निर्वाचनको सुरक्षा तयारी पूरा

निर्वाचनको सुरक्षा तयारी पूरा


असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

सुरक्षा व्यवस्थामा कहीँकतै कमाजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी गरे।

प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए। आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ ।

उनले भने, “केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ, सोहीअनुसार सुरक्षा निकाय परिचालन भएका छन् ।”

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।

राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ ।

प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको टिप्पणी गरे। उनले भने, ‘‘केही समयअघि आएको बाढी, पहिरोले २ नम्बर प्रदेशमा पु¥याएको क्षति मात्रै हाम्रा लागि चुनौती हो, अरु त्यस्तो कुनै चुनौती अहिलेसम्म देखिएको छैन । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.