विवेकशील साझाले काठमाडौंमा सूर्यराज र मुमारामलाई पनि उठाउने


विवेकशील साझा पार्टीले मंसिरमा हुने केन्द्रीय संसदको चुनावका लागि काठमाडौंबाट प्राध्यापक सूर्यराज आचार्य र मुमाराम खनाललाई पनि उम्मेदवार बनाउने तयारी गरेको छ।

विवेकशील साझाका एक नेताले भने, ‘काठमाडौंका थप दुई निर्वाचन क्षेत्रमा पनि उम्मेदवार उठाउने छलफलमा हामी छौं।’

उनले काठमाडौं २ र ६ बाट उम्मेदवारी दिने तयारी भइरहेको बताए।

‘आचार्य र खनालमध्ये कसलाई नेकपा एमालेका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको क्षेत्र नम्बर २ बाट उठाउने भन्ने छलफल चलिरहेको छ,’ ती नेताले भने, ‘त्यहाँ प्राध्यापक आचार्यलाई उठाउनु पर्ने कतिपय साथीहरु विचार छ भने वामपन्थी मत धेरै भएको सो क्षेत्रमा कम्युनिष्ट पृष्ठभूमिबाट आएका खनाललाई उठाउँदा ठीक हुने तर्क पनि छ।’

यी दुईमध्ये एकजनालाई २ र अर्का ६ नम्बर उठ्ने छन्।

काठमाडौं ६ बाट गत संविधान सभामा कांग्रेस नेता तथा रक्षामन्त्री भिमसेनदास प्रधानले जितेका थिए।

यी दुबै नेता यसपालि पनि तिनै क्षेत्रमा उठ्ने लगभग निश्चित छ।

अाजका अन्य समाचार :

रौतहटबाट पनि सिफारिस भएका नेता नेपालले आफू काठमाडौं २ बाट उम्मेदवार हुने बताइसकेका छन्।

विवेकशील साझाले उम्मेदवार बनाउन लागेका आचार्य लामो समयसम्म जापानमा प्राध्यापन गरेर फर्किएका यातायात विज्ञ हुन्।

सार्वजनिक यातायात उनको विशेषज्ञताको क्षेत्र हो। उनी अहिले नेपालमै प्राध्यापन गर्छन्।

माओवादी सशस्त्र युद्ध सुरु हुँदा भूमिगत रहेर सो युद्धमा सक्रिय सहभागी बनेका खनाल पार्टी छोड्नुअघि माओवादीका केन्द्रीय सदस्य थिए।

पार्टीसँग विवाद भएपछि सशस्त्र युद्ध कालमै उनले माओवादी छोडेका थिए। उनका भाइ चन्द्रदेव खनाल माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर थिए। उनी अहिले पनि माओवादी पार्टीमै छन्।

माओवादी छोडेपछि खनाल स्वतन्त्र वाम विश्लेषकका रुपमा लेख लेख्ने र रेडियो टिभीका बहसमा भाग लिने गर्थे।

यसअघि सोमबार विवेकशील साझाले काठमाडौंका ६ निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.