प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा-निर्वाचन आयोग


निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मतदाता परिचय वितरणको कार्यक्रम  शुक्रबार,शनिबार र अाइतबार  तय गरिएको स्पष्ट पारे ।

आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तह निर्वाचन हुँदैछ ।

सो मतदानका लागि निर्वाचन आयोगले तीन दिन मतदाता परिचय पत्र वितरणको कार्यक्रम तय गरेको हो । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउन पनि सबै निर्वाचन अधिकृतहरूलाई सचेत गराए ।

एकै घरका दुई जना भिन्न भिन्न राजनीतिक दलका उम्मेदवार समेत रहेकाले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउनु परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता अपनाइएको पनि स्पष्ट पारे । उनले ढुक्क भएर मतदानमा भाग लिन पनि सबै मतदातालाई आह्वान गरे ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ का आम मतदाता उत्साही भएर निर्वाचनमा जुटेको पनि स्पष्ट पारेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.