पृथ्वीनारायण, एकीकरण र युग पाठक

'आन्तरिक उपनिवेश'को उपमा दिनु सीमित कोठे ज्ञान र स्वैर कल्पना शिवाय अरु केही होइन


अहिले राष्ट्र निर्माता र उनको एकीकरणलाई गाली गर्ने, झन्डाको अपमान गर्ने एउटा फेशन जस्तै भएको छ। एउटा राष्ट्र निर्माण कसरी हुन्छ अनि तत्कालीन (३०० वर्ष अघिको) परिवेश कस्तो थियो भन्ने विषयलाई पूरै नजरअन्दाज गरेर अहिलेको परिप्रेक्ष्यसँग दाज्न मिल्छ?

एकीकरणकर्तालाई अपमान गर्दा आफूलाई बहादुर ठान्ने प्रवृत्तिको अर्को अध्याय हुन् जस्तो लाग्छ, युग पाठक। सेतोपाटीमा व्यक्त अभिव्यक्तिहरुले त्यस्तै महसुस हुन्छ।

उक्त समय र परिवेशलाई वर्तमान अवस्थाको मानव अधिकार, सुशासन, नागरिकको मौलिक हकजस्ता सन्दर्भलाई जोडिनु गलत नै होइन। तर पनि पृथ्वीनारायण शाहलाई एकीकरणको चेतना नै थिएन भन्नु आफैंमा हास्यास्पद अभिव्यक्ति हो भन्दा फरक नपर्ला। तत्कालीन अवस्थामा विश्व परिवेश कस्तो थियो भन्ने तथ्यलाई पूर्वाग्रही ढंगले पूरै नजरअन्दाज  गरेको देखिन्छ। र, यो सोध्न मन लाग्छ कि तत्कालीन अवस्थामा एकीकरण नभएको भए नेपाल अंग्रेजले लिन्थ्यो भन्ने कुरालाई यहाँले गम्भीरतापूर्वक मनन गरिरहनु भएको छ कि छैन?

यहाँहरुको तर्क त अंग्रेजले नेपाल लिएको राम्रो हुने थियो जस्तो भयो। त्यसो भए त यहाँकै शब्दमा तत्कालीन काठमाडौं उपत्यकाको संस्कृति, कला र त्यो धनधन्यता अंग्रेजको उपनिवेशसँगै कहाँ पुग्थ्यो होला? यस्ता हल्का तर्क गर्न यहाँजस्तो बुद्धिजीवीलाई कति सुहाउला?

तपाईंको तर्क पछ्याउने हो भने त गान्धीले पनि भारतमा स्वतन्त्रता दिलाएर खासै केही योगदान गरेका रहेनछन्।  किनभने अंग्रेजबाट भारतलाई स्वतन्त्रता दिलाएर उनले त अफ्रिकामा भएको आफूमाथिको अत्याचारको फगत एक बदला मात्र त लिएका थिए। एउटा स्वतन्त्र राष्ट्र अनि सार्वभौमसत्ताको महत्त्व हाम्रै छिमेकी भारतबाट सिकौं युगजी। विदेशी पन्जा आफ्नो भू–भागमा परेपछि त्यसपछिको अवस्था कति कहालीलाग्दो हुन्छ भन्ने बेलैमा बुझौं। नत्र, त्यही गुमेको स्वतन्त्रता पाउनलाई किन दशौं लाखको बलिदानी गर्नु पर्थ्यो र? अनि तत्पश्चात विदेशीको पन्जाबाट मुक्त हुनासाथ फेरि किन उनीहरुकै षड्यन्त्रको शिकार भएर मुलुकको विभाजन अनि फेरि लाखौंको नरसंहार हुन्थ्यो होला र?

अहिलेकै दार्जीलिङलाई हेरौं,  आखिर यहाँहरुले चाहनु भएको पृथ्वीनारायण अनि एकीकरण बिनाको नेपाल यस्तै होइन र? एउटा अमुक भूगोल, जसले आफैंलाई आश्रय दिइरहेको छ त्यही देशको चिह्न ‘झन्डा’माथि यहाँहरुको रिस बुझिनसक्नुको छ। जसलाई बिगार्न र च्यातचुत पार्नलाई यहाँहरु केही होइन भन्नु हुन्छ। तर, म सोच्दछु कि लोकतन्त्र र प्रगतिशीलताको नाममा हुने यस्ता स्वतन्त्रता त छाडापन होइनन् र?

