निर्वाचन आयोगले चियापान गर्न रोक लगाएको प्रति दलहरूको आपत्ति


सधैंजस्तै दशैं तिहारको अवसर पारेर चियापान र शुभकामना आदान प्रदान कार्यक्रमको तयारीमा रहेका दलहरूलाई निर्वाचन आयोगले अंकुश लगाएको छ ।

नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिक उत्सवका अवसरमा आज राजधानीमा आयोजित प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा रेडियोको भूमिका विषयक बहसमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यावदले शुभकामना दिने नाममा राजनीतिक उद्धेश्यले प्रेरित भएर चियापान, भोजभत्तेर लगायतका कार्यक्रम गर्न नपाइने बताए ।

निर्वाचन आयोगले चियापान र शुभकामना आदानप्रदान कार्यक्रम गर्दा निर्वाचन आचारसंहिता आकर्षित हुने बताएपछि दलहरू भने रुष्ट भएका छन् । आजै प्रदेश स्तरीय चियापान कार्यक्रम गर्ने घोषणा गरेको नेपाली कांग्रेसका नेता एवम पूर्व राज्यमन्त्री दीपक खड्काले आयोगले लगाएको रोकप्रति कडा आपत्ति जनाउँदै निर्वाचन आयोग तानाशाह भएको आरोप लगाए ।

सत्तारुढ माओवादी केन्द्रले पनि चियापान र शुभकामना आदानप्रदान गर्न लगाएको रोक प्रति आपत्ति जनाएको छ । पार्टीकी प्रवक्ता पम्फा भुसालले आयोगले चियापानमा रोक लगाउनुभन्दा भड्किलो खर्चलाई रोक लगाउनुपर्ने बताईन् ।

आयोगको ध्यान मसल र मनिको प्रयोग रोक्ने तर्फ केन्द्रित हुनुपर्ने उनको तर्क थियो । यस्तै, सरकारले मन्त्रीपरिषद विस्तार गरेर आचारसंहिताको उल्लघंन गर्दा पनि निर्वाचन आयोग निरिह बनेको आरोप लगाउँदै एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सामान्य भोजभत्तेरमा रोक लगाएर आयोगले पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी गरे ।

चाडपर्व लक्षित राजनीतिक उद्देश्यले चियापान तथा शुभकामना कार्यक्रम गर्दा आचारसंहिता लाग्ने बताएसँगै दलहरू र निर्वाचन आयोगका बीच अबका केही दिन विवाद हुने निश्चित छ ।

चियापान पनि गर्न नपाइने आयोगको आचारसंहिता दलहरूले पूर्ण रुपमा कार्यान्वयन गर्नेमा धेरैले शंका गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.