‘आयआर्जनको माध्यमबाट महिला व्यवसायीहरूको उत्थान गर्न नेपाल सरकार प्रतिबद्ध’


प्रधानमन्त्री शेरबहादुर देउवाले आयआर्जनको माध्यमबाट महिला व्यवसायीहरूको उत्थान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एशियाली महिला विकास मंचद्धारा काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय व्यवसायी महिला शिखर सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुराको प्रतिबद्धता जाहेर गरेका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालले संविधानमै महिला सशक्तिकरणको माध्यमबाट व्यावसायिक महिलाहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले लैङ्गिक विभेदको अन्त्य गर्दै दक्षिण एशियाली महिला व्यवसायीहरूलाई अझै सशक्त बनाउन सार्क राष्ट्रहरूले नीतिगत निर्णय नै गरिसकेको बताए । उनले  दक्षिण एशियाली महिला व्यवसायीहरूको समस्या समाधान गर्न नेपालले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले महिलाहरूको उत्थानका लागि सबै राष्ट्रहरूबीच सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एशियाली व्यवसायी महिलाहरूले भोग्दै आएका समस्या समाधानको विषयमा ठोस धारणा तय हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा १७ वटा दक्षिण एशियाली राष्ट्रका ८० जना भन्दा बढी महिला व्यवसायीहरूको सहभागिता छ । महिला व्यवसायीहरूबीच लगानी अभिवृद्धि गर्न र व्यापारमा सहजीकरण गर्न पनि सम्मेलन सफल हुने विश्वास व्यक्त गरिएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.