जनकपुरका चिया पसलमा राजपा–एमाले जमघट

दशरथ तलाउको चिया पसलमा आइतबार अपराह्न जनकपुर उपमहानगरपालिकाका मतदाता आसन्न स्थानीय चुनावबारे छलफल गर्दै। तस्बिरः सेतोपाटी


जनकपुरमा सयभन्दा बढी साना-साना ताल छन्। मिथिला सभ्यता बोकेको यस पौराणिक सहरका बासिन्दाले तिनै साना ताललाई सागरको उपमा दिएका छन्। त्यसैले, जनकपुरलाई ‘सागरै सागरको सहर’ भन्दा हुन्छ।

जनकपुरका ती सयभन्दा बढी ‘सागर’मा महिना दिनअघि चाहिनेभन्दा बढी पानी भरियो। बढी भएको पानीले सहरै डुबानमा पारिदियो। जनकपुरसहित तराई मधेसका धेरै भाग बाढी र डुबानको कहरले आक्रान्त बन्यो।

महिना दिनपछि पानीको सतह घटेर शान्त भएको छ। जनकपुरको राजनीतिक तालमा भने स्थानीय चुनावको तरंग उत्कर्षमा छ। चोक, गल्ली, बिजुलीका खम्बा, गाडीदेखि इ–रिक्सासम्म जताततै राजनीतिक पार्टीका झन्डा र छाप फहराइरहेका छन्। चिया पसल, चौतारीदेखि स्थानीय जमघट हुने ठाउँमा चुनावकै चर्चा छ।

आइतबारको दिन असिनपसिन गर्मीमा रिमरिम साँझले हल्का शितल छर्न थालेको थियो। जनकपुर–८ को महाराज सागरछेउ रिंकी देवी र सोनिया खान चटपटे खान ठेलासामु उभिएका थिए। पहिलोपटक भोट हाल्न लागेका उनीहरू दुवैलाई चुनावको रन्कोले छोएको थियो। उनीहरूले कसलाई भोट हाल्ने निधो गरिसकेका छन्।

‘सूर्य छाप लिएर हाम्री सासू वडामा उठ्नुभएको छ। हामी त उहाँलाई नै भोट हाल्छौं,’ रिंकीले भनिन्, ‘घरकै मान्छे उठेपछि अरूलाई भोट दिने कुरै भएन।’

उनकी ‘सहेली’ सोनिया खान भने सूर्य चिह्नमा भोट नहाल्ने पक्षमा छिन्।

‘उसको सासूजस्तै मेरो अंकल पनि नमस्कार चिह्न (लोकतान्त्रिक फोरम) बाट वडामा लड्नुभएको छ,’ उनले भनिन्, ‘हामी त्यसैमा भोट हाल्छौं।’

रिंकीले आफूलाई सूर्य चिह्नमा जस्तो सोनियालाई नमस्कार चिह्नमै भोट हाल्नुपर्ने बाध्यता नभएको खुलाइन्। ‘उसको आफ्नै अंकल उठेको होइन, मोहल्ला (छिमेकी) अंकल हो,’ उनले भनिन्, ‘मेरो त आफ्नै सासू उठेको।’

‘मोहल्लाको भए पनि चिनेको मान्छेलाई त भोट दिनुपर्छ नि,’ खानले जवाफ दिइन्, ‘नचिनेकोलाई दिएर के गर्ने?’

रिंकी र सोनियाजस्तै जनकपुर उपमहानगरका २५ वडाका करिब ७५ हजार मतदाता यतिबेला आफूले भोट हाल्ने उम्मेदवारबारे छलफल गरिरहेका छन्। राजनीतिक आस्थामा विभाजित भए पनि जनकपुरबासीले एकअर्काप्रति माया र सद्भाव देखाएका छन्।

जनकपुर–७, जिरोमाइलकी लालती मण्डल र उनकी छिमेकी। तस्बिरः सेतोपाटी

केही समयअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेसमा नेकपा एमालेका कार्यक्रम निषेध गर्न खोजेको थियो। आज चुनावको मुखमा राजपा नेपाल र एमालेलाई भोट हाल्छु भन्नेहरू एउटै चिया पसलमा गफिएका पनि भेटिए।

जनकपुर–८, दशरथ तलाउ नजिकैको चिया पसलमा सदरे आलम र अन्सारुल कवाडी सँगै चिया पिइरहेका थिए। उनीहरूले फरक–फरक पार्टीलाई भोट दिने बताए।

‘अघिल्लो चुनावमा मैले गाछी (रुख) मा भोट हालेको थिएँ, यसपालि साइकललाई दिन्छु,’ आलमले भने, ‘मधेस आन्दोलनमा राजपाले खेलेको भूमिकाले साइकलमा भोट हाल्न लागेको हुँ।’

छेउमा बसेर उनको कुरा सनिरहेका कवाडीलाई भने राजपासँग कुनै लगाव छैन। ‘मलाई त पहिलादेखि नै एमाले मन पर्छ,’ उनले भने, ‘म त त्यसैमा भोट हाल्ने हो।’

