समृद्ध नेपालको चाहना


प्रकृतिको मनोरम छटाले सिगारिएको भए पनि नेताहरुको झुटा भाषण र व्यवहारले यो देश खोक्रो बनिरहेको छ। हरेक नेपालीका रहरहरु पूरा गर्न, समृद्ध, सभ्य र विकसित नेपाल बनाउन जनताको नेतृत्व गर्ने भनिएका नेताहरुले नै जनता र देशलाई ठगिरहेका छन्। जनताले पानी, घाम र भीड, धुलो, भोक र तिर्खा नभनी कष्ट सहेर दिएको भोट खेर गइरहेको महसुस हुन थालेको छ।

अनुगमन गरे जस्तो गर्नु, शिलान्यास गरेर काम थाले जस्तो देखाउनु र मीठामीठा भाषण बक्नु र जनता अल्मल्याउनु नै नेताहरुको दैनिकी भइरहेको छ। जनताहरुलाई भ्रम पारिरहन सक्नु नै नेताको क्षमता हुन थालेको छ। जनतालाई झुक्याउने, ढाँट्ने, भ्रममा राख्ने, आशे र दरिद्री बनाउने महामारी रोगले नेताहरु संक्रमित भएका छन्।

यो देशको मुहार फेर्छु भनेर पार्लरजस्ता नयाँनयाँ पार्टी खुलिरहेका छन्। सबका सब नेता बनिरहेका छन्। पार्टी फुटाउनु, नयाँनयाँ पार्टी खोल्नु, एक पार्टीकाले अर्को पार्टीलाई आरोप प्रत्यारोपण गर्नु, झुठो बोल्नु, जनता झुक्याउने छक्कापन्जा खेल चलिरहेको छ।  आफ्नो र आफ्नाहरुको पोल्टो भर्ने र भराउने कालो व्यापार बनेको छ नेपाली राजनीति। देशको विकासको नाममा आफ्नो र आफ्नाहरुको भुँडि भर्ने माध्यम बन्दैछ राजनीति। सिद्धान्त त सबै पार्टीकै लगभग राम्रै हुन्छन् तर दु:खको कुरा झुठो अभ्यास र खराब दैनिकी बन्दैछ नेपाली राजनीति।

खोक्रा, झुटा र काला बजारी गर्ने, यस्तो गर्छु, उस्तो गर्छु, यो देशलाई स्विजरल्याण्डजस्तो बनाउँछु भनेर कुरा एउटा र काम अर्को गरिरहेका छन्, हाम्रा नेताहरु। हामीजस्ता भेडे जनताहरुलाई झुक्याउने छेपारे नेताहरुको खेलको नाम बन्दैछ नेपाली राजनीति। अनि, त्यसैको आशामा मेरो र तेरो पार्टी भनेर जनताहरु भिडाउने र भिड्ने खेल मैदान बन्दैछ मेरो देश नेपाल।

नेताहरु भोट माग्ने बेलामा गरिब, पीडित, बृद्धहरुको घरदैलो र झुपडीमा पुग्छन्। गाँस, बास, कपास, शिक्षा, स्वास्थ समस्या हल गर्दिन्छु, बृद्ध भत्ता दोब्बर बनाइदिन्छु केबल मलाई जिताउनुहोस् भन्दै चिल्ला कुरा ओकल्छन्। तर, चुनाव जितेपछि कुर्सीको खेलमै रुमल्लिन्छन्। कुर्सीका लागि जस्तो खेल पनि खेल्न तयार हुन्छन्। सबैलाई चेतना होस्, यिनीहरु नै हुन् यो सुन्दर देशका खलनायकहरु। जसले जनताहरुलाई एकआपसमा लडाएर भाँडभैलो गराउँदैछन्।

‘जुन जोगी आए पनि कानै चिरेको’ देख्न परेको छ जनताका आँखाले! कस्तो रहेछ यो कुर्सी एकचोटी पाएपछि बारबार टाँसिरहन मनलाग्ने, विगतका भाषण, आश्वासन, प्रतिबद्धता सबैसबै बिर्साइदिने। अचम्मै!

व्यक्तिगत स्वार्थका लागि देशका खोलानाला पनि बेच्न तम्तयार हुन्छन्। राजनीतिलाई उपयोग गरेर कालाबजारी गर्न पछि पर्दैनन्। जनताहरु हेरेकोहेरै। जनताले के पाए त?

भुकम्पमा परेका जनताहरु भोको पेटमा त्रिपालमुनि र भत्केको अर्धझुपडीमा वर्षाको मुसल्धारे पानीमा रुझिरहेका छन्। तीन वर्षा गइसक्दा पनि रुझ्दै र भिझ्दै रात कटाउन विवश छन्। पीडितको लागि आएको अर्बौं बजेट प्रभावकारी रुपमा सदुपयोग हुन सकिरहेको छैन। अर्बौं कता गयो खै?

बिरामी जनताहरु औषधी नपाएर मर्छन्। राजधानीका सडकका खाल्डाहरुमा र ढलहरुमा स्कूले बालबच्चाहरु खसेर अकालमा ज्यान गुमाउनु परेको छ। महिनावारीको बेला छाउपडीमा बस्दा सर्पले डसेर मृत्यु भएको छ। भत्काउन नसकिने राजनीतिक, धार्मिक, सामाजिक, पारिवारिक पहरेदार खम्बाले टेवा दिएका छन् पितृसत्तालाई। तर, गफ चलेको छ– मेट्रो र केबलकारका। यस्तै हो भने यो देशलाई स्विजरल्याण्ड होइन, कुनै समयका कम्बोडिया र इथोपिया र अहिलेका इराक, सिरिया र सुडान बनेको देख्न नपर्ला भन्न सकिन्न।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.