काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता गर्न भोजपुर पुगेका छन्।
नेपाल एयरलाइन्सको विमान मौसमका कारण उड्न नसकेपछि उनीहरूले हेलिकप्टर चार्टर गरेका हुन्। शनिबार नै त्रिभुवन विमानस्थलमा पुगेर उनीहरूले जहाज पर्खिएका थिए। तर, नेपाल एयरलायन्सको जहाज नउडेपछि आइतबारका लागि फ्लाइट सारेको थियो। तर, बिहान पनि जहाज उड्ने निश्चित नभएपछि उनीहरू हेलिकप्टर चार्टर गरेर पुगेका हुन्।
प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरका काँग्रेसकातर्फबाट उमेशजंग रायमाझीले टिकट पाएका छन्।
प्रदेश सभाको (क) मा संघीय समाजवादी फोरमका अजम्बर काङबाङ राई उम्मेदवार छन्। प्रदेश सभाकै (ख ) मा भने काँग्रेसले गोविन्द कार्कीलाई उम्मेदवार बनाएको छ।
रायमाझी र कार्की दुवै काठमाडौंमा थिए। टिकट उनीहरू उम्मेदवारी दर्ता गर्न चार्टर गरिएको हेलिकप्टरमा भोजपुर पुगेका हुन्।
भोजपुर काँग्रेसका क्षेत्रीय सभापति पुष्प तामाङले उम्मेदवारहरू हेलिकप्टरमा दिउँसो सवा दुई बजे भोजपुर अाइपुगेको बताए। 'उहाँहरू भर्खर आइपुग्नु भयो अब उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जान लागेका छौं,' तामाङले भने।
निर्वाचन आयोगले आइतबार १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।