दुई नम्बर प्रदेशको निर्वाचन परिणाम माओवादीका लागि सन्तोषजनक भए पनि सप्तरीमा भने माओवादी केन्द्रले हार बेहोरेको छ।
सप्तरीको अठार स्थानीय तह मध्ये सत्र वटा स्थानीय तहको मतगणना भइरहेको छ। सातवटा स्थानीय तहको नतिजा पनि आइसकेको छ। नतिजा आउन बाँकी स्थानीय तहमा पनि माओवादीले जित्ने सम्भावना नरहेको माओवादी केन्द्रका सप्तरी संयोजक अशोककुमार मण्डलले सेतोपाटीलाई बताए ।
राजविराज नगरपालिकामा आजै भएको निर्वाचनमा ढिलो गरि मतगणना सुरु भएको छ। राजविराजमा भने जितिन्छकि भन्ने माओवादीलाई झिनो आशा रहेको छ।
‘राजविराजमा हामीलाई अझै पनि आशा छ। राजपासँग हाम्रो प्रतिसपर्धा हुन्छ। अन्तिममा हामीले जित्छौ भन्ने लागेको छ,’ उनले भने, ‘अन्य स्थानीय तहमा अब हामीले जित्ने संभावना सकिएको छ।’
बिभिन्न स्थानीय तहमा गरी एक दर्जन वडामा माओवादी केन्द्र विजयी भएको भए पनि स्थानीय तहमा विजयी हुन नसकिएको उनले बताए।
‘वडा अध्यक्ष जितेको छ तर प्रमुखलाई मत थोरै आएको छ,’उनले भने,‘हामीलाई पार्टी भित्रैबाट अन्तर्घात भएको छ।’
सप्तरीको नतिजा निराशाजनक आएपछि मण्डललाई बिहिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका थिए। ‘हिजो अध्यक्षले फोन गर्नुभएको थियो। उहाँले मलाई किन यसरी बिगार्नुभयो भनेर सोध्नुभयो,’ उनले भने,‘एउटा समिति बनाएर समितिको प्रतिवेदन अनुसार छानविन गर्न मैले सुझाव दिएँ।’
टिकट वितरणमा भने कुनै समस्या नरहेको उनले बताए। संविधानसभाको दोश्रो निर्वाचनमा माओवादी केन्द्रले दुई नम्बर प्रदेशबाट ८ क्षेत्रमा निर्वाचन जितेको थियो। ८ वटा मध्ये ३ वटा क्षेत्र सप्तरीबाट जितेको थियो । सप्तरीमा ६ वटा निर्वाचन क्षेत्र रहेका थिए। आधा सप्तरी जितेको माओवादी केन्द्रले आफ्नो बिगतलाई जोगाउन सकेन नै आफ्नो उपस्थिति देखाउन पनि उसलाई चुनौती भइरहेको छ।