संविधान जारी भएपछि चर्किएको मधेस आन्दोलनको एउटा केन्द्र जनकपुरका कतिपय मतदाताले आसन्न स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय राजनीतिमा पार्टीहरूले खेलेको भूमिका विश्लेषण गरिरहेका छन्। धेरैलाई राजनीतिभन्दा विकासमा लगाव छ। उनीहरूले विकाससम्बन्धी स्थानीय एजेन्डालाई प्राथमिकतामा राखेका छन्।

प्रदेश नम्बर २ को राजधानीको दाबेदार भए पनि जनकपुरमा सडक, खानेपानी र फोहोरमैला व्यवस्थापन हुन सकेको छैन। पौराणिक सहर फोहोर र दुर्गन्धित बन्दै गएकोमा स्थानीयको चिन्ता छ। त्यही भएर यसपालि चुनावमा यहाँ स्थानीय एजेन्डाले नै बढी प्राथमिकता पाउने देखिन्छ। मतादातासँग कुरा गर्दा उनीहरू सरसफाइ, पूर्वाधारसम्पन्न र स्वस्थ सहरको एजेन्डा नै प्राथमिक भएको बताउँछन्।

जस्तो, जनकपुर–७, जिरोमाइलकी लालती मण्डल।

उनलाई विकास गर्ने मान्छेले चुनाव जितोस् भन्ने लाग्छ। ‘चुनाव जसले जिते पनि हुन्छ, तर विकास गर्ने मान्छेले जितोस्,’ उनले भनिन्।

राजनीतिक आस्था र पारिवारिक सम्बन्ध छाडेर यहाँका केही मतदातालाई भने पैसाले पनि प्रभाव पार्छ। नाम नबताउने सर्तमा जनकपुर–८ का १९ वर्षीय मतदाताले भने, ‘अहिलेसम्म त औंला चिह्न भएको स्वतन्त्र दाइको पछि लागेर हिँडिरहेको छु, हेर्दै जाउँ, पछिसम्म कसले कति सहयोग गर्छन्, उनैलाई भोट हाल्छु।’

भोट जसलाई हाले पनि यहाँका जनताले चुनावपछि शान्ति र स्थायित्वको आशा राखेका छन्। चुनावपछि स्थानीय तहमा नयाँ नेतृत्व आउनुका साथै दुई वर्षदेखि आन्दोलनको मुडमा रहेको मधेसमा शान्ति छाउने उनीहरुको अपेक्षा छ।

‘जसले जिते पनि जितोस्, चुनाव हुँदैछ त्यो नै खुसीको कुरा हो, अब सधैंको आन्दोलन रोकिनुपर्छ। आन्दोलनले धेरैको ज्यान गएको छ,’ जनकपुर–७ का कर्मठ पजियारले भने, ‘मर्नेका परिवारले ५–१० लाख पाएका छन्, तर त्यो ठूलो कुरा होइन। देशमा शान्ति र विकास भयो भने त्यस्ता पैसा जति पनि कमाउन सकिन्छ।’

स्थानीयको यो विकास सरोकार बुझेर होला, यहाँका अधिकांश उम्मेदवार विकास नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन्।

जनकपुर उपमहानगरका मेयर उम्मेदवार आफूले जिते सहर विकास गर्ने प्रतिबद्धता जनाइरहेका छन्। खासगरी फोहोर व्यवस्थापन, सडक निर्माण र जनकपुरलाई पर्यटन केन्द्र बनाउने चुनावी नारा उनीहरूले छरेका छन्। केही उम्मेदवारले त जनकपुर विकासका लागि व्यवस्थित सडकदेखि हरियालीयुक्त सहरको अवधारणा अघि सारेका छन्। खानेपानी र ढलनिकास पनि यहाँको प्रमुख चुनावी मुद्दा हो।

जनकपुर सहरका मतदातादेखि उम्मेदवारसम्मले विकासलाई नै प्राथमिक चुनावी नारा बनाएको त्यसै होइन।

आइतबार अपराह्न हामी जनकपुर ओर्लेर विमानस्थलबाट मुख्य बजार पुग्दासम्म सडकको जीर्ण अवस्था र चारैतिर फोहोरको डुंगुर थियो। मिथिला सभ्यताको इतिहास बोकेको यो सहर वास्तवमै नयाँ चरणको पुनर्निर्माण पर्खिरहेको भान हुन्थ्यो। आसन्न स्थानीय तह निर्वाचन जनकपुरको निम्ति त्यही पुनर्निर्माणको सुरुआत हुनसक्ने मतदाताको विश्वास छ। त्यही भएर पनि यसपालि चुनावमा भोट हाल्न उनीहरू उत्सुक देखिन्छन्।

‘यो सहरलाई विकासको खाँचो छ, स्थानीय चुनाव भएकाले अब को जितेर आउँछ भन्नेले सहरको भाग्य तय गर्नेछ,’ लालती मण्डलले भनिन्, ‘जसले जिते पनि सबै मिलेर काम गरे कायापलट नै हुन्छ, उही लडाइँ–झगडा गर्दै बस्ने हो भने अहिलेभन्दा बत्तर हुन सक्छ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.