लहान नगरपालिकाका मेयरका उम्मेदवारहरू भन्छन् :प्रतिबद्धता पूरा नभए ६ महिनाभित्रै राजिनामा दिन्छौं

लहान नगरपालिकाका मेयरका उम्मेदवारहरू भन्छन् :प्रतिबद्धता पूरा नभए ६ महिनाभित्रै राजिनामा दिन्छौं

एमाले मेयरका उम्मेदवार नआएको भन्दै नगरवासीद्वारा आक्रोश व्यक्त


सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेदवारहरूले आफू विजयी भए लहानको विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार साँझ लहानमा आयोजित विशेष साक्षात्कारमा बोल्दै मेयरका उम्मेदवारहरूले आफूहरूले बोलेका वाचा पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने समेत सार्वजनिक घोषणा गरेका हुन् ।

साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका मेयरका उम्मेदवार अछमितलाल चौधरीले आफूहरूले प्रतिबद्धता व्यक्त गरेका कुराहरू पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने घोषणा गरे । उनले आफू विजयी भए ढल, खानेपानी, सडक सञ्जालदेखि लिएर यहाँको समग्र विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने  बताए ।

त्यस्तै, उनले लहानको अव्यवस्थित बस्तीहरूलाई व्यवस्थित गर्ने  प्रतिबद्धता जनाए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार खड्गराज चौधरीले लहानको विकासको लागि आफ्नो पार्टीले जति अरुले काम नगरेको दाबी गरे। उनले भने,‘फेरि पनि यहाँको विकासको लागि हाम्रो पार्टीले नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार वैजनाथ साहले उनले आफ्नो पार्टी जति मधेश र मधेशी जनताको लागि अरु पार्टीले काम नगरेको बताए । उनले थपे,‘हामीले संविधान संशोधनको लागि यत्रो संघर्ष गर्यौं, हामीले त संशोधनमात्रै नभएर पुनर्लेखन नै गर्नुपर्छ भनेका छौं।’

त्यस्तै उनले लहानलाई समृद्ध नगरपालिकाको रुपमा विकास गर्न आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

राजपाका मेयरका उम्मेदवार डा. महादेव साहले पनि लहानलाई समृद्ध नगर बनाउने र यहाँका नगरवासीहरूको मन जित्ने गरी काम गर्नै प्रतिबद्धता जनाए ।
यसैगरी, नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेदवार विजय साहले पनि लहानमा रोकिएर अर्थात अवरुद्ध भएर रहेको विकासलाई आफूले गति दिने विश्वास दिलाए ।

राप्रपाका मेयरका उम्मेदवार एवम् पूर्व मेयर तथा पूर्वसांसद लगन चौधरीले लहानमा अहिले प्रशस्त समस्याहरू रहेको भन्दै आफू विजयी भए सबै समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, उनले आफू विजयी भए जनतासामू राखेका सबै वाचाहरू पूरा गरेर छाड्ने वचन दिए । उनले भने,‘मैले जिते भने यहाँ विकासका लहरहरू नै ल्याउनेछु, यहाँको जनता र समस्याहरूबारे मैलेजति अरु कसैलेपनि बुझेको छैन।’

नेपाल मजदूर किसान पार्टीका मेयरका उम्मेदवार विजय महतोले आफूहरू संशोधन विरोधी नभएको भन्दै स्पष्ट पारेका थिए ।

उनले भने,‘तर हामीलाई संविधान विरोधीको रुपमा चित्रित गरियो, हामीले त अहिले संशोधन प्रस्ताव ल्याउनुको कारण के हो भनेर यसको कारण र औचित्य माग गरेका थियौं, हामी संशोधन विरोधी हुँदै होइनौ।’

कार्यक्रममा एमालेका मेयरका उम्मेदवार  नआएकाले जनताहरू आक्रोशित थिए । उनीहरूले एमालेका मेयरका उम्मेदवार  नआउनुमा केही गडबड रहेको भन्दै एकछिन नाराबाजी समेत गरेका थिए ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.