देउवा र प्रचण्ड भारतसामु लम्पसार परे : माधव नेपाल

‘एमालेलाई मधेसमा निषेध गर्न कोही जन्मिएकै छैन’


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतसामू लम्पसार परेको आरोप लगाएका छन् ।

आइतबार महोत्तरीको बर्दिवासमा आयोजित  विशेष साक्षात्कारमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरूलाई राम्रोसँग थाहा छ।’

साक्षात्कारमा नेता नेपालले आफ्नो पार्टी संघीयता पक्षधर भएको बताउँदै भने,‘हामी संघीयता पक्षधर हौं, हाम्रो पार्टी कुनैपनि हालतमा मधेस विरोधी होइन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेसमा एमालेलाई निषेध गर्न कोही अहिलेसम्म नजन्मेको समेत दाबी गरे । उनले भने,‘कुनै शक्तिले वा तागतले पनि मधेसमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । म नै हुँ मधेसका असली धर्तीपुत्र, मधेसको विकास र समृद्धिको लागि एमालेले जति अरु कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ।’

उनले २ नम्बर प्रदेशको चुनाव जितेपछि प्रदेशमा पनि एमाले नै सरकार बनाउने उल्लेख गर्दै भने,‘२ नम्बर प्रदेशको चुनावमा पनि एमालेले बाजी मार्छ, एमाले पहिलो पार्टी बन्छ, बन्छ, बन्छ, यसमा कुनै दुईमत छैन।’

यस्तै, नेता नेपालले केही मधेसी नेताहरूले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए ।
तर एमालेले प्रस्तावको विपक्षमा भोट हालेकोले संशोधन प्रस्ताव पारित हुन नसकेको भनेर भनिएको छ नि? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो प्रश्न उपेन्द्र यादवलाई सोध्नुहोस, उहाँको पार्टीे पनि यो प्रस्तावको पक्षमा थिएन त्यसैले मलाई हैन यादवजीलाई सोध्नुहोस्।’

त्यस्तै, उनले पार्टीभित्र अहिले विवाद नभएको समेत स्पष्ट पारे । उनले भने,‘हामी अहिले चुनावी मैदानमा छौं, पार्टी पूर्ण रुपमा एक ढिक्का छ।’
उत्तर कोरियाको भ्रमणबारे प्रकाश पार्दै उनले भने,‘पार्टीलाई निमन्त्रणा आएको होइन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।’

आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको उनको भनाई थियो ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.