नयाँ शक्ति र लोकतान्त्रिक फोरमका प्रदेश संयोजक संघीय समाजवादी फोरममा प्रवेश


नयाँ शक्ति नेपाल र लोकतान्त्रिक फोरमका प्रदेश नं २ का संयोजक संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।

नयाँ शक्तिका संयोजक डा.सुरेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका संयोजक उमाशंकर अरगरियासहित संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्।

यी दुवै पार्टीका नेतालाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय तिनकुनेमा छुट्टाछुट्टै कार्यक्रममा प्रवेश गराएका हुन्। लोकतान्त्रिक फोरमबाट संयोजक अरगरियासहित दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रुकमिणी मण्डल, सोही पार्टीका धनुषा जिल्ला अध्यक्ष नरेश यादव, क्षेत्रीय अध्यक्ष द्वय अब्दुलशेख र जयनारायण मण्डल, धनुषा कमलामाई नगरपालिका मेयर पदका उम्मेदवार मनिकलाल मण्डल, जिल्ला नेताहरू सत्रुधन पासवान, प्रमोद अधिकारी लगायतका नेता कार्यकर्ताहरू रहेका छन्।

यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकिशोर यादव र डा. सत्यनारायण सिंह पनि संघीय फोरममा प्रवेश गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.