माअोवादी सरकारबाट बाहिरिए पनि देउवा सरकार बहुमतमा


नेकपा माओवादीले सरकारबाट बाहिरिने भएपनि सरकारसँग भने स्पष्ट बहुमत हुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सकिने दिन नै राप्रपाको मन्त्रीलाई सरकारमा भित्र्याएका थिए। त्यसअघि राप्रपाले सरकारलाई समर्थन दिएको पत्र प्रधानमन्त्रीलाई बुझाएको थियो।

प्रतिपक्षी एमालेसँग गठबन्धन गरेको माओवादीले कुनैपनि बेला छाड्दा सरकार अल्पमतमा पर्ने ‘भय’ सरकारलाई थियो। माओवादीले छाड्दा सरकार अल्पमतमा पर्ने र अल्पमतको सरकारले गराउने निर्वाचन माथि प्रश्न उठ्ने भएकाले सरकार विस्तार गर्नुपरेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन्।

यो पनि पढ्नुहोस्: फोरम-राजपा गठवन्धनले सप्तरीका चारै सिट जित्न सक्छ

 

संसद नरहेपनि निर्वाचन माथि नै नैतिक प्रश्न उठ्ने भएकाले सरकारमा राप्रपालाई भित्र्याएको काँग्रेसले बताउँदै आएको छ। विघटित संसदमा काँग्रेस नेतृत्वको सरकारको पक्षमा बहुमत रहेको छ। काँग्रेसको २०७, राजपाको २५, दुई राप्रपाको ३६, नेपाल लोकतान्त्रिक फोरमको १५ सांसदको समर्थन सरकारलाई थियो।

लोकतान्त्रिक फोरम सोमबार मात्र काँग्रेसमा मिसिएको छ। त्यस्तै, सरकारलाई संघीय फोरमको पनि समर्थन रहेको छ। सरकारलाई बहुमत पुग्न २९७ मत आवश्यक हुन्छ। सरकारसँग ३ सय सांसदको समर्थन छ।

यसअघि सरकारलाई समर्थन गरेको नेकपा संयुक्त भने नेकपा माओवादी केन्द्रसँग गाभिएको छ। उसको ३ सांसदको समर्थन सरकारलाई थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.