वीरगन्जमा म जित्छु वा हार्छु अहिले भन्नै सक्दिनँः कांग्रेस उम्मेदवार द्वीवेदी


असोज २ गते चुनाव भएका प्रदेश नम्बर दुई १३६ स्थानीय तहमध्ये सबैभन्दा कडा प्रतिष्पर्धा सो प्रदेशको एक मात्र महानगर वीरगन्जमा देखिएको छ।

मतगणनको पछिल्लो परिणाम आउँदै गर्दा कांग्रेसका मेयर उम्मेदवार अजय द्वीवेदी र संघीय समाजवादी फोरमका विजय सरावगी १०० मतको अन्तरमा कैंयौ पटक अघिपछि भइरहेका छन्।

पछिल्लो मत परिणाम अनुसार फोरमका सरवगीले ९९४६ मत पाएका छन् भने द्वीवेदीले उनको भन्दा ११८ कम ९८२८ मत ल्याएका छन्।

अहिले मतगणना भइरहेका गाउँ÷टोल र मत गन्न बाँकी वडामा पनि द्वीवेदी र सरावगीबीचको तीव्र प्रतिष्पर्धा जारी रहने देखिन्छ।

सेतोपाटीले कांग्रेस मेयर उम्मेदवार द्विवेदीलाई अन्तिम मत परिणाम आउँदा तपाईँ जित्नु हुन्छ वा हार्नुहुन्छ भनेर सोधेको थियो। द्वीवेदीले यसैसँग भन्न सक्ने स्थिति नरहेको बताए। ‘म जित्छु कि हार्छु अहिले भन्नै सक्दिनँ,’ उनले भने।

हामीले उनलाई बाँकी रहेका वडामा तपाईँको अवस्था कस्तो छ भनेर पनि सोधेका थियौं।

उनले अहिले मतगणना भइरहेका परवानीपुर, रामरावैग र भवानीपुरमा कांग्रेसको धेरै मत आउने बताए।

‘जगनाथपुर र अलौमा फोरम र हामीबीच कडा प्रतिस्पर्धा हुन्छ,’ द्विवेदीले भने, ‘पर्सौनीमा एमाललाई धेरै भोट आउँछ, बिन्दबासिनीमा लोकतान्त्रिक फोरमको राम्रो छ।’

उनले मत गणना सुरू नै नभएका वडामा पनि दुई दलबीच तीव्र प्रतिस्पर्धा हुने बताए।

‘१२ र १५ नम्बर वडामा कांग्रेस बलियो छ, १३ मा एमालेलाई बढी भोट आउँछ,’ द्वीवेदीले भने, ‘१४ नम्बर माओवादीको प्रभाव बढी छ, १६ नम्बर फोरमको बढी भोट आउँछ।’

बाँकी रहेका वडामा पनि कुनै दलको विशेष पकड नभएकाले अन्तिम नतिजा बारे अहिल्यै भन्न नसकिने उनले बताए।

३२ वडा रहेको वीरगन्जमा आइतबार बिहानसम्म १ देखि १२ र २० देखि ३२ वडाको मत गणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.