प्रधानमन्त्री देउवालाई यसपालि डडेल्धुरा जित्न चुनौती 

प्रधानमन्त्री देउवालाई यसपालि डडेल्धुरा जित्न चुनौती 

फाइल तस्बिर


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति थोरै यस्ता प्रभावशाली नेतामध्ये पर्छन् जसले २०४८ साल यता भएका सबै निर्वाचनमा गृहजिल्लाबाट चुनाव जितेका छन्।  देउवाले आफ्नो  गृह जिल्ला डडेल्धुराबाट निर्वाचन जित्ने मात्रै होइन  प्रतिस्पर्धीलाई धेरै पछाडि छोड्ने गरेका छन्।

संसद र संविधानसभाका पछिल्ला पाँच निर्वाचन जितेका देउवा चार पटक प्रधानमन्त्री बनिसकेका छन्।

पछिल्लो स्थानीय निकायको निर्वाचन परिणामको विश्लेषण गर्दा एमाले र माओवादीबीच आगामी संसदमा हुने चुनावी तालमेलले भने देउवाको यो विरासत तोडन सक्ने सम्भावना देखिन्छ।

२०७० सालको संविधानसभा निर्वाचनमा देउवाले २३ हजार ९ सय २० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी बनेका माओवादी केन्द्रका खगराज भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए। त्यस्तै एमालेका ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत ल्याएका थिए। त्यो निर्वाचनमा देउवाले दुबै प्रमुख प्रतिद्वन्द्वीको जोड्दा पनि त्योभन्दा धेरै मत ल्याएका थिए ।

यसपालिको स्थानीय निर्वाचनको परिणामले भने कांग्रेसको स्थिति डडेल्धुरामा धेरै नै खस्किएको देखिन्छ। सात स्थानीय तह रहेको डडेल्धुरामा ४ मा कांग्रेस र २ मा एमाले र एउटा स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ।

नगर र गाउँपालिका प्रमुखको संख्या मात्र हेर्दा कांग्रेस अझै आगाडि भएजस्तो देखिन्छ, तर वडा तहमा गएर कांग्रेस, एमाले र माओवादीले पछिल्लो स्थानीय निर्वाचनमा पाएको भोटको संख्या हेर्ने हो भने कांग्रेस कसरी डडेल्धुरामा पछि पर्दै गएको छ भन्ने स्पष्ट देखिन्छ।

डडेल्धुरा जिल्लाका सबै नगर, गाँउका गरेर जम्मा ५२ वटा वडा छन्। तीमध्ये एमालेले १९ वडा जितेको छ भने कांग्रेस १७  वडामा खुम्चिएको छ। बाँकी १६  वडामा माओवादी केन्द्रले जितेको छ।

५२  वडाअध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने पनि एमाले र माओवादीका वडा अध्यक्षहरूले पाएको संयुक्त मत काँग्रेसका वडा अध्यक्षहरुले पाएको मत भन्दा धेरै छ।

नेपाली कांग्रेसका वडा अध्यक्षहरुले जम्मा १८ हजार ३ सय ६ मत पाएका छन्। नेकपा एमालेका वडा अध्यक्षहरुले १५ हजार ६ सय १७ र नेकपा माओवादी केन्द्रका वडाअध्यक्षहरूले ११ हजार ७ सय ३० मत पाएक्षा छन्। अर्था‍त्, जिल्लामा पछिल्लो स्थानीय निर्वानमा कांग्रेसले जम्मा १८ हजार मत पाउँदा एमाले र माअोवादीेले २७ हजारभन्दा बढी मत ल्याए।

त्यसको अर्थ हो, देउवाले डडेल्धुराबाट यसपालि जित्न कांग्रेसका मत मात्र प्रयाप्त हुने छैनन्। स्थानीय चुनावमा एमाले माओवादीलाई परेका करिब पाँच हजार मत पनि उनले आफूतिर तान्नु पर्नेछ।

एमाले र माओवादीको मत जोड्दा २०७० सालमा उनीहरु १९ हजार ६ सयमा सिमित थिए । स्थानीय तहमा भने उनीहरुको २७ हजार मत पुगेको छ। यसले डडेल्धुरामा पार्टीगत तहमा एमाले र माओवादीले निरन्तर प्रगति गरेको र का‌ंग्रेस खस्केको देखिन्छ।

स्थानीय तहको नतिजाकै आधारमा मंसिरमा हुने निर्वाचनको परिणाम आउँछ भन्ने होइन। उमेद्वारको व्यक्तित्वले मत तान्न धेरै सघाउँछ, त्यसमाथि मुलुकको प्रधानमन्त्री र सबैभन्दा ठूलो पार्टीको सभापतिलाई आफ्नै गृह जिल्लामा हराउन कम चुनौतीपूर्ण हुन्न। तर पछिल्लो स्थानीय चुनावको परीणाम र एमाले र माओवादीबीचको चुनावी तालमेल र पार्टी नै एकता गर्ने घोषणाले यो अब असम्भव पनि रहेन।

राप्रपा सरकारमा जाने, मन्त्रालयको कुरा मात्र मिल्न बाँकी

गच्छदारको फोरम काँग्रेससंग मिसिने

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.