रोल्पाका दलले उम्मेदवार टुंगो लगाए

रोल्पाका दलले उम्मेदवार टुंगो लगाए


दशैं सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरू आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् ।

प्रदेशसभाका लागि अन्तिम टुंगो लगाउन बाँकी रहेपनि प्रतिनिधिसभाका लागि भने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रोल्पाले उम्मेदवारको टुंगो लगाएको बताएका छन् । आइतबार र सोमबार तीन दलले रोल्पामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी केन्द्रीय प्रतिनिधिसभामा आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी टुंग्याएको जानकारी दिएका हुन् ।

सोमबार अपराह्न आयोजित गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिँचाइ राज्यमन्त्री अमरसिं पुनले नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवारका लागि मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने बताए ।

यसैगरी, सोमबारै नेकपा (एमाले) रोल्पाको पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभामा आफू उम्मेदवार हुने घुमाउरो जवाफ दिएका थिए ।

आइतबार लिवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभाका लागि आफू उम्मेदवार हुने घोषणा गरेका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.