के पृथ्वीनारायण शाहमा राष्ट्र निर्माण चेतना थियो?

के पृथ्वीनारायण शाहमा राष्ट्र निर्माण चेतना थियो?


युग पाठकको नयाँ गैरआख्यान ‘माङ्गेना:नेपाल मन्थन’बारे सेतोपाटीमा प्रकाशित अन्तर्वार्ता र यसमा आएका टिप्पणीहरू पढेँ। अधिकांश टिप्पणीहरु शीर्षकमात्रै पढेर गरिएका हुन् कि जस्तो लाग्यो।

पृथ्वीनारायण शाह वा कोही पनि राष्ट्रिय विभूतिप्रति अमानजनक टिप्पणी उचित हुँदैन। यत्तिकै वास्तविक कुरा के हो भने इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरूको भूमिकाबारे समयचेत अनुसार धारणा पनि बदलिँदै जान्छ। उनीहरूको देवत्करण पनि उपयुक्त हुँदैन। देवत्करणले प्रश्नको बन्ध्याकरण गर्छ र नयाँ चेतको जन्मलाई असम्भव तुल्याइदिन्छ। पृथ्वीनारायण शाहमाथि पनि निरन्तर खोज र नविन व्याख्या हुनु अस्वभाविक होइन।

एउटै तथ्यलाई व्याख्या गर्ने विभिन्न तरिका हुन्छ। यस्तो तथ्यलाई व्याख्या गर्ने क्रममा सुरुमा जसले व्याख्या गर्‍यो उसले आफूअनुकुल शब्द र भाषा चयन गर्छ। निरन्तर रूपमा यसलाई प्रचार गरेपछि हामीलाई यही मात्र सत्य हो भन्ने भान पर्छ। तर, त्यही तथ्य वा घटनालाई व्याख्या गर्ने अरू अनेक कोण र शब्द हुन्छन्। जस्तै अहिले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको वा राज्य विस्तार गरेको भन्ने बहस छ। नेपाली इतिहास लेखनको सुरुवातदेखि नै राजदरबारसँग सम्पर्क रहेका इतिहासकारहरू बाबुराम आचार्य, योगी नरहरीनाथ लगायतले नेपाल एकिकरण भने।

त्यसलगत्तै इतिहासबारे कलम चलाएका कमल प्रधान, कमलप्रकाश मल्ल लगायतले यसलाई गोर्खाराज्य विस्तार भनेका छन्। अहिले पनि दुवै किसिमको व्याख्या प्रचलनमा छ। तर हामीलाई पाठ्यपुस्तकमा ‘नेपाल एकिकरण’ भनेर पढाइयो। पञ्चायती शिक्षा नीतिद्वारा निर्देशीत पाठ्यक्रमले यसलाई जोडदार रूपमा नेपाली मस्तिष्कमा रोपेकाले हामीलाई यही मात्रै सत्य लाग्छ। यद्यपि यो बहसमा रहेको विषय हो। यो इतिहासको व्याख्यामार्फत निर्माण गरिएको भाष्य हो। हिजो शाहवंशले आफू अनुकुल भाष्य निर्माण गर्‍यो भने अबको लोकतान्त्रिक गणतन्त्रमा हामीले कस्तो इतिहासमार्फत कस्तो भाष्य बनाउने भन्ने विषयमा खुलेर बहस गर्नु आवश्यक छ।

अर्को विषय, पृथ्वीनारायण शाहसँग राष्ट्र निर्माण गर्ने चेत थियो कि थिएन भन्ने हो।

मलाई लाग्छ, यो बहस नै गर्नुपर्ने विषय होइन। आजभन्दा अढाइ सय वर्षअघिका शासकसँग आधुनिक राष्ट्र निमार्णको चेतना नहुनु एकदमै स्वभाविक कुरा हो। यो भन्दा न त शाहको योगदानप्रति अवमूल्यन हुन्छ, न त कसैले चित्त दुखाउनु आवश्यक छ। यसले कहिँकतै राष्ट्रियता पनि कमजोर हुँदैन र इतिहासको अपमान पनि हुँदैन।  उनले जे गरे, त्यही समयको चेतनाअनुसार गरे। यो समयको चेतना उनमा खोजेर पाइँदैन।

