फोरम-राजपा गठवन्धनले सप्तरीका चारै सिट जित्न सक्छ

असोज २ गतेको स्थानीय चुनावअघि सप्तरी सदरमुकाम राजविराजको मुख्य चोकमा देखिएका विभिन्न पार्टीका झन्डा। तस्बिर: सन्जिब बगाले/ सेतोपाटी


अाउने संसदीय र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउला भन्ने कौतुहलता अहिले देखिनै सुरू भएको छ। त्यसमाथि पनि एमाले र माओवादीले वाम गठवन्धनको घोषणा गरेपछि काँग्रेस र अन्य पार्टीहरूले पनि गठवन्धन र तालमेलको प्रयास गरेका छन्। मधेसका दुई प्रमुख शक्ति संघीय समाजवादी फोरम र राजपाले पनि चुनावी तालमेलको घोषणा गरिसकेका छन्।

यसले समग्र चुनावी माहौल तताएको छ।

अाउने चुनावको विश्लेषणको एउटा मुख्य आधार केही महिनाअघि सम्पन्न स्थानीय चुनावको परिणाम हो। पार्टीहरूले गठवन्धन गर्दा दुवै पार्टीले स्थानीय चुनावमा एक्लाएक्लै ल्याएको सबै भोट संसद र प्रदेशमा गठवन्धनलाई नै जान्छ भन्ने पक्का छैन।

उम्मेदवारको व्यक्तित्व र स्थानीय शक्ति सन्तुलनले पनि प्रभाव पार्नेछ। तर एउटा कुरा पक्का छ- यसपालि जस्तो ध्रुविकृत चुनाव हुँदैछ, त्यसमा दुई पार्टीलाई छुट्टाछुट्टै मत दिएका बहुसंख्यक मतदाताले गठवन्धनका उम्मेदवारलाई  नै भोट खसाल्ने सम्भावना धेरै छ।

यो सम्भावनालाई केन्द्रमा राखेर विश्लेषण गर्दा हिमाल र पहाडका अधिकांश स्थानमा एमाले‍-माओवादी गठवन्धनले जित्ने सम्भावना छ। स्थानीय चुनावको तथ्यांक हेर्ने हो भने, यी जिल्लामा वाम गठवन्धनले ७० देखि ८० प्रतिशत स्थानमा जित्ने सम्भावना छ।

त्यसैले मुख्य प्रतिस्पर्धा मधेसका जिल्लामा हुनेछ, जहाँ मधेसी पार्टीहरू पनि बलिया देखिएका छन्। उनीहरूसँग  कांग्रेसले चुनावी तालमेलको प्रयास जारी राखेको छ।

हामीले यो विश्लेषणको श्रृंखला प्रदेश नम्बर दुईबाट सुरु गरेका छौं, जहाँ स्थानीय चुनावमा पाँच पार्टीबीच तीव्र प्रतिस्पर्धा देखियो। यहाँ प्रतिस्पर्धामा देखिएका चार मुख्य दलले एक आपसमा चुनावी गठवन्धन र तालमेलको घोषणा गरिसकेका छन्।

एमाले र माओवादीबीच चुनावी गठवन्धन र राजपा-फोरम बिच चुनावी तालमेलको घोषणा भैसकेको छ। कांग्रेसले यहाँ राजपा-फोरमसँग मिलेर एमाले माओवादी गठवन्धनको सामना गर्ने प्रयास जारि राखेको छ।

दुई नम्बर प्रदेशमा एमाले-माओवादी एकातिर र कांग्रेस-राजपा-फोरम अर्कोतिर मिलेर दुई शक्तिबीच प्रतिस्पर्धा भयो भने परिणाम कस्तो आउने सम्भावना रहन्छ? वा कांग्रेसको राजपा-फोरमसँग कुरा मिलेन भने चुनाव परिणाम कस्तो आउछ? स्थानीय तहको चुनावमा देखिएको शक्ति सन्तुलनले कांग्रेस र राजपा-फोरम चुनावी तालमेल कति अनिवार्य देखाउछ?

