  ? अनि भोकको राप र तापलाई कुल्चेर कसरी चम्काउन सकेको ती आँखाहरु  !

थाहा छ तिमीलाई ?  बाँच्नकै लागि खानेहरु आजकल तिमीप्रति नतमस्तक बन्न थालेका छन ! तिमी उनीहरुका आदर्श बनीसक्यौ ! अनि खानकै लागि बाच्नेहरुलाई भने तिम्रो चित्र आकृतिले तर्साउन थालेको छ आजकल  ! बाबु ! एक्छिन टाउको मेरो काखमा राख त ! मलाई केहीबेर तिम्रो टाउको सुम्सुम्याउन देउ…अह केही नबोल तिमी केहीबेर ! शान्त बस ! तिम्रो बोलीको कदर गर्न कहिले जानेनन यी मान्छेहरुले ! तिम्रो विशाल सोचको कहिल्यै सम्मान गर्न जानेनन यी भद्र-भलादमीहरुले ! मेरो ज्ञानीलाई पागल सम्मन भने यिन्ले ! तर गोविन्द ! यिनलाई के थाहा ? साइलेन्स त साउन्डको क्लाइमेक्स हो ! आधी आउन अघिको सन्नाटा यिन्ले बिर्सेछ्न मेरो बाबु ! तुफानले के के उडाउन सक्छ , के के भत्काउन सक्छ , यिन्ले साच्चिकै बिर्सेछ्न !

तिमीले यसरी भोक-भोकै दुख पाउनुमा मेरो पनि दोष छ गोविन्द ! किन थाहा छ तिमीलाई ?  मैले नै तिमीलाई जहिले सत्यको पक्षमा उभिएस भनेर सिकाए ! जाली फटाहाहरुको नडराइकन सामना गर्न मैले नै सिकाएको थिए बाबु तिमीलाई ! ओठ-मुख-ज्यान प्याक-प्याक सुकाइ सुकाइकन तिमी जिन्दगीका जाँचमा खरो उत्रेका छौ ! मलाई गर्व छ ! तर ! गर्व जति लाग्छ त्यो भन्दा बढी डर लाग्न थालेको छ मलाई आज्कल ! सुन न बाबा ! आँखा चिम्म गरेको निदायौ कि के हो ? म किन डराए होला भन त ? तिमीलाई असल बन्न त सिकाए ! तर यहाँ भीड त खराबहरुको बढी छ बाबु ! मेरो राजालाई तिन्ले फालेको बिषले मुर्छा पार्ने पो हो कि ? तिन्ले  मबाट तिमीलाई खोसेर टाढा धेरै टाढा लग्दिने पो हो कि ?

नाइ गोविन्द ! नजाउ तिमी ! आँखा खोली नै राख तिमी ! मेरो बाबा ! तिमीले आँखा बन्द गर्दा अत्याड लाग्न थालेको छ मलाई ! धन नभएका धनबहादुरहरुलाई तिमीले स्वास्थ्य सपना देखाएका छौ बाबु ! सितिमिति मान्छेले बुनाइदिन सक्दैन त्यो सपना ! बाबु ! हो ! सपना र विपना माझको खाडल तिम्रै सुत्रहरुले पुर्नु छ ! असमानताका विशाल पर्खालहरुबीच तिम्रै सुत्ररस्सीले पुलहरु बाध्नु छ ! भ्रष्ट-जालो काट्नु छ ! माफियातन्त्रको दोहोलो गर्नु छ ! हाम्रो घरको फोहोर बढार्नु छ ! मेरो प्यारो गोविन्द – मलाई तिमी चाहिन्छ ! मेरो प्यारो गोविन्द – प्लीज ! आँखा नचिम्ल !!!!! ……….म तिम्री आमा – नेपाल आमा !

 

डा.आयास लुइँटेल

ढुङ्गाअड्डा , काठमाण्डौ

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.