गठबन्धन निर्माणका दुःख

बाबुरामले मागे १५ प्रतिशत, गच्छदार र थापाको माग २० र १५ सिट


गत मंगलबार नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको घोषणा गरेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि अन्य दलहरूसँग लोकतान्त्रिक गठबन्धनको प्रयास थालेको छ।

एमाले र माओवादी गठबन्धन चुनावपछि पार्टी नै एकीकरणसम्म पुग्ने भनिए पनि तत्काललाई यी दुबै गठबन्धनको उद्देश्य मंसिरमा हुने चुनावमा तालमेल गरेर बढी सिट जित्ने देखिन्छ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनभित्रका घटकहरूलाई कति सिट बाँडफाँड गर्ने विषय आइतबार साँझसम्म टुंग्याउने गरी दुबै गठबन्धनका कार्यदलले काम गरिरहेका छन्। तर दुबै गठबन्धनमा सिट बाँडफाँड सजिलो भने छैन।

एमाले र माओवादी गठबन्धनको सिट बाँडफाँड कार्यदलले गत संविधानसभा निर्वाचनमा पार्टीले पाएको मत र स्थानीय निर्वाचन २०७४ मा वडाअध्यक्ष ल्याएको मतलाई आधार मानेर सिट बाँडफाँड गर्ने बताएको छ।

गठबन्धनको कार्यदलले चुनावको विश्लेषण गरेको प्रतिवेदन आजै दुबै दलका शीर्ष नेताहरूलाई बुझाउँदै छ।

वाम गठबन्धनको घोषणा गर्दा एमाले र माओवादीले आगामी चुनावमा ६० र ४० प्रतिशत सिट बाँड्ने सहमति गरेका थिए। अन्तिम समयमा वाम गठबन्धनमा मिसिएको नयाँ शक्ति पार्टी नेपालले कति सिट पाउने भन्ने कुरा उल्लेख थिएन।

एमालेका एक नेताका अनुसार बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्तिले अहिले एमाले–माओवादी गठबन्धनसँग १५ प्रतिशत सिट मागेको छ। ‘यो उहाँहरुको बार्गेनिङ हो त्यति त दिन सकिन्न, तैपनि कसरी मिलाएर जान सकिन्छ भनेर छलफल भइरहेको छ, साँझसम्म केही टुंगो लाग्छ,’ ती नेताले भने।

२०७० को संविधान सभामा गोरखाबाट निर्वाचित भएका बाबुराम भट्टराईले राजीनामा दिएपछि अहिले नयाँ शक्तिका एक जना पनि सांसद छैनन्। गत स्थानीय निर्वाचनमा पनि सो पार्टीले २ वटा स्थानीय तह मात्र जितेको थियो।

एमाले–माओवादी गठबन्धनसँग चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पनि चुनावी तालमेल गर्ने बताएको छ। यो गठबन्धनले जनमोर्चालाई कति सिट दिएर चित्त बुझाउने हो टुंगो लागिसकेको छैन।

एमाले र माओवादी मिलेर चुनाव लड्ने भएपछि लोकतान्त्रिक गठबन्धनको प्रयास थालेको कांग्रेसलाई पनि साना दलको चित्त बुझाउनु पर्ने भएको छ। कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा ६ दल समाहित हुने गरी वार्ता जारी छ। अहिले गठबन्धनका लागि बनेको कार्यदलको मुख्य मुद्दा नै सिट बाँडफाँडमा अल्झिएको छ।

कार्यदलमा सहभागी कांग्रेसका एक नेताका अनुसार विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले २० सिट आफूले पाउनु पर्ने माग गरेको छ भने कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ सिट मागिरहेको छ।

गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग अहिले १६ जना सांसद छन्। त्यसमध्ये ४ जनाले प्रत्यक्षतर्फ जितेका हुन भने १२ जना समानुपातिक कोटाबाट आएका हुन्।

कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल २०७० सालको चुनावमा प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेको थिएन।

एउटा निर्वाचन क्षेत्रमा कांग्रेसभित्रकै आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको बेला  साना दलले धेरै  सिट मागेकाले सिट बाँडफाँड चुनौतीपूर्ण बनेको ती नेताले बताए। ‘उहाँहरूका  माग  अनुसार सिट दिन सक्ने अवस्था छैन , तर छलफल सकारात्मक नै छ, साँझसम्म कसलाई कति सिट दिनेबारे केही टुंगिन्छ,’ ती नेताले भने।

लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने भन्दै वार्ता गरिरहेका मधेसकेन्द्रीत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले यसअघि नै साझा उम्मेदवार बनाउने सहमति गरिसकेका छन्।

तराई/मधेसमा बलियो आधार भएको कांग्रेसलाई त्यही क्षेत्रका सिट बाँडफाँड गर्नु थप चुनौतीपूर्ण बनेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.