प्रदेश नम्बर २ मा कसले जित्यो, कसले हार्‍यो


असोज २ गते निर्वाचन भएका प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये आधाभन्दा बढीको अन्तिम नतिजा सार्वजनिक भएको छ। बाँकी रहेका ठाउँको पनि ताजा अपडेट आउने क्रम जारी छ।

दुई नम्बर प्रदेशका ८ जिल्लामा २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ जितेका सांसद संख्या र समानुपातिक तर्फ पाएको मतलाई आधार मानेर यसपालिको चुनावमा उनीहरुको अवस्था कस्तो रह्यो भनेर यहाँ विश्लेषण गरिएको छ।

सार्वजनिक भएको नतिजा र अग्रतालाई हेर्दा प्रदेश नम्बर दुईमा नेपाली कांग्रेस पहिलो पार्टी हुने देखिन्छ। कांग्रेसले २२ स्थानमा जित हात पारिसकेको छ भने त्यति नै ठाउँमा उसका उम्मेदवारले अग्रता लिइरहेका छन्।

यसरी हेर्दा कांग्रेसले प्रदेश नम्बर २ मा ४० भन्दा बढी स्थानको प्रमुख जित्ने देखिन्छ। यो भनेको झण्डै तीस प्रतिशत स्थानीय तह जित्नु हो।

कांग्रेसले गत संविधान सभामा यी आठ जिल्लाका ४८ निर्वाचन क्षेत्रमध्ये २१ मा जित हात पारेको थियो। अर्थात् ४४ प्रतिशत सांसद कांग्रेसले जितेको थियो। कांग्रेसले प्रत्यक्षतर्फ २०७० सालभन्दा यसपालि लगभग १५ प्रतिशत कम सिट पाउने देखिन्छ।

त्यतिबेला समानुपातिकतर्फ भने कांग्रेस दोस्रो पार्टी थियो उसले १६.८ प्रतिशत मत पाएको थियो।

प्रदेश नम्बर २ मा दोस्रो स्थानका लागि नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच कडा टक्कर छ। उनीहरुले क्रमशः १३, ११ र १० स्थानमा जित निकालेका छन्।

अग्रतामा भने राजपाले फोरम र माओवादीलाई उछिनेको छ। राजविजराज, जनकपुर, जलेश्वरजस्ता ठूला सहरमा राजपा उम्मेदवार अगाडि छन्। वीरगन्ज महानगरमा पनि राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा छ।

अहिलेसम्मको ‘ट्रेन्ड’लाई हेर्दा राजपाले ३० को हाराहारीमा स्थानीय तहको प्रमुख जित्ने देखिन्छ। यो भनेको २२ प्रतिशत स्थानीय तहमा राजपाका प्रमुख/अध्यक्ष हुनेछन्।

२०७० सालको चुनावमा अहिले राजपामा सम्मिलित ६ दलहरुले यो प्रदेशमा ४ सांसद जितेका थिए। त्यतिबेला राजपा सम्मिलित दलले प्रत्यक्षमा बेग्लाबेग्लै भएर लड्दा जितेको सिट ८.३ प्रतिशत हो। यसरी हेर्दा प्रत्यक्षतर्फ एकीकरण भएपछि राजपाले यसपालि सुधार गरेको छ।

२०७० को चुनावमा आठ जिल्लामा सदर भएको १८ लाख ७१ हजार ७ सय ४७ मतमध्ये राजपाआवद्ध दलले ३ लाख ४२ हजार १ सय ९७ मत पाएका थिए। १८.३ प्रतिशत मत पाएको राजपा यो प्रदेशमा समानुपातिकतर्फ पहिलो ठूलो दल हो।

२०७० मा ६ दलले पाएको समानुपातिक मत भने राजपाले यसपालि सुरक्षित गर्न नसकेको देखिन्छ।

अहिलेसम्मको नतिजा हेर्दा प्रदेश नम्बर दुईमा नेकपा (माओवादी केन्द्र)ले १३ स्थानमा जित हात पारेको छ भने ७ स्थानमा अग्रता लिएको छ।
माओवादीले २० स्थान जित्ने देखिन्छ। यसको अर्थ प्रदेश नम्बर २ का झन्डै १५ प्रतिशत स्थानीय तह माओवादीको पोल्टामा पर्ने छन्।

२०७० सालको चुनावमा माओवादीले यहाँका ४८ मध्ये ८ सांसद जितेको थियो। त्यो भनेको झण्डै १७ प्रतिशत हो। यसरी हेर्दा माओवादीले दोस्रो संविधान सभा र अहिले पाएको प्रत्यक्षतर्फको नतिजामा ठूलो अन्तर देखिन्न। त्यतिबेला समानुपातिकतर्फ माओवादी ११.३ प्रतिशत मतका साथ चौथो स्थानमा थियो।

यसपालि माओवादीको हाराहारीमा मत ल्याउने अर्को दल हो संघीय समाजवादी फोरम। यो पार्टीले ११ स्थानमा विजय हात पारिसकेको छ भने ९ स्थानमा फोरम उम्मेदवार अगाडि छन्। गत संविधान सभा चुनावमा यो प्रदेशका आठ जिल्लाबाट एउटा पनि सांसद जित्न नसकेको र समानुपातिक तर्फ पनि ७.४ प्रतिशत मतसहित पाँचौं स्थानमा रहेको फोरम दुई नम्बर प्रदेशमा तेस्रो ठूलो पार्टी बन्ने क्रममा छ।

त्यसैले यो चुनावको सबैभन्दा ठूलो विजेता समाजवादी फोरम हो। २० स्थानीय तह जित्दा मात्र पनि उसले गत चुनावको समानुपातिकभन्दा झण्डै दोब्बर मत पाउँछ। प्रत्यक्षतर्फ त उसले जितेका सबै नयाँ उपलब्धि हुन् ।

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा देशभरिबाट पहिलो पार्टी बनेको नेकपा एमाले प्रदेश नम्बर २ मा भने पाँचौं पार्टी बन्ने देखिन्छ।

पछिल्लो मत परिणाम अनुसार एमालेले ८ स्थानमा जित हात पारेको छ भने २ उपमहानगरसहित १० स्थानमा उसका उम्मेदवार अगाडि छन्।
प्रदेश नम्बर दुईमा सबैभन्दा धेरै मत गुमाउने पार्टी एमाले हो। २०७० सालको चुनावमा प्रत्यक्षतर्फ १४ सांसद जितेको एमाले यो प्रदेशको दोस्रो ठूलो शक्ति थियो। उसले प्रत्यक्षतर्फमात्र होइन समानुपातिकतर्फ पनि कांग्रेसभन्दा १ प्रतिशत मात्र कम मत पाएको थियो। जबकी यसपालि ऊ काँग्रेससँग प्रतिस्पर्धामै छैन। उसले जित्ने सिट संख्या कांग्रेसको भन्दा आधा पनि हुँदैन।

यसरी हेर्दा दोस्रो संविधान सभामा प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको फोरमले यसपालि जितेका सबै सिट उसका उपलब्धि हुन् भने संख्यात्मक रूपमा यो चुनावबाट प्रदेश नम्बर २ मा एमालेको उपस्थिति आधाभन्दा बढी खुम्चिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.