दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामले राष्ट्रिय जनता पार्टी (राजपा) मधेसका सहरमा मात्रै सिमित देखिएको छ।
६ वटा पार्टी मिलेर राजपा बनेपछि प्रदेश नम्वर दुईको निर्वाचनमा यो पार्टीले राम्रो गर्ने अपेक्षा धेरैले गरेका थिए। यो अपेक्षाका पछि केही कारण थिए- राजपामा मिसिएका ६ वटा पार्टीको मत जोड्दा दोस्रो संविधानसभामा यो पार्टी प्रदेश नम्वर दुईको सबैभन्दा ठूलो पार्टी बन्थ्यो। राजपामा आबद्ध दलहरूले प्राप्त गरेको मत जोड्दा समानुपातिक १८ प्रतिशत मत राजपाको पोल्टामा थियो। प्रदेश नम्बर दुईमा दोस्रो ठूलो पार्टी कांग्रेसको १७ प्रतिशत र तेस्रो ठूलो पार्टी एमालेको १६ प्रतिशत मत थियो। जबकी मधेसको अर्को प्रमुख पार्टी संघीय समाजवादी फोरमको ७ प्रतिशत हाराहारी मात्र मत थियो।
त्यसमाथि राजपासँग मधेस आन्दोलनको सेन्टीमेन्ट पनि थियो।
तर प्रारम्भिक मतपरिणाममा राजपाको उपस्थिति मधेसका केही शहरमा मात्र बलियो देखिएको छ। पहाडे बस्ती पनि बाक्लो भएका पूर्व-पश्चिम राजमार्ग वरिपरिका गाँउ, नगरमा राजपा कमजोर हुने पहिलेनै धेरैको अनुमान थियो। दुई नम्बर प्रदेशको दक्षिणी क्षेत्र हुलाकी राजमार्जको आसपासका क्षेत्रमा भने यो पार्टीले धेरै सिट जित्ने अपेक्षा गरिएको थियो।
तर राजपाको प्रभाव दुई नम्वर प्रदेसका केहि शहरमा मात्र सिमित देखिएको छ। यो प्रदेसका सिमावर्ती गाँऊहरुमा राजपाको तुलनामा संघीय समाजवादी फोरम बलियो देखिएको छ।
दुई नम्बर प्रदेशका सबैभन्दा ठूला सहर वीरगन्ज र जनकपुरमा राजपा बलियो देखिएको छ। राजपा र कांग्रेसबीच वीरगन्जको मेयरमा नेपाली कांग्रेससँग कडा प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्मको मतगणनामा यहाँ राजपा-कांग्रेस अघिपछि हुने क्रम जारी छ।
जनकपुरको मेयरमा भने राजपाले सुरूदेखि नै अग्रता लिइरहेको छ। यहाँ राजपाले कांग्रेससँगको दुरी निरन्तर बढाउदै लगेको छ।
महोत्तरी सदरमुकाममा पनि राजपा, नेपाली कांग्रेस र संघीय समाजवादीको त्रिकोणात्मक प्रतिस्पर्धा चलिरहेको छ। त्यस्तै रौतहट सदरमुकाममा पनि राजपा र एमाले बिच कडा प्रतिस्पर्धा चलिरहेको छ।
मधेस आन्दोलमा महत्वपूर्ण भूमिका खेलेका बलियो देखिएको राजपा सिमावर्ती गाउँमा भने कमजोर देखिएको छ। सहरी क्षेत्रमा मधेस आन्दोलनको 'सेन्टिमेन्ट' राजपाले पाए पनि ग्रामिण क्षेत्रमा मधेस कन्द्रित दल मध्ये फोरम मददाताको रोजाईमा परेको छ।
हुलाकी राजमार्ग आसपासका ३७ स्थानीय तहको प्रारम्भिक मतपरिणाममा राजपाले ७ वटा स्थानीय तहमा मात्रै अग्रता लिइरहेको छ। यो सूचीमा वीरगञ्ज पनि समावेश छ। अहिलेसम्मको मतगणनाअनुसार सिमावर्ती क्षेत्रका यी स्थानीय तहमा राजपा तेस्रो स्थानमा छ।
समग्र दुई नम्बर प्रदेसमा जस्तै नेपाली कांग्रेस यी सिमावर्ती गाँउहरुमा पनि सबैभन्दा अगाडि देखिएको छ। कांग्रेसले ३७ मध्ये ११ स्थानमा अग्रता लिइरहेको छ। दोस्रो नम्वरमा रहदै संघीय समाजवादी फोरमले १० स्थानमा अग्रता लिइरहेको छ।
एमालेले ४, माओवादीले २ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिइरहेका छन्।
प्रदेश नम्वर दुईको उत्तरी बेल्टमा कमजोर राजपाले दक्षिणी क्षेत्रमा पनि राम्रो गर्न नसकेपछि पछिल्लो संविधानसभामा यो प्रदेसमा सबै भन्दा धेरै भोट ल्याएको राजपा प्रदेशको पाँचौ ठूलो पार्टीमा धकेलिने सम्भावना बढेको छ।
अहिलेसम्मको मतपरिणाममा प्रदेश नम्वर दुईमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र संघीय समाजवादी पार्टी चौथो स्थानमा देखिएका छन्।
६ पार्टी एकीकरणको लाभ राजपा उम्मेदवारले पाएको देखिँदैन। बरू उल्टै कतिपय स्थानमा टिकट वितरणमा विवाद हुँदा पार्टीका उम्मेदवारलाई अप्ठ्यारो परेको देखिन्छ। स्थानीय तह निर्वाचनको टिकट वितरणमा कुरा नमिलेकै कारण राजपाका महामन्त्री विमल श्रीवास्ताव पार्टी छोडेर मात्रै गएनन्, वीरगञ्जमा फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवार नै बने।
अर्का महामन्त्री जंगिलाल रायले पनि टिकटकै विषयमा विवाद भएपछि पार्टी परित्याग गरे। महोत्तरी जिल्लाको अध्यक्ष मण्डलका सदस्य नरेन्द्र यादव पनि मेयरको टिकट नपाएपछि पार्टी परित्याग गरे।
६ वटा पार्टीका नेताहरू एक ठाउँ भएपछि सबैले एकिकृत पार्टीको उम्मेदवारलाई पनि सहयोग गरेनन्। त्यसकारण पनि राजपा एकीकरणको अपेक्षित प्रभाव यो निर्वाचनमा परेको देखिएन।
राजपा कमजोर हुदाँ त्यसको तुलनात्मक लाभ कांग्रेस र समाजवादी फोरमले लिएका छन्। कांग्रेस मधेसको सबै भन्दा ठूलो पार्टी बन्ने तिर अग्रसर देखिन्छ भने फोरम सबै भन्दा शक्तिशाली मधेसी पार्टी बन्ने लक्षण देखिएको छ।