जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवारहरूबीच रस्साकस्सी 

आफूले जित्ने यस्तो छ दाबी


जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवारहरूले आफूले जिते जनकपुरको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार जनकपुरमा आयोजित  विशेष चुनावी साक्षात्कारमा बोल्दै मेयरका उम्मेदवारहरूले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार मनोज साहले मधेस एकातिर हुँदा एमाले अर्कोतिर भएको आरोप लगाए । उनले २ नम्बर प्रदेशको राजधानी जनकपुरलाई बनाउने योजना आफूसँग रहेको बताए ।

त्यस्तै,कांग्रेसको पालामा हुलाकी राजमार्ग, सडक विकास भएको भन्दै जनकपुरमा आफूले जित्ने दाबी गरे । उनले आफूले जित्ने आधार भनेको नै ०४९, ०५४ को चुनावमा कांग्रेसकै बाघी उम्मेदवारले  जितेका थिए तर यसपटक कोहि पनि बाघी उम्मेदवार नभएको बताउँदै भने,‘यो पटक पार्टीभित्र कुनै असहमति छैनन्, जीत सुनिश्चित छ ।’

पूर्व मन्त्री एवम् नेता विमलेन्द्र निधि निकट मानिने साहले निधिको खुलेरै प्रशांसा गरे । साहले भने,‘उहाँले जनकपुरको मात्रै नभएर समग्र मधेसको विकासको लागि धेरै काम गर्नुभएको छ, जनताले कांग्रेसलाई धेरै विश्वास गर्नुभएको छ, यो पटकको निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं।’

साह नगर सभापति पनि हुन् । नेविसंघबाट राजनीतिमा होमिएका उनी ०४४ सालमा सक्रिय सदस्यता लिएर राजनीतिमा होमिएका नेता हुन् ।

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार चन्द्रशेखर साहले अहिलेसम्म जनकपुरमा अरु दल र यसका मेयर तथा उपमेयर कसैले केही गर्न नसकेको आरोप लगाए । उनले फोहोर व्यवस्थापन गर्ने र जनकपुरलाई पर्यटकीय हब बनाउने आफ्नो योजना रहेको बताए । त्यस्तै, उनले जनकपुरलाई समृद्ध सहर बनाउने समेत विश्वास दिलाए ।

स्वतन्त्र उम्मेदवार दिपनारायाण महतोले जनकपुरको विकासको लागि रोड र ग्रीन सिटीको अवधारणा अघि सारेका छन् । पूर्व ईञ्जिनियर  समेत रहेका महतोले आफ्नो पहिलो प्राथमिकता नै रोड र ग्रीन सिटी बनाउने रहेको बताए ।

त्यस्तै, उनले खानेपानी र ढल निकासीको पनि अवधारणा अघि सारेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सञ्जय ठाकुरले पनि सामाजिक बहिष्कृतलाई सम्मान गर्ने र जनकपुरलाई समृद्ध उपमहानगर बनाउने योजना सुनाए ।
अर्का उम्मेद्धवार विवेक भारद्धाजले (जो २२ वर्षे युवा नेता समेत हुन्) नेपाली जनता दलबाट पाँग्रो चुनाव चिन्ह लिएर चुनाव लडेका हुन् । उनले ठूला दलका नेताहरूले विकासको नाममा जनताको आँखामा धुलो छर्ने काम गरेको आरोप लगाउँदै युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनको लागि पनि आफ्नो उम्मेलवारी भएको जिकिर गरे ।

त्यस्तै, उनले जनकपुरको फोहर व्यवस्थापन गर्ने र खानेपानीको उचित प्रबन्ध गर्ने आफ्नो एजेण्डा रहेको सुनाए ।

फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवार बनेका हंसराज साहले जनकपुरको जनता र सहरको विकास र जनकपुरलाई महानगरपालिका बनाउने प्राथमिकता सुनाए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.