बाँदरः समस्या र समाधान


कसैकसैले सौखको लागि घरपालुवा बनाउने, चटक देखाउनको लागि प्रयोग गर्ने आदि गरेता पनि बाँदर वन्यजन्तु नै हो। पुच्छरसमेत हुने यस जन्तुका विश्वभर २५० भन्दा बढी जिवित प्रजाति रेकर्डमा रहेका छन्। बोटबिरुवा तथा फलफूलको बीउ प्रसारण एवं किराहरु पनि खाने भएकाले यसले पारिस्थितिक सन्तुलनमा समेत सहयोग पुर्‍याउँछ। सिनेमा र औषधीय परीक्षणजस्ता कार्यको लागि समेत बाँदरको प्रयोग भएको पाईन्छ। मान्छेको पुर्खा र हिन्दु धर्ममा हनुमानको वंश समेत भनिने बाँदर चलाख र फुर्तिलो हुन्छ। यसले रुखका हाँगा, मन्दिर, बिजुलीका तार, घरका छतमा हिँडेर सताउने पनि गर्दछ।

केही वर्ष अगाडिसम्म पशुपतिनाथको मन्दिरवरपर र त्यस्तै अन्य केही क्षेत्रमा ‘बाँदरले सतायो’ भन्ने सुनिने गरेकोमा हाल आएर यसले ‘बाँदर आतङ्क’को रुप लिदै गएको छ। अमेरिकी सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले गरेको एक अध्ययनको सिलसिलामा यस्तो समस्या चितवनका अधिकांश क्षेत्र, कास्की, स्याङ्जा, तनहुँ जिल्लामा बढ्दै गएको देखिएको छ। साथै अन्य प्रयोजनका लागि स्थानीय समुदाय वा सरोकारवालाहरुसँगको छलफलमा समेत यो नै मुख्य समस्या बनेर आउने गरेको लेखक स्वयंको अनुभव छ।

हाम्रो जस्तो कृषिप्रधान देशमा महिनौं लगाएर हुर्काएकोे बालीनाली बाँदरले नोक्सान गरिदिने भएकाले यसलाई मुख्य समस्या ठानिनु स्वभाविकै हो। यसबाट बिशेषगरी गरीब तथा विपन्न वर्गका किसानहरु झनै बढी अप्ठ्यारोमा परेका छन्। मात्तिएका बाँदरहरुले गर्दा महिला तथा बालबालिकालाई अझै बढी त्रास बढ्ने गरेको छ। यिनै बाँदरका कारण मानवमा कुनै रोग नसरोस् भन्ने अर्को चासोको विषय हो।

बाँदरको बिगबिगी र बालीनालीको नोक्सानी न्यून गर्न कास्की जिल्लाको रुपा गाउँपालिकाको गाउँसभाले भारतबाट प्राविधिक झिकाइ बाँदर समातेर निकुञ्जलगायत संरक्षित क्षेत्रतिर पठाउने प्रयोजनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको कुरा पत्रपत्रिकामा आए। पछिल्लो समय बढ्दै गरेको यस समस्या र सम्भावित केही उपायहरु बारेमा चर्चा गरी समाधानको पहलमा प्रोत्साहन गर्नु यस लेखको उद्देश्य हो।

समस्या कम गर्ने सम्भावित उपायहरु

बाँदरको समस्या समाधानका लागि पहल गर्न यसको आनीबानी, आहारा, शत्रु, बासस्थान र अनुभव आदिका बारेमा बुझिसकेपछि मात्रै बुद्धिमतापूर्वक निर्णय लिनुपर्छ। बाँदरको प्रजाति हेरी त्यसको आनीबानीमा समेत केही फरक पाइन्छ।

बनस्पति एवं मासुजन्य दुवै किसिमका खाना खाने यो एक सर्बहारी जनावर हो। यसले फलफूल रुचाउँछ भने स–साना किराहरु समेत खाने गर्दछ। जङ्गलमा घण्टौं लगाएर खोज्नुपर्ने खानेकुरा मन्दिर तथा मानवबस्ती वरपर एकैछिनमा पाउन सकिने भएकाले पनि बाँदरहरु जंगल आसपासका बस्तीछेउ तथा मठमन्दिर क्षेत्रमा बस्न मन पराइरहेको पाइन्छ। त्यसैले खासगरी फलफूलका बृक्षारोपण तथा व्यवस्थापन गरी बाँदरले मन पराउने खानेकुरा वनजंगलमा नै उपलब्ध गराउन सके यसको चाप बाहिर नपर्न सक्छ।

त्यसैगरी जंगलमा बाँदरहरुको बढ्दो जनसङ्ख्याको चापले उनीहरु बाहिरसमेत आउन थालेको हुनसक्छ। मानव समुदायसँग झ्यामिदै जाँदा, उनीहरुको बानी व्यहोरामा समेत परिवर्तन हुनसक्छ। ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको समेत बन्न दिँदैन’ भने झैं मानवबस्ती, कृषि अन्नबाली तथा फलफूल खाने मात्र होइन, नखाए पनि नोक्सान गर्ने प्रवृत्ति बाँदरहरुमा देखिन्छ।

