पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ मा उम्मेदवारी दर्ता

पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ मा उम्मेदवारी दर्ता


निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयतालिका सार्वजनिक गरेको छ।

आयोगले मङ्गलबार सार्वजनिक गरेको कार्यतालिका अनुसार पहिलो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

उम्मेदवारी दर्ता प्रत्येक जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट गर्नुपर्ने छ।

मुख्य निर्वाचन अधिकृतले यसैदिन साँझ दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्नेछन्।

भोलिपल्ट कात्तिक ६ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय राखिएको छ। कात्तिक ७ गते मुख्य निर्वाचन अधिकृतले यी उजुरीउपर छानविन गरी निर्णय दिनेछन्।

कात्तिक ८ गते उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ। सोही दिन साँझ उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुनेछ र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

प्रदेश सभा निर्वाचनका लागि भने कात्तिक १६ गते उम्मेदवारी दर्ता हुने छ।

१७ गते विरोधमा उजुरी दिने र १९ गते नाम फिर्ता लिने समय तोकिएको छ। यसैदिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ।

हेर्नुस् पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन कार्यक्रम:

 

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.