नेपाली राजनीतिमा डा. बाबुराम भट्टराईको महत्वपूर्ण पुँजी भनेको एसएलसी ‘बोर्डफस्ट’ हुनु हो। उनी राजनीतिमा चिनिनु र धेरैले पत्याउनुमा बोर्डफस्टको पनि ठूलो हात छ।
तर, भट्टराई अब नेपाली राजनीतिका एक्ला ‘बोर्डफस्ट’ रहेनन्।
पत्रकार रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवाबाट राजीनामा दिएर नयाँ दल खोल्ने घोषणा गरेपछि नेपाली राजनीतिले अर्का एसएलसी ‘बोर्डफस्ट’ नेता पाएको छ। उनी हुन्, सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा।
थापा २०३१ सालको एसएलसीमा बोर्डफस्ट भएका थिए। उनी मिश्रले बुधबार निर्वाचन आयोगमा दर्ता गरेको ‘साझा पार्टी’ मार्फत राजनीति सुरु गर्दै छन्।
पूर्व माओवादी नेता भट्टराई र नेपाली राजनीतिमा प्रवेश गरेका यी अर्का बोर्डफस्ट नेता थापाबीच दुइटा कुरामा समानता छ।
पहिलो, यी दुवैले वैकल्पिक राजनीतिक शक्तिको खाँचो देखेका छन्। भट्टराईले आफ्नो नयाँशक्ति दल ‘वैकल्पिक राजनीतिक शक्ति’ भएको बताउँदै आएका छन्। थापाले पनि नेपालको सामाजिक-आर्थिक स्थिति सुधार्न ‘वैकल्पिक राजनीतिक शक्ति’ चाहियो भन्दै मिश्रलाई साथ दिएका छन्।
दोस्रो, भट्टराई र थापा दुवैको शैक्षिक पृष्ठभूमि पनि उस्तै छ। दुवै इन्जिनियर हुन्। भट्टराईले अध्ययनलाई थप निरन्तरता दिँदै विद्यावारिधि गरे। तर, उनले आफूले पढेको र ज्ञान हासिल गरेको क्षेत्रमा कहिल्यै काम गरेनन्। त्यसलाई उनले राजनीतिका लागि मात्र प्रयोग गरे। थापा भने सरकारी सेवामा प्रवेश गरे र दुई दशकपछि अवकाश प्राप्त गरे। उनी राजनीति भने भर्खरै सुरु गर्दैछन्।
'बोर्डफस्ट भन्ने ब्रान्डले मानिसलाई निकै प्रभावित गर्छ नि हैन?'
सेतोपाटीको यो प्रश्नमा थापाले भने, ‘हो, त्यसले पब्लिक इमेज निर्माण गर्ने रहेछ। प्रत्येक वर्ष एसएलसीको रिजल्ट आएको समयमा होस् वा आफू सम्बन्धित भएको कुनै विषयमा होस्, अन्तर्वार्ताका लागि सञ्चार माध्यमको पहिलो प्राथमिकता बोर्डफस्टवाला भइहाल्छ।’
बोर्डफस्ट हुनुले मानिसको मनोविज्ञानमा सकारात्मक सन्देश जान्छ, तर त्यसैका आधारमा उसले सबै कुरा जानेको छ भनेर बुझ्न नहुने थापा बताउँछन्। 'बोर्डफस्टफलाई एकै आधारमा बढाइचढाइँ गरेर बाहिर प्रस्तुत गरिएको मलाई मन पर्दैन,’ उनले भने।
किन अहिले आएर थापाले राजनीतिमा हामफाल्ने निर्णय गरे त?
‘राजनीति शब्द मात्रले पनि मानिसको मनोविज्ञानमा नकारात्मक तस्बिर निर्माण गर्छ। अर्कातर्फ, लोकतन्त्र त खुला हुनुपर्ने हो, तर हाम्रो राजनीति निषेधात्मक बन्न पुग्यो,’ थापा भन्छन, ‘राजनीति फोहोरी खेल हो भन्छौं तर त्यसलाई सफा गर्न हामी तयार भएनौं, त्यही भएर राजनीति गर्ने निर्णय गरेँ।’
यति हुँदाहुँदै ठूलो र प्रतिस्पर्धी सामूहिक संगठन चलाउनुपर्ने हुनाले राजनीतिलाई अन्य पेसाभन्दा फरक र कठिन मानिन्छ। सामाजिक सञ्जालमा कतिपयले त नयाँ घोषणा गरेको पार्टी चल्न नसक्ने ठोकुवा पनि गरेका छन्।
‘हो, पार्टी चलाउन सजिलो छैन भन्ने कुराको अन्दाज हामीलाई पनि छ,’ थापा भन्छन, ‘सजिलो छैन भनेर हात बाँधेर बस्ने हो भने तपाईंले अहिले जस्तो राजनीति छ त्यसैलाई स्वीकार गर्नुपर्छ, यसैमा सन्तुष्ट हुनुपर्छ।’
‘सकारात्मक सोच र सृजनशील’ भएमा वर्तमान राजनीति परिवर्तन गर्न सकिने विश्वास भएका कारण अहिले नयाँ समूह बनाएर राजनीति सुरु गर्ने निर्णय भएको थापाको भनाइ छ। ‘चुनौती होलान्, तर सकारात्मक सोच राखेर आफ्नो प्रयास जारी राख्ने हो,’ उनले भने।
राजनीतिमा आउन अन्य दलले पनि थापालाई आग्रह गरेका थिए। तर, ती दलमा गएर केही गर्न सकिन्छ भन्ने आफूलाई विश्वास नभएको उनले बताए। ‘ती दलमा फिट हुन्छु भन्ने लागेन। मेरो समय, अनुभव र प्रयास खेर जाला भन्ने लाग्यो,’ थापा भन्छन्, ‘राजनीतिमा आउन अहिले उपयुक्त समय वा मौका भए जस्तो लाग्यो।’
अहिले मिश्रसहित २५-३० जनाको समूहले पार्टी निर्माणबारे छलफल र बहस गर्ने गरेको उनले बताए। उनका अनुसार सार्वजनिक रुपमा राम्रो रेकर्ड बनाएका र राम्रा कम गरेका मानिस उक्त समूहमा छन्। नयाँ पार्टीमा सबै समुदाय, युवा र महिलाको व्यापक प्रतिनिधित्व हुने थापाले बताए।
इन्जिनियर थापालाई आफ्नो साझा पार्टीको डिजाइन मन परेको छ। त्यसको निर्माण भने उनी र उनका सहकर्मीले कसरी गर्लान्, हेर्न बाँकी नै छ।