बाराका १६ स्थानीय तह मध्ये ७ स्थानीय तहको मतगणना अझै जारी छ। प्रदेश नं २ का दुई उपमहानगरपालिका भएका कलैया र जीतपुर सिमरामा धेरै जनसंख्या भएका कारण रिजल्ट आइहाल्ने अवस्था छैन। त्यहाँ दुवै स्थानमा नेकपा एमाले अगाडि छ। सिमरामा एमालेलाई कांग्रेसले र कलैयामा संघीय समाजवादी फोरमले पछ्याइरहेको छ।
त्यहाँ प्रसौनी गाउँपालिकामा दिँउसो १ बजे भित्रै मतपरिणाम आउने अवस्था छ। निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार राजपा र माओवादी केन्द्रको प्रतिष्पर्धा चलिहेको छ। मतपरिणाममा भने राजपा अगाडि छ।
त्यस्तै महागढीमाई नगरपालिकामा पनि आजै रिजल्ट आउने अवस्था छ। त्यहाँ कांग्रेस, माओवादी र संघीय फोरमबीच त्रिपक्षीय प्रतिष्पर्धा छ। दुई वटा वडाको गणना जारी रहँदा कांग्रेसले मत अन्तरलाई १६ कटाएको छ। निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार सामान्य अवस्थामा गणना भए साँझ ६ बजे मतपरिणाम सार्वजनिक हुनेछ।
विवादका कारण रोकिएका आदर्श कोटवाल गाउँपालिका र बारागढी गाउँपालिकाको मतपरिणाम आइतबार मात्र आउने अवस्था छ। आदर्श कोटवालका निर्वाचन अधिकृत मोहन सुवेदीले तीन वडाको मतगणना बाँकी रहेकाले आइतबार बिहान मात्र रिजल्ट आउट हुने बताए।
महागढीमाईमा भने गणना गर्ने टोली नै परिवर्तन गरिएको छ। त्यहाँ ६ वटा वडाको मतगणना प्रारम्भ गरिएको भए पनि विवादपछि सबै एकसाथ रोकिएका थिए। अहिले जिल्ला सदरमुकामबाट दुई टोली बोलाएर गणना सुरु गरिएको छ। त्यहाँ आइतबार राति अबेर वा सोमबार बिहान मात्रै परिणाम आउने अवस्था रहेको निर्वाचन अधिकृत रमेश घिमिरेले बताए। त्यहाँ कांग्रेस पहिलो, एमाले दोस्रो र तेस्रोमा संघीय फोरम छन्।
बाराको गणना जारी रहेको अर्को स्थानीय तह कोल्हवी नगरपालिका हो। त्यहाँ गणना सुस्त छ। निर्वाचन अधिकृत राजेन्द्र थापाले चार वटा वडाको गणना जारी रहेका कारण आइतबार दिउँसोसम्म रिजल्ट आउने बताए। त्यहाँ ६ वडाको गणना सकिदाँ एमाले अगाडि छ। उसलाई कांग्रेसले पछ्याइरहेको छ।
बाराको सिम्रौनगढ, करैयामाई र निजगढमा कांग्रेसले जितेको छ। फेटा, पचौतारा र सुवर्ण गाउँपालिकामा भने संघीय फोरम विजयी भएको छ। नेकपा माओवादीले बाराको एउटै तहमा जीत हात पार्न सकेको छैन। ऊ गणना जारी रहेको स्थामा समेत अगाडि छैन।
राजपाले बाराको देवताल र परवानीपुरमा जीत हात पारेको छ। एमालेले पनि बाराको कुनै स्थानीय तह जित्न सकेको छैन। यद्पी दुई मुख्य उपमहानगरमा अहिलेसम्म अगाडि छ।