अर्को कुरा, पहाडी समुदायलाई मात्र शासन गर्न पठाइन्थ्यो भन्ने यहाँको तर्क नै सन्देहास्पद छ। पृथ्वीनारायण शाहको कालदेखि राणा शासनसम्म उनका मुख्य भाइभारदार पहाडिया वा खसको त कुरै छोदिनुस्, गोर्खाका केही थर र उनकै सन्तान मात्र थिए। सोच्नुस् त, गोर्खा राज्यको एउटा थुम्कोबाट  विजय सुरु गर्ने राजा, जसले जुन पुस्तैनी र अनुभवी भाइभारदारका कारणले युद्ध जित्यो तिनलाई छोडेर ३०० वर्ष अगाडिको परिवेशमा समाबेशी बनाउँछु भन्दै कोशौं टाढा पुग्ला भन्ने अनुमान कसरी गर्न सकिन्छ? के तत्कालिन परिवेशमा र प्रयोगात्मक रुपमा त्यो सम्भव थियो होला? त्यही प्रयोगलाई उनकै सन्ततिले पछ्याए। र, राणा शासनमा देशको के हविगत भयो त्यो त हामी सबैलाई थाहा छ।

तर जुन समयमा र तत्पश्चात पनि पराजित भारतीय राजा रजौटा समेतले अंग्रेजको उपनिवेशबाट मुक्त हुनलाई नेपालसँग अनुरोध गरिरहेका थिए, त्यही समयलाई ‘आन्तरिक उपनिवेश’को उपमा दिनु सीमित कोठे ज्ञान र स्वैर कल्पना शिवाय अरु केही होइन।

नेपाल भन्ने नामकरणको विषयमा पनि यहाँको आफ्नै पूर्वाग्रही सोच प्रष्ट झल्किन्छ। तत्कालीन नेपाल खाल्डोको विजयपश्चात पृथ्वीनारायणले चाहेको भए राजधानी र देश को नाम नै ‘गोर्खा’ राख्न सक्दथे। तर, उनले त्यसो नगर्नुको पछाडि एकीकरणको भावनाले प्रेरित नभए के हो त? नत्र त यक्ष मल्लजस्तै भाइ र छोराबीच शिकार भाग लगाएझैँ राज्य भाग लगाउन पनि त सक्दथे।

हामीले त एउटा सग्लो नेपाल जन्मसिद्ध पाएका छौं। एकीकरणको प्रक्रियामा निश्चय नै सानातिना गल्ती, कमजोरी भएका थिए तर ती नियतबस थिएनन् भन्ने कुरा इतिहासको विभिन्न घटनाबाट पुष्टि हुन्छ।

तसर्थ नेपाल एकीकरण कालमा भएका त्यस्ता सानातिना गल्तिलाई कुनै एउटा बिशेष समुदाय वा जातिमाथि दोष थोपर्नुको साटो प्रगति, उन्नति र समावेशी मार्गबाट सहअस्तित्वलाई अवलम्बन गर्नु आजको आवश्यकता हो। विद्वान मानिसले आफ्नो इतिहास र पुर्खालाई धारे हात लगाएर बस्दैनन्।

युगजीहरुलाई मेरो प्रश्न यो छ कि हामीलाई अब अगाडि बढ्न के ले रोकेको छ? नेपालको झन्डा ले? कि केले?

भत्काउन र च्यात्न सजिलो हुन्छ युगजी। यति मा गर्व गर्न सिक्नुस् कि एक स्वतन्त्र देशको नागरिक हुनुहुन्छ जहाँ तपाईं आफूले चाहेजस्तो व्यवस्था ल्याउन पूर्ण रुपमा स्वतन्त्र हुनुहुन्छ। अगाडिको बाटो बनाउने र अघि बढ्नुको साटो सयौं वर्ष अघिको एकीकरणको देनलाइ सराप्न मन लाग्ने यहाँहरुको बौद्धिकता बुझिनसक्नुको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.