केही दिनदेखि सामाजिक सञ्जालमा आमाको नाम नभएको राष्ट्रिय परिचय पत्र भनेर एउटा तस्बिर भाइरल बनिरहेको छ। कतिपयले यो कार्डमा आमाको नाम राख्न दबाब दिनुपर्ने भनेका छन् भने कतिपयले आमाको नाम नभएको कार्ड बहिष्कार गर्नुपर्ने तर्क गरेका छन्।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले भने सामाजिक सञ्जालमा नक्कली तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको बताएको छ।
केन्द्रका प्रमुख दिनेश भट्टराईले सेतोपाटीसँग भने, ‘हामीले कार्डको अन्तिम डिजाइननै सकेका छैनौं। कसरी के छ के छैन भन्न सकिन्छ, अहिले नै?’
उनका अनुसार मन्त्रिपरिषद्को २०७१ माघ १४ गतेको बैठकले राष्ट्रिय परिचय पत्रको प्रारम्भिक नमूना स्वीकृत गरेको थियो। त्यो कार्डमा अगाडि फोटोसहित व्यक्तिको नाम, आमाको नाम, बुवाको नाम र श्रीमान्/श्रीमतीको नाम छ, पछाडि ठेगाना जन्म मिति र हस्ताक्षर छ। उनले सामाजिक सञ्जालमा राखिएको नक्कली परिचय पत्र हेरेर गलत चर्चा भएको बताए।
२०६३ सालको संविधानमा आमाको नामबाट पनि नागरिकता लिन सकिने व्यवस्था गरिएको थियो। त्यसपछि बनेको नागरिकता ऐन २०६३ को धारा तीनमा बाबु वा आमाका नाममा नागरिकता दिन सकिने व्यवस्था गरेको छ।
आमाको नाममा नागरिकतामा समेत पाइने व्यवस्था भइसकेकाले परिचय पत्रमा त्यो राख्न नहुने कुनै कारण नभएको भट्टराईले बताए। ‘हामीले आमाको नाम त झन् बुवाको नामभन्दा माथि राखिदिएका छौं,’ उनले भने ‘बरु धेरै कार्यालयमा हजुरबुवाको नाम पनि चाहिने भएकाले हामीले हजुरबुवाको नाम पनि थप्ने कि भन्ने छलफल गरिरहेका छौं।’ उनले आमा बुवा नभएका नागरिकलाई कसरी परिचय पत्र दिन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको बताए।
भट्टराईका अनुसार अहिले कार्डको अन्तिम डिजाइन बन्ने क्रममा छ। कन्सलट्यान्ट कम्पनीले पठाएको डिजाइन केन्द्रले पठाएपछि मन्त्रिपरिषद्ले त्यसलाई अन्तिम स्वीकृति दिनुपर्छ। ‘अर्को वर्षको भदौमा हामीले पहिलो चरणमा परिचय पत्र बाँड्ने लक्ष्य राखेका छौं’ भट्टराईले भने। पहिलो चरणमा एक लाख १७ हजार कार्ड बाँड्ने केन्द्रको योजना छ। ‘कुनै एक जिल्लामा १ लाख १० हजार र ७ हजार जना कर्मचारीलाई कार्ड बाँड्ने योजना छ’ भट्टराईले भने, ‘दोस्रो चरणमा १५ जिल्लामा त्यसपछि २५ जिल्लामा अनि सबै जिल्लामा कार्ड वितरण गर्ने योजना छ।’
परिचय पत्रमा नागरिकको वैयत्तिक र जैविक विवरण राखिनेछ। कार्डको अगाडि सगरमाथाको पृष्ठभूमि छ भने पछाडि नेपालको नक्सा छ। ‘यी दुबै चित्र हामीले इन्टरनेटबाट लिएका हौं, अब पर्यटन मन्त्रालय र नापी विभागबाट दुबै आधिकारिक तस्बिर ल्याउँछौं’ भट्टराईले भने।
कार्डको गुणस्तर आइएसओ मापदण्ड अनुसार भएको केन्द्रका इन्जिनियर राम थापाले बताए। ‘कार्डको मोटाइ, आकार, कुन कुरा अगाडि राख्ने, कुन कुरा पछाडि राख्ने, फोटो कत्रो राख्ने भन्ने मापदण्ड तोकिएको छ’, थापाले भने ‘हामीले त्यहीअनुसार कार्ड डिजाइन फाइनल गरिरहेका छौं।’ उनले ग्लोबल प्लाटफर्म पर्फमेन्स कम्प्लियन्ट सेक्युरिटी प्रोफाइलले को स्टाण्डर्डमा कार्ड बन्ने भएकाले त्यसभित्रका चिप्सभित्र भएका कुराको सुरक्षा हुन्छ।
केन्द्रका प्रमुख भट्टराईले कार्डमा व्यक्तिको नाम नेपाली र अंग्रेजी दुबै भाषामा लेखिने बताए। ‘अरुको नाम दुबै भाषामा लेख्दा धेरै ठाउँ ओगट्ने भएकाले के गर्ने छलफल भइरहेको छ।’
जिल्ला प्रशासन कार्यलयमार्फत् पाइने यो कार्ड नागरिकताको विकल्प भने नभएको भट्टराईले बताए। ‘यो कार्ड लोकसेवा आयोग, मालपोत कार्यालय, राहदानी विभाग र स्थानीय पञ्जिकरण कार्यालयमा आधिकारिक हुन्छ’ भट्टराईले भने।