एमालेद्वारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिक सिटका लागि दल दर्ता गर्ने निर्णय


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ।

पार्टी स्थायी समिति बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने संस्थागत निर्णय गरेको हो।

निर्वाचन आयोगले समानुपातिक सिटका लागि मंगलबारसम्म दल दर्ता गराइसक्न दलहरूलाई आह्वान गरेको थियो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार मध्यान्ह बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अनुसारको पार्टीको संगठनात्मक संरचना निर्माण गरेर निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि गरेको छ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तय भएकाले सोही अनुसार पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने निर्णय लिइएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

बैठकमा नेताहरूले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको विषयमा पनि समिक्षा गरेका थिए ।

एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पहिलो शक्ति बन्ने दाबी गर्दै आएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.