मुख्य कुरा हामीले शाहलाई कसरी बुझ्छौं भन्ने हो। तथ्यहरू एकातिर हुँदाहुँदै जबरजस्ती पृथ्वीनारायण शाहसँग राष्ट्र निर्माणको चेतना भरेर उनको देवत्वकरण गरिएको इतिहासले हाम्रो राष्ट्रियता बलियो हुन्छ र? यही अस्वभाविक ज्ञान हामीलाई घोकाइएको छ। उनीसँग राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने दुरदर्शी दार्शनिक अभिलाषा थियो भन्ने पढाइयो। यसकै लागि उनले देशको नाम गोर्खा नराखेर ‘नेपाल’ राखे भन्ने हामी धेरैको भ्रामक धारणा छ, जसको आलोचना अन्तर्वार्तामा युग पाठकले गरेका हुन्।

केही ऐतिहासिक तथ्यहरू छन्, यो देशको नाम ‘नेपाल’ पृथ्वीनारायण शाहले रोजेका होइनन् भन्ने देखाउँछ। यो देशको नाम नेपाल पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेको धेरैपछि मात्रै कायम भएको हो। राणाकालको अन्तिम समयसम्म पनि काठमाडौं उपत्यकालाई मात्रै नेपाल भनिन्थ्यो। अझै पनि बुढापाकाले उपत्याकालाई नेपाल भन्ने गर्छन्। बाँकी भागका आ-आफ्नै नाम थिए। शासकलाई गोर्खाली शासक नै मानिन्थ्यो। राजालाई गोर्खाका राजा नै भन्ने चलन थियो। अहिलेको नेपाली भाषालाई गोर्खा भाषा वा खस बोली भनिन्थ्यो। गोर्खा भाषा प्रकाशिनी समिति, गोर्खापत्र आदि यसका प्रष्ट उदाहरण हुन्। इतिहासको साधारण अध्ययन गर्ने बित्तिकै यी तथ्यहरू थाहा हुन्छ।

अन्तर्वार्तामा पाठकले भनेजस्तै पृथ्वीनारायण शाहको दिव्योपदेशमा पनि कतै नेपाललाई एकताको सुत्रमा बाँड्ने कुरा उल्लेख छैन। उनले बरू चन्द्रागिरीबाट नेपाल उपत्यकाको सम्पन्नताबाट लोभिएर यी शहर जित्ने सपना देखेको यो निबन्धमा संकेत छ। दिव्योपदेशमा लेखिएको छ- ‘चन्डागिरीमा आइपुग्या पछि नेपाल कुन हो भनि सुध्याञा। र त्यो भादगाउँ हो त्यो पाटन हो त्यो काठमांडौ हो भनि देषाया र मेरो मनमा पनि यि तिनै सहरको राजा हुन पाया ता हुँदो हो भन्न्या परिरह्याथ्यो।’

हिजो निर्माण गरिएको इतिहासको यो भाष्यको हामीले विवेचना गर्नु आवश्यक छ। अबको युवाको दायित्व भनेकै समाज पछाडि पर्नुको कारण खोजि गरी वैकल्पिक विचार निर्माण गर्नु हो। पुरानो चेतनाको कमजोरी खोजि गरेर नै नयाँ ज्ञान आविष्कार हुन्छ। यदि अझै पनि त्यही हिजोको भाष्यको पछाडि लागेर विकास र परिवर्तनको आश गर्नु ‘आकाशको फल आँखातरी मर’ भनेजस्तो मात्रै हुन्छ।

हिजोको राजनीतिक व्यवस्थाका   लागि अलग भाष्य आवश्यक थियो भने समाजको चेतनास्तर अलग थियो। हामी यी दुवैमा अगाडि जानु छ भने यो व्यवस्था अनुकुल भाष्य निर्माण गर्ने प्रयास गर्नुपर्छ जुन अहिलेको समाजको चेतनास्तर सुहाउँदो हुनुपर्छ। त्यसैले इतिहासबारे हाम्रा धारणाका कमजोरी केलाउने युग पाठकको प्रयास सकारात्मक छ। हाम्रो समयका बौद्धिकको कर्म यही नै हो। यसैले नै हाम्रो राष्ट्रियता र राष्ट्रिय एकतालाई बलियो बनाउँछ।

-पोखरा

यो पनि पढ्नुहोस्

पृथ्वीनारायण शाहसँग राष्ट्र निर्माणको कुनै चेतना थिएन

पृथ्वीनारायण, एकीकरण र युग पाठक

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.