२ नं प्रदेशको निर्वाचनमा तालमेलको सम्भावना छैन – अध्यक्ष थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना नरहेको बताएका छन्  ।

मिडिया नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफूहरूको सम्पूर्ण ध्यान प्रदेशसभा र संसद् सभा निर्वाचनमा केन्द्रीत रहेकाले २ नम्बर प्रदेशमा हुन लागेको निर्वाचनलाई प्राथमिकतामा नराखेको बताए ।

प्रदेशसभा र संसदको निर्वाचनमा भने समान विचारधारा भएका राजनीतिक शक्तिसँग तालमेल हुन सक्ने उनले संकेत गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको पक्षमा जनतासँग जाने बताउँदै उनले हिन्दूराष्ट्रको पुनःस्थापनाका लागि चालेका कदमलाई अझ सशक्त पार्दै लैजाने अठोट व्यक्त गरे । ‘हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको राप्रपा देशको चौथो ठूलो पार्टी भयो, सदन सडक दुवै ठाउँमा हिन्दू राष्ट्र र राजसंस्था स्थापित गर्न संर्घष  गर्‍यौं,’ अध्यक्ष थापाले भने – ‘सीमित स्रोत र संख्याको अभावले गर्दा हिन्दू राष्ट्र र राजसंस्थालाई संविधानमा स्थापित गर्न भने सकेनौं ।’ रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.