राजपा र फोरमबीच चुनावमा तालमेल गर्ने सहमति


मधेस केन्द्रीत दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच आगामी केन्द्र र प्रदेशको चुनावमा साझा उम्मेदवार बनाउने सहमति भएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी चुनावमा साझा उम्मेदवार उठाउने र अन्य पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने भए दुबै पार्टी सहभागी हुने सहमति भएको उल्लेख गरेका छन्।

राजपा नेता केशव  झाले दुबै पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भएको बताए। ‘केन्द्र र प्रदेशको चुनावमा तालमेल गर्ने सहमति भएको छ,’ झाले भने, ‘दुबै पार्टीको चुनाव चिन्ह फरक फरक हुन्छ तर एउटाको उम्मेदवार भएको ठाउँमा अर्काको उम्मेदवार हुँदैनन्।’

यसअघि यी दुई दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने तयारीमा थिए। लोकतान्त्रिक गठबन्धनका लागि बनेको छ पार्टीको कार्यदलमा पनि दुबै पार्टीका प्रतिनिधि सहभागी थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.