धर्मनिरपेक्षताको नाममा देशलाई धार्मिक द्वन्द्वमा धकेल्ने काम भएको राप्रपाको आरोप


राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसँगै हिन्दुराष्ट्र स्थापनाबारे राष्ट्रिय जनमत संग्रह गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले धर्मनिरपेक्षताको नाममा देशलाई धार्मिक द्वन्द्वमा धकेल्ने काम भएको भन्दै जनमतसंग्रहको माग गरेको हो ।

पार्टीले धर्मनिरपेक्षताको आडमा हाल पनि योजनाबद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सिर्जना गरेर लाखौं नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेका बताउँदै यस कार्यबाट एकातिर नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको निष्कर्ष निकालेको छ ।

‘सदियौदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिई देशमा धार्मिक द्वन्द्व बढ्ने संभावना देखिन्छ । यस वास्तकितालाई दृष्टिगत गर्दै नेपाललाई हिन्दुराष्ट्र स्थापना गर्नेबारे जनताको प्रत्यक्ष अभिमत लिन यहि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने राप्रपा माग गर्दछ,’ पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीले मागबारे सरकारलाई ध्यानकार्षण गराउन असोज २३ गते सम्पूर्ण जिल्ला समदरमुकामहरूमा जुलुस र सभा गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिने कार्यक्रम तय गरेको छ ।

बैठकले संविधान जारी भैसकेपछि पनि देशमा राजनीतिक स्थिरता कायम हुन नसकेको राष्ट्रप्रमुखका रुपमा आलंकारिक संवैधानिक राजसंस्था कायम गरी कार्यकारी प्रमुखका रुपमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्न सुझाव दिएको छ ।

त्यस्तै, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पूर्ण समानुपातिक व्यवस्था कायम गरिनुपर्ने पनि सुझाव प्रस्तुत गरेको छ ।

बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुने व्यक्तिहरूको नाम सम्बन्धित स्थानीय तह र क्षेत्रको सिफारिस सहित यहि असोज २२ गते भित्र पेश गर्न जिल्ला कार्य समितिहरूलाई निर्देशन दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.