स्थानीय तहको पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा ठूलो मात्रामा मत बदर भयो। काठमाडौं महानगरपालिकामा उपमेयरले प्राप्त गरेको मत भन्दा धेरै मत बदर भयो। दोस्रो चरणमा निर्वाचन भएको विराटनगरमा झण्डै विजयी मेयरले प्राप्त गरेको बराबर मत बदर हुन पुग्यो।
तर तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने बदर मत कम देखिएका छन्। साक्षरताका हिसाबले रौतहट, सर्लाही र महोत्तरी देशकै कम साक्षरता भएका जिल्ला हुन्। यी तीनै जिल्ला प्रदेश २ मा छन्। प्रदेश नं २ मा मात्र ५० प्रतिशत सक्षारता छ। जबकि विराटनगर रहेको प्रदेश नं १ मा ७१ प्रतिशत साक्षरता छ भने काठमाडौँ रहेको प्रदेश नं ३ मा ६८ प्रतिशत। तर काठमाडौँ र विराटनगरमा ठूलो संख्यामा मत बदर भए।
सिरहाको कल्याणपुरका निर्वाचन अधिकृत दीर्घराज उपाध्याय प्रदेश नं २ को निर्वाचनमा मत बदर कम देखेर चकित परेका छन्। ‘मत खसाल्न जाँदा धेरैले ल्याप्चे लगाएका थिए। मलाई पनि डर थियो साक्षरता कम भएकाले मत बदर हुन्छ भन्ने’, उपाध्याय भन्छन्, 'तर अचम्म मत बदर भएन।'
मत बदर नहुनुमा मतदाता साक्षरता भन्दा भिन्न कारण देख्छन् उपाध्याय। उनका अनुसार पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा भन्दा यसपटक 'क्रस' भोट कम छन्। अर्थात् मतदाताले सिधै दलका सबै उम्मेद्वारलाई मत दिएका छन्। प्यानल भोट बढी र क्रस भोट कम भएका कारण मत बदर कम देखिएको उपाध्यायले बताए।
यसअघि बझाङमा समेत निर्वाचन गराउन खटिएका उपाध्यायले यसपटक मतपत्रमा समेत ल्याप्चे लगाउने मतदाता निकै कम भेट्टाए। 'हामीले मत हाल्ने व्यक्तिको औँठाको मसी पुछिदियौँ', उपाध्यायले भने, 'त्यसलै ल्याप्चे लगाउने भन्दा भोट हाल्ने धेरै भए। त्यसकारण पनि मत बदर भएन।'
धनुषाको विदेह नगरपालिका निर्वाचन अधिकृत चन्द्रपसाद लुँइटेल पनि यसपटक कमै मात्रामा मत बदर भएको बताउँछन्। प्यानल भोट खस्नु र तेश्रो चरणमा मतदाता शिक्षामा दलहरुले पनि ध्यान दिएकै कारण बदर मत कम भएको उनले उल्लेख गरे।
'यहाँ धेरै दल छन्, थोरै मत अन्तरले जित हार हुने अवस्था छ,' लुँइटेल भन्छन्, 'त्यसैले दलहरुले प्यानलै भोट हाल्न सिकाएका छन्।'
त्यसो त निर्वाचन आयोगले यसपटक मतदाता शिक्षाका लागि खटाएका स्वयमसेवकलाई मतदाताको परिवारको हस्ताक्षर ल्याउन निर्देशन दिएको थियो। पहिलो र दोश्रो चरणको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको आरोप आयोगलाई लागेको थियो। त्यस्तै आयोगले स्वयमसेवकहरुलाई खटाए पनि उनीहरु मतदाताको घरमा नपुगी घरबाटै शिक्षा दिएको फारम भरेको आरोप लागेको थियो। जसका कारण आयोगले यसपटक घरघरमा पुगेर हस्ताक्षर गराएर ल्याउन निर्देशन जारी गरेको थियो।
सर्लाहीको हरिपुर नगरपालिकाका निर्वाचन अधिकृत अविकेश्वर पोखरेलले यसपटक धेरै मत बदर नहुनुको कारण मतदाताको डर देख्छन्। चिन्ह छानेर मत दिदाँ बिग्रने डरले मतदाताले सोझो लाइनमा भोट हालेको देखिएको उनले बताए। मतदाताले यसपटकको निर्वाचनमा क्रस भोट नगर्दा वडाहरुमा समेत दलका प्यानल नै विजयी भैरहेका छन्। यसअघि पहिलो चरण र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा शिक्षित मतदाताले भने व्यक्ति हेरेर मत दिएका थिए। तर यो निर्वाचनमा मतदाताले दललाई प्राथमिकता दिएका छन्।
पहिलो चरणमा इलाममा खटिएका पोखरेलका अनुसार मतदाताले कसैको चित्त दुखाउन नचाहेको कारण धेरै छाप लगाएका थिए। तर यसपटक दलीय भोट बढी देखिएको पोखरेलले बताए।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थी भने पहिलो, दोश्रो हुँदै तेश्रो चरणमा आइपुग्दा कुन अवस्थामा मत बदर हुन्छ भन्नेमा मतदाता जानकार बनेको दावी गर्छन्। 'प्यानल भोट छन्, पार्टी प्रतिनिधिले पनि अन्त नहाल्नुस् एकै लाइनमा हाल्नुस् भनेको हुनुपर्छ', पन्थी गणनास्थलबाटै मतपत्रको अवस्था वर्णन गर्छन्।
त्यसो त तेश्रो चरणको स्थानीय निर्वाचनमा दलहरुबीच गठबन्धन भएको छैन। गठबन्धन नभएकै कारण क्रस भोटको अवस्था देखिदैँन। गठबन्धन भएका स्थानमा मतदाताले प्यानल भोट दिदाँ अधिकाशं उपमेयर र मेयर पदका मत बदर भएका थिए। दलहरुले तालमेल बुझाउन नसक्दा उम्मेद्वार नभएको चिन्हमा समेत धेरै मत आएका थिए। ठूलो मात्रामा पहिलो र दोश्रो चरणमा गठबन्धन गरेका सत्तारुढ कांग्रेस र माओवादीले यसपटक भने खासै गठबन्धन गरेनन्। बाराको निजगढ र धनुषाको मिथिलामा नगरपालिकामा मात्र दुई दलले गठबन्धन गरेका थिए।
निजगढमा गठबन्धन भएकै कारण बदर मत समेत बढी छ। निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौली उम्मेद्वार नभएको चिन्हमा समेत मत आइरहेको उल्लेख गर्छन्।
'उपमेयरमा पनि प्यानल भोट जस्तै लाइनमा भोट हालेका छन्', गौली भन्छन्, 'तर पहिलो चरणको भन्दा कम मत बदर छ। गौली अघिल्लोपटक काभ्रेको तिमालमा खटिएका थिए। 'मतदाता पनि बदर मतबारे देखेर, सुनेर अलिक जानकार भएको जस्तो देखिन्छ', गौलीले सेतोपाटीसँग भने।
स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म राजपाले धनुषाको हंसपुर गाउँपालिका र नेकपा माओवादीले सिरहाको कर्जन्हामा जीत हात पारेका छ। उम्मेद्वारले प्राप्त गर्ने मत भन्दा ठूलो आकारमा यसपटक बदर मत आउने सम्भावना कम देखिन्छ।