‘प्रधानमन्त्रीले नै आचारसंहिता उल्लंघन गरिरहेका छन्’


प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पुष्टि भएको छ ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा खटिएका पर्यवेक्षकहरूले प्रधानमन्त्री देउवा र मन्त्रीहरू आफैँले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको रिर्पोट निर्वाचन आयोगलाई बुझाएका हुन् ।

बुधबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भेट गरी उनीहरूले सरकार आफैँ निर्वाचन आचारसंहिता उल्लंघनमा लागेकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न पनि निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरू आफैँले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको आम निर्वाचन पर्यवेक्षण समिति ‘जियोक’ का सदस्यसचिव कृष्णमान प्रधानले जानकारी दिए । उनले सरकार आफैँ निर्वाचन आचारसंहिता उल्लंघनमा लागेकाले नियन्त्रणका लागि कडा कदम चाल्न निर्वाचन आयोगलाई सुझाव दिनु परेको पनि स्पष्ट पारे।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमाभन्दा पनि बढी तेस्रो चरणको निर्वाचनको क्रममा आचारसंहिता उल्लंघन भएको निर्वाचन पर्यवेक्षकहरूको रिर्पोटमा उल्लेख गरिएको छ ।

पर्यवेक्षकहरूले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन सरकारलाई अझै सचेत गराउन र आवश्यक परे कडा कानूनी कारबाही गर्न पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

उनीहरूले प्रदेश नम्बर २ को ८ वटै जिल्लाको चुनाव प्रचार–प्रसार अभियानका क्रममा राजनीतिक दलहरूले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न नसकेको पाइएको तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि करीब ३ हजार पर्यवेक्षक टोली परिचालन गरेको छ । पर्यवेक्षकहरूले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता अपनाउन सरकारलाई सचेत गराउन पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्न आवश्यक तयारीको काममा तीव्रता दिइएको निर्वाचन आयोगले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.