एमालेले अहिले मधेशमा एनजीओको आडमा चुनाव लड्दैछ : पूर्वमन्त्री नायक


सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अजयशंकर नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा भोट माग्ने नैतिक धरातल गुमाइसकेको आरोप लगाएका छन् ।

मंगलबार सिरहामा आयोजित  साक्षात्कारमा बोल्दै नेता नायकले एमालेलाई मधेश विरोधी पार्टीको सज्ञा दिए । उनले थपे,‘एमालेले अहिले एनजीओ, आईएनजीओको आडमा चुनाव लडिरहेको छ, तर उसले मधेशमा आफ्नो जनमत नै गुमाइसकेको छ।’

साक्षात्कारमा बोल्दै नेता नायकले मधेश र मधेशी जनताहरूको लागि लड्ने एकमात्रै पार्टी आफ्नो पार्टी भएको समेत जिकिर गरे । ‘मधेशी जनताको अधिकार स्थापित गर्नको लागि हाम्रो पार्टीले सुरूवातदेखि नै संघर्ष गरेको छ, अहिलेपनि हामीले संविधान संशोधनमार्फत मधेशी जनताको माग सम्बोधन गर्न इमान्दार प्रयास गरेकै हो, तर एमालेको कारण प्रस्ताव असफल भयो,’ उनले भने।

त्यस्तै, उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीले ४० देखि ६० स्थानमा विजयी हासिल गर्ने समेत प्रक्षेपण गरे । उनले भने,‘हाम्रो प्रारम्भिक आङ्कलन हेर्दा कम्तिमा ४० सिट हामी जित्छौं, त्यो भन्दा पनि धेरै सिट जित्ने संभावना छ।’

नायकले संविधान संशोधनको अहिले कुनै संभावना नरहेको भएपनि प्रदेश र प्रतिनिधि सभाको चुनावपछि यो मुद्दा पुनः उठाइने  विश्वास दिलाए । उनले थपे,‘मधेशी जनताको माग सम्बोधन गर्नको लागि संविधान संशोधन हुन्छ, तर यसको लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म हामीले कुर्नुपर्छ।’

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.