दुई नम्बर प्रदेशमा बढी लाभ संघीय समाजवादी फोरमलाई


दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा अिहलेसम्मको परिणाम हेर्दा सबभन्दा बढी लाभ संघीय समाजवादी फोरम नेपालले पाएको छ।

आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ११० वटाको मतगणना सम्पन्न भएकोमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले २१ स्थान जितेको छ। गणना जारी रहेकामध्ये दुईवटामा फोरमका उम्मेदवार अग्रस्थानमा छन्। यस आधारमा अहिलेसम्म दोस्रो स्थानमा रहेको फोरम नेपाल अन्तिम परिणाम आउँदासम्म दुई नम्बर प्रदेशको तेस्रो ठूलो दल बन्ने देखिन्छ।

गत संविधानसभा निर्वाचनसम्म फोरमको स्थिति यति बलियो थिएन। उक्त निर्वाचनमा दुई नम्बर प्रदेशका आठ जिल्लाबाट यो पार्टीले एउटै सांसद जित्न सकेको थिएन। समानुपातिकतर्फ पनि ७.४ प्रतिशत मतसहित पाँचौं स्थानमा थियो। यसपालि स्थानीय निर्वाचनको सबैभन्दा ठूलो विजेता समाजवादी फोरम नै हो।

अहिलेसम्मको नतिजाअनुसार २१ स्थानीय तह जितेपछि उसले गत चुनावको समानुपातिकभन्दा झन्डै दोब्बर मत पाएको छ। प्रत्यक्षतर्फ त उसले जितेका सबै उपलब्धि नयाँ हुन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र माओवादी केन्द्रले १९-१९ स्थान जितेर फोरम नेपाललाई पछ्याइरहेका छन्। अग्रतासमेत हेर्दा राजपा बलियो छ। मतगणना भइरहेका स्थानमध्ये राजपा ७ र माओवादी २ स्थानमा अगाडि छ। अन्तिम परिणाम आउँदासम्म राजपा दुई नम्बर प्रदेशको दोस्रो ठूलो पार्टी बन्नेछ भने माओवादीले पनि तेस्रो स्थानको निम्ति फोरमलाई टक्कर दिने देखिन्छ।

२०७० सालको चुनावमा राजपामा सम्मिलित ६ दलले यो प्रदेशमा ४ सांसद जितेका थिए। त्यतिबेला राजपा सम्मिलित दलले प्रत्यक्षमा बेग्लाबेग्लै भएर लड्दा जितेको सिट ८.३ प्रतिशत हो। प्रत्यक्षतर्फ एकीकरण भएपछि राजपाले यसपालि आफ्नो स्थिति सुधार गरेको छ।

माओवादीले भने दोस्रो संविधान सभा र अहिले पाएको प्रत्यक्षतर्फको नतिजामा ठूलो अन्तर देखिन्न। २०७० को चुनावमा माओवादीले यहाँका ४८ मध्ये ८ सांसद जितेको थियो। त्यो भनेको झन्डै १७ प्रतिशत हो। त्यतिबेला समानुपातिकतर्फ माओवादी ११.३ प्रतिशत मतका साथ चौथो स्थानमा थियो।

अहिलेसम्म फोरमले जितेका स्थान निम्न छन्:

  1. सप्तरी:-तिरहुत गाउँपालिका हेमन्त कुमार बहडखोर (२,९४२)
  2. सप्तरीः- वलान–विहुल गाँउपालिका- हेमन्तकुमार बहरखेर-२२८०
  3. सप्तरीः- बोदेबरसाइन नगरपालिका- आतेशकुमार सिंह -४५४७
  4.  सप्तरीः- महादेवा गाउँपालिका-दिपक कुमार यादव — ३०९१ मत
  5. महोत्तरी :-सोनमा गाउँपालिका राजकुमार यादव (४,१२९)
  6. बारा :-फेटा गाउँपालिका अमिरीलाल प्रसाद (२,६११)
  7. बाराः- पचरौता नगरपालिका- रमेशकुमार यादव — २६८२ मत
  8. बाराः- सुवर्ण गाउँपालिका-महेन्द्र यादव ३०६५ मत
  9. पर्सा:-बिन्दबासिनी गाउँपालिका श्रीलाल साह कानु (२,६११)
  10. पर्साः- पकहा मैनपुर गाउँपालिका-विजय चौरसिया
  11. रौतहट:-बौधीमाई नगरपालिका राजीव रंजन यादव (२,९७२)
  12. रौतहट:-देवाही गोनाही नगरपालिका र्मेन्द्र प्रसाद पटेल (३,२५५)
  13. रौतहटः-माधवनाराण नगरपालिका – विरेन्द्रप्रसाद यादव ३,३४८
  14. सर्लाही :-पर्सा गाउँपालिका किसुन देव राय (२,३१६)
  15. धनुषा:-गणेशमान चारनाथ नगरपालिका रामबाबु यादव (३,१२७)
  16. धनुषा:-लक्ष्मिनिया गाउँपालिका बिन्देश्वर यादव (३,४०४)
  17. सिराहा:-भगवानपुर गाउँपालिका बेचनप्रसाद यादव (३,०५८)
  18. सिराहा:-बिष्णुपुर गाउँपालिका जागेश्वर यादव (१,९४०)
  19. सिराहा:-लक्ष्मीपुर पतारी गाउँपालिका राम वल्लम साह (४,००४)
  20. सिरहाः- बरियापट्टी गाउँपालिका- सन्तोष कुमार महतो — ३९७९ मत
  21. पर्सा, सखुवा प्रसौनी गाउँपालिकाः प्रदिपकुमार जैसवाल (३६५७)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.