सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भीर नदेखिएकोमा आपत्ति

सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भीर नदेखिएकोमा आपत्ति


सांसदहरूले सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहने गरेकाले सरकार डराइरहेको आरोप समेत लगाए ।

व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा बोल्दै उनले  सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भीर नदेखिएकोमा आपत्ति जनाए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अकवाल अहमद साहले मुलुकलाई सुशासन दिन सरकार पूर्णतः असफल भएको आरोप लगाए । उनले सुन तस्करी नियन्त्रण गर्ने विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । सांसद साहले सुन तस्करी नियन्त्रणका लागि भन्सार र सुरक्षा निकायबीच आवश्यक समन्वयन गराउन पनि सरकारलाई सचेत गराए ।

नेपाल परिवार दलकी सांसद मिलन राजवंशीले ठूल्ठूला नाकाबाट सुन तस्करी हुँदा समेत त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नदेखिएको आरोप लगाईन् ।

उनले सीमा नाकामा कडा चेकजाँचको व्यवस्था गरी सुन तस्करी नियन्त्रण गर्न पनि सरकारसँग माग गरिन् ।

पछिल्लो पटक गत सोमबार काठमाडौंको क्षेत्रपाटीबाट ८८ अवैध  सुन बरामद भएको थियो । सांसदहरूले सोही घटनामा संलग्न तस्करहरूलाई नियन्त्रण लिई कारबाही गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.