हामी यो श्रृ‌ंखलामा यिनै प्रश्नहरुको उत्तर खोज्नेछौं। यो श्रृंखलाको भाग एकमा दुई नम्बर प्रदेशको सबैभन्दा पुर्वी जिल्ला सप्तरीको विश्लेषणबाट सुरु गरेका छौं। यो विश्लेषण हामीले गत स्थानीय निर्वाचनमा दलहरूले वडा तहमा पाएको भोटका आधारमा गरेका छौं।

उम्मेदवारको व्यक्तित्व र स्थानीय शक्ति सन्तुलनले पनि प्रभाव पार्नेछ। तर एउटा कुरा पक्का छ- यसपालि जस्तो ध्रुविकृत चुनाव हुँदैछ, त्यसमा दुई पार्टीलाई छुट्टाछुट्टै मत दिएका बहुसंख्यक मतदाताले गठवन्धनका उम्मेदवारलाई  नै भोट खसाल्ने सम्भावना धेरै छ।

सप्तरी क्षेत्र नम्बर १ मा  सप्तकोशी  र कन्चनपुर नगरपालिका लगायत पाँच वटा  स्थानीय तह पर्छन्। यो  क्षेत्रका वडाहरूमा सबैभन्दा बढी मत नेपाली कांग्रेसले पाएको थियो। उसले जम्मा ८ हजार ७ सय ४० मत पाएको छ। विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि काँग्रेसमा मिसिएकोले उसको मत अरु बढ्ने निश्चित छ। थारू समुदायको मत उल्लेख्य रहेको एक नम्बर क्षेत्रका वडामा लोकतन्त्रिक फोरमका उमेद्वारले ४ हजार ६३ मत पाएको थियो। यी दुवै पार्टीको मत यहाँ जोडदा जम्मा १२ हजार ८ सय मत पुग्छ।

यो निर्वाचन क्षेत्रमा दोश्रो धेरै मत ल्याएको संघीय समाजवादी फोरमले ७ हजार १ सय २६ मत पाएको थियो। त्यस्तै, राजपाले ६ हजार ५ सय ९७ मत पाएको थियो।

फोरम र राजपाको मत जोड्ने हो भने १३ हजार ७ सय २३ मत हुन्छ।

यो क्षेत्रका वडामा माओवादीले ६ हजार ३ सय ९१ मत ल्याएको छ भने एमालेले ५ हजार ५ सय ४९ मत ल्याएको छ।

छुट्टाछुट्टै रूपमा लड्ने हो भने यो क्षेत्रमा नेपाली काँग्रेस बलियो देखिन्छ तर फोरम र राजपाबीच चुनावी तालमेल हुने भएकोले यी दुई पार्टीको गठवन्धन यहाँ सबैभन्दा भारी हुनेछ।

एमाले र माओवादी दुवैको मत जोड्दा पनि यहाँ यो गठवन्धन तेस्रो शक्ति मात्र बन्छ।

केहीगरी राजपा-फोरम र काँग्रेसबीच सप्तरी १ मा चुनावी तालमेल भयो भने त एमाले प्रतिस्पर्धामै आउँदैन।

सदरमुकाम राजविराज लगायत चार वटा स्थानीय तह रहेको  क्षेत्र नम्बर २ मा पनि राजपा र फोरम नै बलियो देखिएका छन्। स्थानीय तहमा यो निर्वाचन क्षेत्रमा पर्ने वडामा राजपाले सबैभन्दा बढी ८ हजार ४ सय ३० मत पाएको थियो। दोश्रोमा रहेको माओवादी केन्द्रले ८ हजार ६८ मत पाएको थियो।

तेश्रोमा रहेको काँग्रेसको ७ हजार ३ सय ८९ मत  छ। चौथोमा फोरमको ६ हजार ९ सय ११ मत रहेको छ।

यो निर्वाचन क्षेत्रमा एमालेको २ हजार ८ सय ६ मत मात्र रहेको छ भने लोकतान्त्रिक फोरमको २ हजार ८ सय ३० मत रहेको छ।

दुई नम्बर निर्वाचन क्षेत्रमा राजपा र फोरमको मत जोडदा १५ हजार ३४१ हुन आउँछ।

यो मत एमाले-माओवादी गठवन्धन वा काँग्रेस-लोकतान्त्रिक फोरमको भन्दा निक्कै धेरै हुन्छ।

यहाँ एमाले‍-माओवादीको मत जोड्दा पनि १० हजार ८ सय ७४ मात्र हुन्छ भने काँग्रेस र सो पार्टीमा मिसिएको लोकतान्त्रिक फोरमको मत जोड्ने हो भने १० हजार २ सय १९ हुन्छ।

केहीगरी काँग्रेस-राजपा-फोरम गठवन्धन बन्यो भने यहाँ सो गठवन्धनको मत एमालेभन्दा साढे दुई गुणा धेरै हुनेछ।

