एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगका पछिल्ला गतिविधिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराएको आरोप लगाएको छ ।

एमालेका नेता अग्नी खरेलले सरकारले निर्वाचनको मुखैमा जिल्ला न्यायाधीशहरूको सरुवा गरेर निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराउने काम हुँदा समेत निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति पनि जनाए ।

बुधबार बसेको न्यायपरिषद बैठकले निर्वाचन आचारसंहिता विपरित १ सय ९७ जना जिल्ला न्यायाधीशलाई सरुवा गरेकोमा एमालेको आपत्ति छ ।

बिहिबार निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलहरूबीचको छलफल कार्यक्रममा बोल्दै एमाले नेता खरेलले निर्वाचनको मुखैमा निर्वाचन आयोगले सरकार र सत्तारुढ दलहरूको पक्षपोषण गरिरहेको आरोप लगाए ।

उनले  निर्वाचन आयोगका पदाधिकारीहरूलाई पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचन सम्पन्न गराउने सक्ने मुख्य निर्वाचन अधिकृतहरूले तेस्रो चरणको निर्वाचन गराउन नसक्ने अवस्था कसरी उत्पन्न भयो भनि प्रश्न पनि गरे ।

उनले सरकार आचारसंहिता विपरित काम गर्ने अनि निर्वाचन आयोग मौन बस्ने अवस्थाले प्रदेश नम्बर २ को निर्वाचनलाई शंकास्पद बनाई दिएको तर्क गरे।

नेता खरेलले जिल्ला न्यायाधीशहरूको सरुवा नगर्न आफ्नो पार्टीले निर्वाचन आयोगको पटक/ पटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गराए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.