प्रमुख तीन दलबाट ३ जना मात्र महिला सांसद उम्मेदवार

पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्न बाजुरास्थित निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै संयुक्त बामगठबन्धनको जुलुस । तस्बिर- प्रेम रौले, बाजुरा, रासस


आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि ९ जना महिलाले मात्र टिकट पाएका छन्।

आइतबार भएको उम्मेदवारी दर्ताअनुुसार प्रतिनिधिसभा सदस्यतर्फ ३ र प्रदेशसभा सदस्य निर्वाचनमा ६ गरी जम्मा ९ जना महिला नेतृले टिकट पाएका हुन्।

प्रतिनिधिसभामा कांग्रेसबाट २ महिला नेतृले उम्मेदवारी दर्ता गराएका छन्। भने वाम गठवन्धनबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

खोटाङमा सरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा चम्पादेवी खड्काले उम्मेदवारी दर्ता गराउँदा पुर्वी रुकुमबाट वाम गठवन्धनबाट माओवादीकी कमला रोक्काले उम्मेदवारी दिएकी छिन्।

प्रदेशसभा सदस्यतर्फ कांग्रेसबाट १ र वाम गठबन्धनबाट ५ महिला नेतृले उम्मेदवारी दिएका छन्।

ताप्लेजुङ (क) मा लिलादेवी बोखिमले कांग्रेसबाट उम्मेदवारी छिन्।

वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी (ख)बाट उम्मेदवारी बनाएको छ भने मनाङ (ख) मा खण्डा लामा गुरुङ चुनाव लड्दै छन्।

वाम गठबन्धनकै माओवादीबाट नुवाकोट १ (क) मा राधिका तामाङ, गोरखा २ (ख) मा कमला नहर्की र बझाङ (ख) बाट देवकी मल्ललाई उम्मेदवार बनाएको छ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ गरी १११ सिटका लागि उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले मात्र टिकट पाएका हुन्।

नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेपनि प्रत्यक्षतर्फ ८ प्रतिशत महिलाले मात्र टिकट पाएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.