सप्तरी क्षेत्र नम्बर ३ मा शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिकालगायत पाँच स्थानीय तह छन्। यो क्षेत्रमा  पर्ने वडाको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा काँग्रेस बलियो देखिन्छ। उसले यहाँ एक्लै १३ हजार ९ सय ९३ मत पाएको छ। उसलाई पछ्याएको राजपाले १३ हजार २ सय ७३ मत ल्याएको छ।

तेस्रो बनेको एमालेको ९ हजार ७ सय ३९ मत छ भने चौथोमा फोरमको ८ हजार २ सय ५६ मत रहेको छ।

माओवादीले यहाँ ५ हजार ८ सय ९१ मत पाएको छ। काँग्रेससँग मिसिएको फोरम लोकतान्त्रिकले २ हजार ६ सय ३३ मत पाएको छ।

यो क्षेत्रमा काँग्रेस र फोरम लोकतान्त्रिकले ल्याएको मत जोड्ने हो भने  यहाँ १६ हजार ६ सय २६ मत हुन्छ। त्यस्तै राजपा र फोरमको मत जोड्ने हो भने २१ हजार ५ सय २९ हुन्छ।

जबकी एमाले र माओवादीको यो क्षेत्रमा जम्मा १५ हजार ६ सय ३० मत हुन्छ। एमाले‍-माओवादी गठवन्धन यहाँ राजपा-फोरम र काँग्रेस एक्लैभन्दा कमजोर छ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि फोरम–राजपा गठवन्धननै बलियो देखिन्छ। यो क्षेत्रमा खडग, सुरूंगा नगरपालिका लगायत चार स्थानीय तह छन्।

काँग्रेसले यो क्षेत्रका वडामा १० हजार ३ सय ३७ मत पाएको थियो भने एमालेले १० हजार ३ सय ६४ मत पाएको थियो। फोरमको ९ हजार १ सय ७७ मत रहेको छ भने राजपाको ८ हजार ३ सय ५१ मत छ। माओवादी केन्द्रको ६ हजार ४ सय ५८ र लोकतान्त्रिक फोरमको ४ हजार ७ सय ७१ मत रहेको छ।

यसरी हेर्दा यो क्षेत्रमा पनि फोरम-राजपा गठवन्धनको १७ हजार ५ सय २८ मत देखिन्छ। एमाले-माओवादीको यो निर्वाचन क्षेत्रमा १६ हजार ८ सय २२ मत छ भने काँग्रेस र सो पार्टीमा मिसिएको लोकतान्त्रिक फोरमको जोड्दा १५ हजार १ सय ८ मत छ।

काँग्रेसले राजपा‍-फोरमको गठवन्धनसँग तालमेल गरेन भने यहाँ तीनै शक्तिबीच चुनावी प्रतिस्पर्धा हुन्छ। तर काँग्रेस र राजपा‍ फोरमबीच तालमेल भयो भने यहाँ पनि एमाले‍‍-माओवादी गठवन्धन धेरै कमजोर हुनेछ।

२०७० सालमा भएको संविधान सभा चुनावमा सप्तरीमा ६ निर्वाचन क्षेत्र थिए, जसमध्ये माओवादी केन्द्रले ३ ठाँउमा जितेको थियो। कांग्रेस २ र एमाले १ स्थानमा विजयी भएको थियो ।

२०६४ को पहिलो संविधानसभामा भने सप्तरीको ५ क्षेत्रमा मधेसवादी दल विजयी भएका थिए । १ क्षेत्रमा स्वतन्त्र उमेदवार विजयी भएका थिए।

स्थानीय तहको निर्वाचनमा फोरम र राजपाले ल्याएको मतलाई आधार मान्ने हो भने उनीहरूले १० वर्षमा आफ्नो मत फर्काएका छन्।

यी दुई पार्टीले एक्लाएक्लै ल्याएको मत आफ्ना संयुक्त उम्मेदवारका  पक्षमा खसाउन सके भने राजपा‍-फोरम गठवन्धनले सप्तरीका चारै सिट जित्ने सामर्थ्य राख्छन्। त्यस अर्थमा यो जिल्लामा मधेसी दलको एक दशकपछि ‘कमब्याक’ हुनेछ।

यो पनि हेर्नुहोस्

 कुन प्रदेशमा कति दल भिड्दै छन्?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.