त्यसैगरी चितुवा जस्ता मांसाहारी जन्तुले बाँदरलाई खाने गर्दछन्। त्यसैले विश्व वन्यजन्तु कोष, नेपालमा कार्यरत वन्यजन्तुविज्ञ डा. सलु अधिकारीका बिचारमा चितुवाजस्ता मांसाहारी जन्तुलाई बाँदरहरुले आतंक गरेको क्षेत्रको जंगलमा छाड्ने पनि बाँदरको समस्या कम गर्ने एक विकल्प हुन सक्छ। तर, यसो गर्दा उल्टो चितुवा तथा मांशाहारी जनावरको त्रास बस्तीमा आउन नदिन बिशेष सावधानी चाहिन्छ।

जङ्गलसँग जोडिएका बस्ती तथा कृषि क्षेत्रमा बाँदरले मन नपराउने मोलासेस, टिमुर, मेन्था केमोमाइलजस्ता सुगन्धित तेल तथा वनस्पती प्रजाति लगाउँदा बाँदरको आतङ्क केही कम भएको कतिपय क्षेत्रका बासिन्दाको अनुभव पाइन्छ। त्यसैगरी मानवबस्ती तथा कृषि क्षेत्रमा आउने बाँदरलाई नजिस्काउने, खानेकुरा नखुवाउने गर्दा मानवसँग प्र्रत्यक्ष द्वन्द्व हुने सम्भावना कम हुन सक्छ।

हेरालु राख्ने, बारबन्देज गर्नेजस्ता कार्य बाँदर आतङ्क कम गर्ने तात्कालीन केही उपायहरु हुन्। हात्ति, गैंडाजस्ता जङ्गली जनावरको चाप न्यून गर्न अपनाइएका बारबन्देजमा बिद्युतिय तारबार लगाउनेजस्ता उपायहरुलाई पनि प्रयोग गर्न सकिन्छ। तर, यसका जोखिमप्रति होसियारी अपनाउनुपर्छ।

त्यसैगरी राहत तथा क्षतिपूर्ति कोष, विमा आदिको व्यवस्थापन गरी नोक्सानी व्यहोर्ने किसानलाई तत्कालीन रुपमा केही सान्त्वना दिन सकिन्छ। हरियो वन कार्यक्रम र सामुदायिक वन उपभोक्ता समूहहरुको समन्वयमा सेति नदि तटिय क्षेत्रका कास्की र तनहुँ जिल्लामा राहत कोष स्थापना तथा परिचालनको शुरुवात समेत भएको बताइन्छ।

ढोरपाटन शिकार आरक्षमा नाउर लगायतका केही प्रजातिको शिकार गरेझैं बाँदरमा समेत यस्तो अभ्यास गर्न सकिन्छ कि भन्ने एक छलफलको विषय हुनसक्छ। तर, पारिस्थितिक एवं नैतिक जिम्मेवारीका साथै धार्मिक आस्थाका कारण बाँदरको नियन्त्रणको लागि शिकार गर्ने विकल्प आफैंमा विवादित पनि हुन सक्छ। तर पनि बाँदरको सङ्ख्या नियन्त्रणका लागि नश्लबन्ध तथा बन्ध्याकरण गर्ने एक अर्को विकल्प हुन सक्छ।

बाँदरलाई निकुञ्ज वा अन्य संरक्षित क्षेत्रतर्फ सार्नु पनि अर्को उपाय हो। तर यसरी सार्दा मानव समुदाय तथा कृषि बालीमा खाने बानी परेका बाँदर तथा अन्य चौपायाहरु त्यस्ता निकुञ्ज वा संरक्षित क्षेत्रको समेत मध्यवर्ती क्षेत्रमा गएर नोक्सान गर्ने गरेको नेपाल र छिमेकी मुलुक भारतको समेत अनुभव छ। त्यसो त पशुपतिका बाँदर ल्याएर कास्की र स्याङ्गजा जिल्लाका वन क्षेत्रमा छोड्दा त्यसले समुदायमा असर गरेको आरोप स्थानीय बासिन्दाहरुको छ। त्यसैले बाँदरलाई कहाँ लैजाने भन्ने सवालमा थप अध्ययन, छलफल र दिगो निकासको खोजी गर्नु जरुरी छ। अर्को एक महत्वपूर्ण कुरा, बाँदरको समस्या भएको स्थान, समय र परिवेशअनुकुल र सम्बन्धित सरोकारवालाहरुको समन्वयमा यसको नियन्त्रणको लागि उपयुक्त रणनीति अपनाउनु पर्छ।

लेखक केएर नेपाल, हरियो वन कार्यक्रममा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनिकरण बिशेषज्ञको रुपमा कार्यरत छन् । ईमेलः [email protected]

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.