स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना ढिलाई भएपछि निर्वाचन आयोगको आलोचना भयो। दोस्रो चरणको निर्वाचनमा ठूलो जनसंख्या भएका महानगर र उपमहानगरमा गणनामा ढिलाई भएपनि अन्य नगर र गाउँपालिकाको मतगणना तुलनात्मक रुपमा छिटो आयो।
तर तेस्रो चरणको मतगणना पुन: सुस्त भएको छ। निर्वाचन आयोगले पाँच दिन भित्र मतगणना सक्न निर्देशन दिएको भएपनि त्यस अनुसारको काम हुन सकेको छैन। मतदान भए लगत्तै कतिपय स्थानमा मतगणना भएपनि अहिलेसम्म मात्र दुई स्थानको परिणाम आएको छ। परिणाम आउन अझै समय लाग्ने देखिन्छ। यद्यपी निर्वाचन भएका ३६ स्थानीय तह मध्ये १३५ स्थानीय तहमै गणना जारी रहेको आयोगले जनाएको छ। गणना ढिलाई हुनुका कारण यस्ता छन् -
धेरै दल, गणनामा झन्झटस्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन पहाडी जिल्लाहरुमा भएका थिए। पहाडी जिल्लाहरुमा निकै कम दल र उम्मेद्वार प्रतिष्पर्धामा थिए। कम उम्मेद्वार प्रतिष्पर्धामा भएको र मुख्य तीन दलबीच प्रतिष्पर्धा भएकाले गणना सहज थियो। तर तेश्रो चरणको निर्वाचनमा प्रतिष्पर्धी दल धेरै छन्। उदाहरणका लागि वीरगञ्जमा ६ दलबीच प्रत्यक्ष प्रतिष्पर्धा छ। कांग्रेस, एमाले, राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र माओवादी केन्द्रबीच वीरगञ्जमा प्रतिष्पर्धा छ। त्यहाँ २३ जनाले मेयरमा उम्मेद्वारी दिएका छन्। यस्तोमा धेरै समय मतपत्र हेर्नुपर्ने। दलीय उम्मेदवार देखि वडासम्मको चिन्ह केलाउनुपर्ने अवस्थामा ढिलाई भैरहेको छ। 'तराईमा मतगणना काठमाडौँको जस्तै झन्झटिलो छ, मतपत्र ठूलो छ, दल पनि धेरै छन्', कल्याणपुर नगरपालिकाका निर्वाचन अधिकृत दीर्घराज उपाध्यायले भने।
काठमाडौँ महानगरपालिकामा एक मत गन्नका लागि झण्डै ५ मिनेट सम्मको समय लागेको थियो।
ठूलो जनसंख्या, धेरै नगरपालिकास्थानीय तहको पहिलो र दोश्रो चरणमा कम जनसंख्या भएका हिमाली र पहाडी स्थानीय तहको मतपरिणाम छिटो सार्वजनिक भएका थिए। तर तेश्रो चरणको प्रदेश २ को निर्वाचन ठूलो जनसंख्या भएका क्षेत्रहरुमा भैरहेको छ। यसपटक गाउँपालिका भन्दा नगरपालिकाको संख्या धेरै छ। ५९ गाउँपालिका र ७३ नगरपालिकामा निर्वाचन भैरहेको छ। त्यस्तै १ महानगर र ३ उपमहानगरको निर्वाचन भैरहेको छ। ठूलो जनसंख्या भएका कारण सुरुवाती गणनामा मतपरिणाम आउन सकिरहेको छैन। त्यस्तै पहिलो र दोश्रो चरणको निर्वाचनमा भन्दा यसपटक धेरै मतदान भएको छ। यसपटक निर्वाचनमा ७६ प्रतिशत मतदान भएको छ।
गणनास्थलका स्थानीय समस्याकतिपय स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतले गणना गर्ने स्थान साँघुरो भएको बताएका छन्। जसका कारण मतगणना स्थल थप गरेर भएपनि गणना तीव्र पार्ने निर्वाचन आयोगको तयारीमा धक्का लागेको छ। आयोगले गणना सहजीकरण गर्नका लागि प्रत्येक जिल्लामा ३/३ जनाको टोली नै खटाएको छ। तर परिणाम आउन ढिला भैरहेको छ। महोत्तरकी एकडारा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद पुडासैनी दक्ष गणना गर्ने कर्मचारी अभाव रहेको बताउँछन्। 'छिटो गर्ने भनेको ठाउँ छैन, दक्ष मान्छे पनि पाइदैँन', उनी गणना तीव्र पार्न नसक्नुको कारण बताउँछन्। पर्साका जिराभवानी गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्दप्रसाद पोखरेल धेरै दलीय प्रतिनिधि भएका कारण पनि मत गणनामा ढिलाई भैरहेको बताउँछन्। दलीय प्रतिनिधिले गणना गर्ने स्थान बढाउन नमानेकाले मत परिणाम आउन दश दिनसम्म लाग्न सक्ने भन्दै उनले निराशा समेत व्यक्त गरे।